न्याय सेवा आयोगद्वारा मुख्य रजिष्ट्रारसहितका विशिष्ट सिफारिस गर्ने तयारी


काठमाडौं। न्याय सेवा आयोगको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारसहित विशिष्ट श्रेणीमा सिफारिस गर्ने तयारी गरेको छ। न्याय सेवाका कानुन, न्याय र सरकारी वकिल तीन वटै समूहमा विशिष्टहरू रिक्त छन्। अहिले बस्न लागेको न्याय सेवा आयोगको बैठकले मुख्य रजिष्ट्रार, रजिष्ट्रार र सचिव, नायब महान्यायाधिवक्ता सिफारिस गर्ने तयारी गरेको स्रोतले बतायो।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देबेन्द्रराज ढकाल ५८ वर्ष लागेर अनिवार्य अवकाशमा गएसँगै उक्त पद रिक्त छ। मुख्य रजिष्ट्रारका लागि सर्वोच्चका रजिष्ट्रारद्वय विमल पौडेल र भद्रकाली पोखरेल तथा न्याय परिषद्का सदस्य यमबहादुर बुढा मगरबीच प्रतिस्पर्धा देखिन्छ। तर, विमल नै वरिष्ठ भएकाले उनी मुख्य रजिष्ट्रार बन्ने निश्चित जस्तै छ।

कानुन समूहका सचिव उदयराज सापकोटा र आलोकचन्द्र श्रेष्ठ सेवानिवृत्त भएपछि दुई पद रिक्त छ। उदयको ठाउँमा कायममुकायम सचिव निर्मला अधिकारी भट्टराई र आलोकको ठाउँमा इन्दिरा दाहाल भट्टराई सिफारिस हुने देखिन्छ। निर्मला सत्य निरुपण तथा मेलमिलाप आयोग कायममुकायम सचिव र इन्दिरा निर्वाचन आयोगमा सहसचिव छिन्।

त्यस्तै डा. टेकबहादुर घिमिरे सेवा निवृत्तभएसँगै सरकारी वकिल समूहको नायब महान्यायाधिवक्ता (सचिव) पनि रिक्त छ। नायब महान्यायाधिवक्तामा सूर्यराज दाहाल सिफारिस हुने देखिन्छ। वरिष्ठ सहन्यायाधिवक्ता दाहाल महान्यायाधिवक्ता कार्यालयमै कार्यरत छन्।

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल सिफारिस भएपछि उक्त ठाउँमा मानबहादुर कार्की सिफारिस हुने सम्भावना छ। कार्की न्याय समूहका वरिष्ठ सहसचिव हुन्। उनी सर्वोच्च अदालतमै सहरजिष्ट्रारको भूमिकामा छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ