संसदीय छानबिन विशेष समितिमा पुगेका कर्मचारीहरू सम्पर्कविहीन भएपछि हल्लिखल्ली


काठमाडौं। ‘कुलिङ अप पिरियड’ गडबडीको विषयमा नेपाल कांग्रेसका सांसद जीवन परियारको नेतृत्वमा संसदीय छानबिन विशेष समिति गठन भएको छ। उक्त समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, मुख्यसचिव एकनारायण अर्यालदेखि संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेलगायत करिब एक दर्जन उच्च पदस्थ कर्मचारीसँग बयान लिइसकेको छ।

संसदीय छानबिन विशेष समितिका कारण बुधबार भने सिंहदरबारमा अनौठो परिदृश्य देखिएको हो। उक्त समितिमा गएका संसद्का सचिव सुरजकुमार दुरा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहसचिव मिरा आचार्य र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव सुभाषकुमार भट्टराई सम्पर्कविहीन भएपछि प्रधानमन्त्री कार्यालयदेखि सामान्य प्रशासन मन्त्रालयमा समेत हल्लिखल्ली मच्चिएको छ।

घुसिया कर्मचारीलाई अख्तियारले नियन्त्रणमा लिए जस्तै उनीहरूलाई फोन समेत अफ गर्न लगाएर समितिले ‘गुपचुप’ पारेपछि सिंहदरबारमा कर्मचारीबीच हलचल मच्चियो। विहान कार्यालय समय सुरू हुनसाथ संसदीय छानबिन विशेष समितिमा पुगेका संसद्का सचिव दुरा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहसचिव आचार्य र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव भट्टराई दिनभर लापत्ता भएपछि उनीहरूको तीव्र खोजी भयो। तीनै जनाको मोबाइन नै ‘अफ’ भएपछि उनीहरूको खोजी गरिदिन कर्मचारीले नै हारगुहार गर्न थाले। कर्मचारीमाथि अख्तियारभन्दा कडा रुपमा संसदीय विशेष छानबिन समिति प्रस्तुत भएको भन्दै कर्मचारी वृत्तमा असन्तुष्टि समेत चुलिएको छ। जीवन परियार नेतृत्वको समितिले कर्मचारीमाथि अपमानजनक व्यवहार गरेको कर्मचारीहरूको आरोप छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ