सूर्यराज दाहाल डा. घिमिरेको रिक्त स्थानमा नायब महान्यायाधिवक्ता हुने

काठमाडौं। नायब महान्यायाधिवक्ता टेकबहादुर घिमिरे सेवानिवृत्त भएसँगै उनको ठाउँमा नयाँ नायबको खोजी सुरू भएको छ। डा. घिमिरे सेवानिवृत्त भएसँगै नेपाल न्याय सेवा सरकारी वकिल समूहको विशिष्ट श्रेणी (सचिव सरह) मानिन नायब महान्यायाधिवक्ता एक पद रिक्त हुन पुगेको हो। उक्त पदमा सहन्यायाधिवक्ता सूर्यराज दाहाल उक्लिने उच्च सम्भावना छ।
घिमिरेको रिक्त स्थान नायब महान्यायाधिवक्तामा बढुवाका लागि दाहालसहित उद्धवप्रसाद पुडासैनी र शंकर खत्रीको नाम सिफारिस हुने देखिन्छ। त्यसमा दाहाल नै बढुवा हुने निश्चित जस्तै छ। दाहाल र पुडासैनी महान्यायाधिवक्ता कार्यालयमै कार्यरत छन् भने खत्री उच्च सरकारी वकिल, पाटनका प्रमुख हुन्। २०७१ चैतमा सहन्यायाधिवक्ता बनेका दाहाल पुस २२ गतेसम्म नायब महान्यायाधिवक्ताको भूमिकामा रहनेछन्। उनी ६ महिना जति विशिष्ट श्रेणीमा काम गरेर घर जानेछन्।

२०७३ जेठमा एकैदिन सहन्यायाधिवक्ता बनेका पुडासैनी र खत्री दुबै जना विशिष्ट श्रेणीमा पुग्नेछन्। आगामी असोज ४ गते नायब महान्यायाधिवक्ता (विशिष्ट श्रेणी) गोपालप्रसाद रिजाल ५८ वर्ष लागेर अवकाशमा गएसँगै पूडासैनी र खत्रीबीच नायब महान्यायाधिवक्ता बन्न कडा प्रतिस्पर्धा हुनेछ। उनीहरू ५ वर्ष नायब चलाउनेमा पर्छन्। पुडासैनीभन्दा खत्री उमेरले करिब एक महिना कान्छा हुन्। रिमालको ठाउँमा पुडासैनी भए दाहालको ठाउँमा खत्री आउनेछन्। तर, त्यतातिर अड्किनेभन्दा उच्च अदालततिर पुग्ने सम्भावना प्रबल देखिन्छ।
क्याटेगोरी : समाचारट्याग : #उद्धवप्रसाद पुडासैनी, #गोपलप्रसाद रिजाल, #डा. टेकबहादुर घिमिरे, #शंकर खत्री, #सूर्यराज दाहाल
तपाईको प्रतिक्रिया दिनुहोस