प्रधानमन्त्री कार्यालयले फिर्ता गराउन नसकेको स्वास्थ्यका उच्च अधिकारीहरूको काज

समाचार टिप्पणी
काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दरबन्दीभन्दा बढी कर्मचारी र काज फिर्ता गराउने भनेर ‘ढोल पिट्यो’। तर, स्वास्थ्यमा उक्त ‘ढोल पिटाई’को कुनै अर्थ रहेन।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले काज फिर्ता गर्न दिएको निर्देशन स्वास्थ्य मन्त्रालयको ‘डस्बिन’मा परेको छ। नभए एघारौं तहका स्वास्थ्यका उच्च अधिकारीको काज फिर्ता किन भएन त्यो प्रधानमन्त्री कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुझ्नु पर्ने कुरा हो।
स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरू डा. कृष्णचन्द्र पौडेल, डा. सरोज शर्मा, डा. प्रकाश बुढाथोकीलगायतको काज फिर्ता भएको छैन। उनीहरूको काजले १ किलोमिटर दूरीमा रहेको प्रधानमन्त्री कार्यालयलाई गिज्याइ रहेको छ। कान्ति बाल अस्पतालबाट काजमा आएका डा. कृष्णचन्द्र पौडेल नीति, योजना तथा अनुगमन महाशाखा र वीर अस्पतालबाट आएका डा. सरोज शर्मा गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुखको जिम्मेवारी छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाई प्रमुख रहेका डा. प्रकाश बुढाथोकी पनि वीर अस्पतालबाटै काजमा आएका हुन्। उनीहरूको अझै पनि काज फिर्ता भएको पाइँदैन।
प्रधानमन्त्री कार्यालयले ‘कर्मचारीलाई काजमा खटाइएमा त्यसरी काजमा खटिएको निजामती कर्मचारीले सो अवधिमा खाइपाई आएको तलब भत्ता र अन्य सुविधा वापतको रकम काज खटाउने पदाधिकारीबाट सरकारी बाँकी सरह असुलउपर गरी विभागीय कारबाही गरिने व्यवस्था एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६५ को दफा १५ मा निश्चित समयावधि भित्र निर्णय गर्नुपर्ने व्यवस्था रहनुका साथै सोही दफाको उपदफा ४ मा उक्त दफा बमोजिम निर्णय नगर्ने वा आफूले निर्णय गर्नुपर्ने विषय निर्णय नगरी पन्छाउने पदाधिकारीलाई चेतावनी दिनसक्ने व्यवस्था तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ (क) मा निर्णय नगरी हानी नोक्सानी पुर्याउनेलाई सजाय हुने व्यवस्था रहेको’ व्यहोराको समेत स्मरण गराएको थियो। अख्तियारले समेत काज फिर्ता गराउन निर्देशन दिएको पाइन्छ। सचिव बैठकबाटै काज फिर्ता गर्ने निर्णय भएपनि स्वास्थ्य मन्त्रालयमा उक्त निर्णय समेत लागू भएको पाइँदैन। स्वास्थ्यको काज फिर्ताको विषयलाई लिएर प्रधानमन्त्री कार्यालय मात्र होइन अख्तियार समेत हेरेको हेऱ्यै भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रालयले २८ गते सचिवस्तरीय निर्णयबाट ३ दिनभित्र काज फिर्ता गर्न मातहतका सबै निकायलाई परिपत्र गरेको थियो। तर, १ महिना कटिसक्दा पनि स्वास्थ्यका उच्च अधिकारीहरू कै काज फिर्ता भएको छैन। स्वास्थ्यको काजले प्रधानमन्त्री कार्यालयलाई पनि ‘हावा खुवाइदिए’को छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलमा सेवा समूह नमिल्नेलाई छानीछानी महाशाखा प्रमुख बनाएको पाइएको छ। सेवा समूह नमिल्ने डा. कृष्णप्रसाद पौडेल, डा. सरोज शर्मा, डा. प्रकाश बुढाथोकीलगायत सेवा समूह नमिल्नेलाई महाशाखा प्रमुख बनाएको पाइएको हो।
मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख स्वास्थ्य सेवा पब्लिक हेल्थ एडमिनिस्ट्रेसन (प.हे.ए) समूहले गर्ने भनिएको छ। अहिले स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख पेडियाट्रिक्स समूह पेडियाट्रिक्स मेडिसिन उपसमूहको एघारौँ तह प्रमुख कन्सल्टेन्ट पेडियाट्रिसियन डा. पौडेल रहेका छन्।
गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख जनरल हेल्थ सर्भिसेज(ज.हे.स.) समूहको बन्न पाउँछ। तर, उक्त महाशाखाको नेतृत्व रेडियोलोजी समूह रेडियो डाइग्नोसिस उमसमूहको प्रमुख कन्सलटेण्ट रेडियोलोजिष्ट डा. सरोज शर्माले गरिरहेका छन्। स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाईमा हेल्थ इन्सपेक्सन (हे.इ.) समूहको नेतृत्व दिनु पर्नेमा डेन्ट्रिष्टी समूह जनरल डेन्टल उपसमूहको प्रमुख कन्सल्टेण्ट सर्जन डा. प्रकाश बुढाथोकीलाई दिइएको छ। यसले स्वास्थ्य मन्त्रालय मनपरी ढंगले चलिरहेको छ भन्ने देखाउँछ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस