गुठीको पैसाबाट मालपोतको हाकिमको खातामा ‘कमिसन’ गएपछि गुठी संस्थानमा हल्लिखल्ली

काठमाडौं। नेपालमा एउटा चर्चित लोकोक्ति छ, ‘राजस्व र देवस्व (शिवस्व) खानु हुँदैन’, तर, गुठी संस्थानमा देवस्व खाएको भनेर हल्लिखल्ली भएको छ। स्याङजा जिल्लामा गुठी संस्थानको पैसाबाट भएको कामको कमिसन मालपोत प्रमुखलगायतको खातामा ‘कमिसन’ गएपछि काठमाडौंमा हल्लिखल्ली भएको हो। गुठी संस्थानबाट स्वास्थ्य लाइभलाई प्राप्त कागजात अनुसार श्री नारायर्णेश्वर शिवजी गुठी व्यवस्थापन समितिका नाममा पठाइएको पैसाबाट मालपोत प्रमुखसहित केही व्यक्तिको खातामा केही रकम गएको पाइएको छ।
गुठी संस्थानले स्याङजाको विरुवा गाउँपालिकाकास्थित नारायर्णेश्वर शिवजी गुठी व्यवस्थापन समितिलाई ३ लाख रुपैयाँ पठाएको थियो। भौतिक पूर्वाधार निर्माणका लागि पठाइएको उक्त पैसा मालपोत कार्यालय स्याङजा मार्फत कार्यान्वयन भएको थियो। ३ लाख रुपैयाँमा ६ हजार १ सय ६२ रुपैयाँ कर कटाएर मालपोत प्रमुख बालप्रसाद श्रेष्ठ, नायब सुब्बा प्रकाशकुमार शर्मा पौडेल र लेखापाल रमेश विकको खातामा समेत उक्त केही पैसा गएको पाइन्छ।
स्याङ्जाका मालपोत प्रमुख बालप्रसाद श्रेष्ठ नेपाल बैंक लिमिटेडको खातामा ३ हजार ६ सय रुपैयाँ, नायब सुब्बा प्रकाशकुमार शर्मा पौडेलको माछापुच्छ्रे बैंकको खातामा २ हजार ७ सय रुपैयाँ र लेखापाल रमेश विकको खातामा २ हजार ७ सय रुपैयाँ गएको पाइन्छ। गुठी संस्थानका कर्मचारीहरूले भने यसरी पैसा व्यक्तिको खातामा गएको पहिलो पटक भेटेको बताए। उपभोक्ता समिति मार्फत निर्णाण गरेको उक्त काममा अनुगमन गर्न जानेहरूको खातामा पैसा गएको देखिन्छ।
यो विषय स्वास्थ्य लाइभले मालपोत प्रमुख श्रेष्ठसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन। स्वास्थ्य लाइभको सम्पर्कमा आएका लेखापाल विकले भने कन्टिन्जेन्सी बापतको ‘टिएडिए’ खाएको दाबी गरे। विक कै भनाइलाई आधार मान्ने हो भने स्याङजाको पुतलीबजारबाट बढीमा १ घण्टामा पुगिने ओरष्टेमा पुग्न ३ दिन देखाएर टिएडिए असुलेको पाइन्छ। अर्कोतर्फ उपभोक्ता समिति मार्फत गरेको ३ लाखको काममा कन्टिन्जेन्सी भनेर टिएडिएमा खानु एक प्रकारको ‘कमिसन’ नै हो। उपभोक्ता समितिले गरेको काममा टिएडिए भनेर त्यसैबापत पैसा लिनु अनियमितता नै भएको गुठी संस्थानका कर्मचारीहरू बताउँछन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस