प्रदिप पौडेल र डाइपर उस्तै, समयमा नफेरे दुर्गन्ध फैलिन्छ

नवलपरासी । नेपालको स्वास्थ्य प्रणालीमा सुधारको जिम्मेवारी बोकेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अभिव्यक्ति र व्यवहारले अहिले स्वास्थ्य प्रणालीलाई नै दुर्गन्धित बनाइरहेको छ।
नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ स्थित देउराली प्राथमिक अस्पतालको भवन उद्घाटन कार्यक्रममा मन्त्री पौडेलले आधारभूत स्वास्थ्य केन्द्रहरूबारे दिएको टिप्पणी—”गर्मीमा चिसो ताप्ने र जाडोमा घाम ताप्ने केन्द्र बनेका छन्”—सार्वजनिक भएपछि देशभरका स्वास्थ्यकर्मी, नीति विश्लेषक, र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको आक्रोश चुलिएको छ।
मन्त्रीको अभिव्यक्तिले तल्लो तहमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई अपमानित मात्र गरेन, मन्त्रीकै प्राविधिक अज्ञानता, दम्भपूर्ण व्यवहार झल्कियो । जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालयको नेतृत्वले यस्तो हल्काफुल्का व्यंग्य गर्ने र गम्भीर स्वास्थ्य चुनौतीहरूलाई मजाककाे विषय बनाउँनु गम्भीर संकट हो।
देशका हजारौँ स्वास्थ्य चौकीहरूमा बिहान–साँझ सेवा दिने अहेव, अनमी, स्वयंसेविका र फिल्डमा खटिने कर्मचारीले आफ्नो जीवन जोखिममा राखेर जनताको स्वास्थ्य सम्हालिरहेका छन्। तर एउटा राज्यमन्त्री पनि हुने हैसियत नराखेको व्यक्तिले स्वास्थ्यमन्त्रीको पगरीगुथेर कर्मचारीमाथि संघीन आरोप लगाउनु दुर्भाग्यपूर्ण छ। यति आरोप लगाउँदा पनि स्वास्थ्यका कुनै संगठन उनको विरुद्धमा बोल्ने आट गरेका छैनन्। यदि स्वास्थ्यका संगठन कर्मचारी मैत्री भइदिएकाे भए, तथानाम बल्ने मन्त्रीलाई २४ घण्टाभित्र घोक्रे ठ्याक लगाउनुपर्ने हाे।
जसलाई मन्त्रीले आरोप लगाएका छन्, उनिहरूको पसीनाले तयार हुने स्वास्थ्य सूचकाङ्कलाई मन्त्रालयले राष्ट्रिय र अन्तर्राष्ट्रिय फोरममा झल्काउँछ, पुरस्कार लिन्छ, घोषणापत्र छाप्छ। तर यिनै स्वास्थ्यकर्मीमाथि व्यंग्य प्रहार गर्नु भनेको आफ्नै पाइला मुर्कनु हो, जुन अहिले मन्त्री पौडेलले जानी–नजानी गरिरहेका छन्।
“स्वास्थ्य उपचार नागरिक जीवनको आधारभूत आवश्यकता हो, राज्यको दायित्व हो। स्वास्थ्यमा सुधार नगरे जनताले गणतन्त्र अनुभूति गर्ने छैनन्।” तर भाषणको अर्को भाकामा ती जनतासँगै दिनरात सेवा दिने कर्मचारीलाई घाम ताप्न बस्ने जस्तो व्यंग्य गरेर मन्त्री आफैँले गणतन्त्रको सेवा–भावनालाई कलंकित पारेका छन्।
स्वास्थ्यका सूचकाङ्क कहाँबाट आउँछन् भन्ने सामान्य प्राविधिक बुझाइ मन्त्रीमा नदेखिनु लज्जास्पद मात्रै हैन, सञ्चारमैत्री झूटको पर्दा पछाडि छिपिएको अहंकार पनि हो। मातृ मृत्युदर, नवजात शिशु मृत्युदर, संस्थागत सुत्केरी, खोपको पहुँच, पोषण, एचआईभी–क्षयरोग नियन्त्रण, मानसिक स्वास्थ्य पहुँच, यि सबै डेटा स्वास्थ्य चौकी, स्वास्थ्य कार्यालय र HMIS प्रणालीबाट बटुलिन्छन्।
अधिकारीहरु भन्छन् तल्लो तहमा काम गर्ने नर्स, अहेव, सुपरभाइजर र स्वयंसेविकाको सामूहिक श्रमले मात्रै यी सूचकाङ्क बन्छन्। मन्त्रालयका निर्देशक, सचिव वा मन्त्री स्वयंले त ती सूचकाङ्कको सारांश पढ्नसमेत चासो नदेखाउने अवस्था यथार्थ हो।
त्यस्तै स्वास्थ्य बीमा कार्यक्रमलाई अझ व्यवस्थित बनाउने भन्दै मन्त्रीले “भदौभित्र अस्पताललाई रकम निकासा गरिने” वाचा गरेका छन्। तर त्यो ‘वाचा’ हरेक मन्त्रीको पुरानो स्क्रिप्ट हो, जसको कार्यान्वयन भोलिको मुख हेर्ने नियतिको बन्दी बनेको छ।
“स्वास्थ्यमन्त्री र डाइपर उस्तै, समयमा नफेरे दुर्गन्ध फैलिन्छ।” मन्त्रीको शैली, भाषण र अज्ञानता सँगसँगै दुर्गन्ध पनि फैलिँदैछ-शब्दमा होइन, संरचनामा। यदि समयमै ‘डाइपर’ फेरिएन भने दुर्गन्ध नबढ्ला भन्न सकिन्न। किनभने यो दुर्गन्ध शाब्दिक हैन, नीति, नेतृत्व र निष्ठा गुमाएको गन्ध हो।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस