काठमाडौं जिल्ला अदालतमा असहायका लागि एकीकृत कानूनी सेवा सुभारम्भ

काठमाडौं । काठमाडौं जिल्ला अदालत र काठमाडौं जिल्ला अदालत बार एशोसिएसनको संयुक्त पहलमा असहायहरुका लागि निशुल्क कानूनी सेवा प्रदान गर्नका लागि जिल्ला अदालतको भूइँतल्लामा वैतनिक वकील, कानूनी सहायता अधिकृत तथा प्रोबोनो कानून व्यवसायीहरुको एकीकृत सेवाकक्षको आज एक समारोहबीच उद्घाटन गरिएको छ।
काठमाडौं जिल्ला अदालतका मुख्य न्यायाधीश कमलप्रसाद पोखरेल, काजिअ बार अध्यक्ष रामचन्द्र पौडेल ‘आरसी बिमल’ तथा जिल्ला सरकारी कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले आज संयुक्तरुपमा उक्त एकीकृत सेवाकक्षको उद्घाटन गरेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश, कर्मचारी तथा काजिअ बारका उपाध्यक्ष पुरुषोत्तम अधिकारी, सचिव उज्वलराम श्रेष्ठ, कोषाध्यक्ष सन्तोष भण्डारी लगायत कानून व्यवसायीहरु तथा सेवाग्राहीको उपस्थितिमा उक्त सेवाकक्षको उद्घाटन गरिएको हो ।
काजिअका वैतनिक वकील अदालतकै दोश्रो तल्लामा तथा कानूनी सहायता अधिकृतको कार्यकक्ष काजिअ बारमा रहँदा सेवाग्राहीहरुको पहुँच नपुगेको र प्रभावकारी कार्यसम्पादन हुन नसकेको हुँदा वैतनिक वकील, कानूनी सहायता अधिकृत र प्रोबोनो कानूनी व्यवसायीहरुलाई संयुक्तरुपमा एकै कार्यकक्षमा राखी असहायकहरुलाई सेवा प्रदान गर्न पहल गरिएको काठमाडौं जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष अधिवक्ता रामचन्द्र पौडेल ‘आरसी बिमल’ ले बताए । साथै प्रोबोनो कानून व्यवसायीहरुको सूची समेत सोही कार्यकक्षकै बाहिर राखिने र असहायहरुले सेवा माग गर्दा प्रोबोनो कानून व्यवसायीहरुले समेत निशुल्क सेवा दिने अध्यक्ष बिमलले बताए । हाल काठमाडौं जिल्ला अदालतमा वैतनिक वकील किशोर खत्री ‘कपिल’ तथा कानूनी सहायता अधिकृत अधिवक्ता माया घिमिरे छन् ।
यसअघि भर्खरै मात्र काठमाडौं जिल्ला अदालतको समन्वय र आर्थिक सहयोगमा काठमाडौं जिल्ला अदालतमा सेवाग्राही, कानून व्यवसायी, कर्मचारी तथा न्यायाधीशहरुलाई आकस्मिक स्वास्थ्य सेवाका लागि आकस्मिक स्वास्थ्य सेवा केन्द्र समेत स्थापना गरिएको छ । सो केन्द्रमा एक बेडसहित औषधीलगायतका सामग्रीहरु राखिएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस