स्वास्थ्य मन्त्रीले अभिव्यक्ति नसच्याए आन्दोलन गर्ने स्वास्थ्यकर्मीहरूको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको पछिल्लो अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल र हेल्थ असिस्टेन्ट संघ नेपालले विज्ञप्ति जारी गरेका छन्। दुबै संस्थाले मन्त्रीको भनाइलाई ‘तथ्यविहीन, गैरजिम्मेवार र स्वास्थ्यकर्मीको अवमूल्यन गर्ने’ भन्दै सार्वजनिक खण्डन गरेका हुन्।
नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित देउराली प्राथमिक अस्पताल भवन उद्घाटन समारोहमा मन्त्री पौडेलले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरू “गर्मीमा चिसो ताप्ने र जाडोमा घाम ताप्ने केन्द्र” बनेको टिप्पणी गरेका थिए। स्वास्थ्यकर्मीहरूका अनुसार यो टिप्पणी अपमानजनक, मनोबल गिराउने र सम्पूर्ण क्षेत्रको योगदानलाई बेवास्ता गर्ने खालको हो।
यही सन्दर्भमा स्वास्थ्य क्षेत्रका विज्ञहरूले विगतदेखि चर्चित भनाइ उद्धृत गरेका छन्: “राजनीति गर्ने नेता वा मन्त्री डाइपर जस्तै हुन् — लामो समयसम्म परिवर्तन गर्न नसक्दा दुर्गन्ध फैलिन्छ, समस्या निम्तिन्छ।” उनीहरूको भनाइमा, अहिलेको स्वास्थ्य नेतृत्वले यही किसिमको व्यवहार देखाउँदैछ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको विज्ञप्तिमा भनिएको छ, “मन्त्री पौडेलले स्वास्थ्यकर्मीको सम्मान र गरिमामा गम्भीर आघात पुर्याउने अभिव्यक्ति दिनुभयो, जसको हामी घोर आपत्ति जनाउँछौं।”
महासंघका अनुसार देशभरका स्वास्थ्यकर्मीहरूले दुर्गम तथा संकटग्रस्त अवस्थामा समेत आम जनताको स्वास्थ्य प्रवर्द्धन र सेवा प्रवाहमा निरन्तर योगदान दिँदै आएका छन्। स्मलपक्सदेखि कोभिड महामारीसम्म, खोप र टीकादेखि पोषण, मानसिक स्वास्थ्य तथा मातृ–शिशु स्वास्थ्य सेवामा उनीहरूको भूमिका उल्लेखनीय रहेको जनाइएको छ।
त्यस्तै, हेल्थ असिस्टेन्ट संघ नेपालले पनि मन्त्रीको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएको छ। संघका अध्यक्ष दाता राम अधिकारीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्य संस्था तथा सम्पूर्ण स्वास्थ्यकर्मीको योगदानलाई अमान्य गर्ने गरी दिइएको मन्तव्य अत्यन्त दुःखद र खेदजनक छ।”
संघले स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरूले मातृ–शिशु स्वास्थ्य, पोषण, खोप, सरुवा रोग नियन्त्रणलगायत सेवामा पुर्याएको योगदानको स्मरण गराउँदै मन्त्रीको अभिव्यक्तिले उनीहरूको मेहनत, समर्पण र निष्ठामा आँच पुर्याएको जनाइएको छ।
दुबै संस्थाले मन्त्री पौडेलसँग उक्त अभिव्यक्ति फिर्ता लिन र सार्वजनिक रूपमा माफी माग्न माग गरेका छन्। अन्यथा सेवा प्रवाह प्रभावित हुने गरी चरणबद्ध विरोध कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस