न्यायाधीश नभइ घर गएका सर्वोच्च अदालतका पाँचौं मुख्यरजिष्ट्रार

काठमाडौं। सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल सेवानिवृत्त भएका छन्। ५८ वर्षे उमेर हदका कारण मुख्यरजिष्ट्रार ढकाल सोमबारदेखि अनिवार्य अवकाशमा गएका हुन्।
२०८० पुसमा सर्वोच्च अदालतको मुख्यरजिष्ट्रार भएका ढकाल आधा कार्याकाल चलाएर घर गएका छन्। मुख्यरजिष्ट्रार लालबहादुर कुँवर उच्च अदालतको न्यायाधीश भएर गएपछि ढकालले ‘चान्स’ पाएका थिए। तर, उनी न्यायाधीश नभइ मुख्यरजिष्ट्रारबाटै अवकाश भएका हुन्। ढकाल न्यायाधीश नभइ सेवानिवृत्त मुख्य पहिलो मुख्यरजिष्ट्रार बनेका छन्।
सर्वोच्च अदालतका पहिलो मुख्यरजिष्ट्रार नहकुल सुवेदी उच्च अदालतको मुख्य न्यायाधीश भएर गएका थिए। उनी अहिले सर्वोच्च अदालतमै पुगेका छन्। सुवेदी कै इजलासले सर्वोच्च अदालत प्रशासन (मुख्यरजिष्ट्रार)को कार्यक्षमतामाथि प्रश्न उठाउँदै न्यायिक टिप्पणी समेत गरेका थिए। त्यसैले मुख्यरजिष्ट्रार ढकाललाई न्यायाधीश बनाउन समस्या परेको चर्चा सर्वोच्चमा चलिरहेको छ। सुवेदी प्रधानन्यायाधीशको रोलक्रममा रहेका छन्।
सुवेदीपछि सर्वोच्च अदालतको मुख्यरजिष्ट्रार बनेका राजनप्रसाद भट्टराई अहिले उच्च अदालत विराटनगरको मुख्य न्यायाधीश छन्। मुख्यरजिष्ट्रारबाट उच्च अदालतको न्यायाधीश बनेर गएका भट्टराई हालै मुख्य न्यायाधीशमा नियुक्त भएका हुन्।
त्यसपछिका मुख्यरजिष्ट्रार नृपध्वज निरौला पनि सर्वोच्चका न्यायाधीश छन्। तेस्रो मुख्यरजिष्ट्रार निरौला उच्च अदालतको मुख्य न्यायाधीश हुँदै सर्वोच्च पुगेका हुन्। उनी पनि प्रधानन्यायाधीशको रोलक्रममा रहेका छन्।
निरौलापछि देवेन्द्रराज ढकाललाई रजिष्ट्रारमा उछिनेर मुख्य रजिष्ट्रार बनेका लालबहादुर कुँवर अहिले उच्च अदालत पाटनको मुख्य न्यायाधीश रहेका छन्। उनी मुख्यरजिष्ट्रारबाट उच्च अदालतको न्यायाधीश हुँदै मुख्य न्यायाधीश बनेका हुन्। भट्टराई र कुँवरलाई प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले मुख्य न्यायाधीश बनाउँदै ‘न्याय’ गरेको सर्वोच्च वृत्तमा चर्चा सुनिन्छ।
सहरजिष्ट्रारमा कुँवरभन्दा सिनियर देवेन्द्रराज ढकाल रजिष्ट्रार र मुख्यरजिष्ट्रारमा पछाडि परेका थिए। मुख्यरजिष्ट्रारबाट त झन् ढकाल रित्तो हात घर फर्किन बाध्य भएका छन्। सर्वोच्च अदालत कै इतिहासमा न्यायाधीश नभइकन घर जाने (अवकाश हुने) मुख्यरजिष्ट्रारमा ढकाल ‘दर्ज’ भएका हुन्।
सर्वोच्च अदालतको भावी मुख्यरजिष्ट्रार विमल पौडेल बन्ने निश्चित जस्तै देखिन्छ। ढकाल मुख्य रजिष्ट्रार र पौडेल रजिष्ट्रार एकैदिन भएका थिए। न्याय सेवा, न्याय समूहका ३ जना सचिव रहेका छन्। विमल पौडेल, यमबहादुर बुढा मगर र भद्रकाली पोखरेल न्याय समूहका सचिव हुन्। मगर र पोखरेलभन्दा पौडेल करिब ६ महिना अघि रजिष्ट्रार (सचिव)मा बढुवा भएका थिए। त्यसैले पौडेलले मुख्य रजिष्ट्रारमा बाजी मार्ने देखिन्छ। न्याय समूहका सचिव पौडेल र पोखरेल सर्वोच्च अदालतको रजिष्ट्रारको भूमिका छन् भने मगर न्याय परिषद्को सचिव हुन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस