परिवार अमेरिकामा ‘सेटल’ गराएका स्वास्थ्य मन्त्रालयका सहसचिव ढुण्डीप्रसाद निरौला सेवानिवृत्त


काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका (जनसंख्या) हेर्ने सहसचिव ढुण्डीप्रसाद निरौला सेवानिवृत्त भएका छन्। ५८ वर्षे उमेर हदका कारण सहसचिव निरौलाले अनिवार्य अवकाश पाएका हुन्।

२०२४ साल साउन ७ गते तेह्रथुममा जन्मिएका निरौला २८ वर्ष सरकारी सेवा गरेर सेवानिवृत्त भएका छन्। उनी २०५४ सालबाटै सरकारी ‘नोकरी’मा लागेका थिए। स्वास्थ्य सेवामा ६० वर्षे उमेर हद भएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत सहसचिव निरौला नेपाल प्रशासन सेवाका भएकाले ५८ वर्षमै घर गएका हुन्। उनले हुलाकको सहायक लेखापालबाट सरकारी जागिर खान सुरू गरेका थिए।

परिवार अमेरिकामा ‘सेटल’ गराइसकेको निरौला लेखाको उपसचिवबाट २०७४ साल माघमा प्रशासन सेवाको सहसचिवमा बढुवा भएका थिए। लेखाको उपसचिवबाट सहसचिवमा उक्लिएका निरौला भन्सार विभागको महानिर्देशक हुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आइपुगेका थिए। निरौलाले ललितपुरको प्रमुख जिल्ला अधिकारी, बबरमहलस्थित मध्यमस्तरीय करदाता कार्यालय, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)को कार्यकारी निर्देशक हुँदै भन्सार विभागको महानिर्देशक बन्न सफल भए।

माओवादी सत्ताका तरमारा सहसचिवहरू तितरवितर हुँदा निरौला भने तत्कालीन मुख्यसचिव लिलादेवी गड्तौलालाई ‘दिदी’को साइनो लगाएर स्वास्थ्य मन्त्रालयतिर ‘सेटल’ भए। गड्तौला तेह्रथुमे चेली हुन्। ‘सेटल’ गर्ने र गराउन मामिलमा निरौला अब्बल नै मानिन्छन्।

बबरमहलस्थित मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख हुँदा निरौला विभागीय अर्थमन्त्रीभन्दा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई भेट्न कार्यालय समयपछि पुगिहाल्थे। सामान्यबाटै सरूवा हुने खतरा देखेपछि उनी मोदीको चाकडीमा दैनिक हाजिरा लगाउन पुग्ने गरेको चर्चा अझै पनि सामान्य प्रशासन मन्त्रालयमा चल्ने गरेको छ। अब भने निरौलाले जागिर खान अतिरिक्त खातिरदारी गर्नुपर्ने छैन।

 

क्याटेगोरी : समाचार
ट्याग : #ढुण्डीप्रसाद निरौला

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ