सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेल, ४ जना विशिष्ट श्रेणीमा बढुवाका लागि सिफारिस

काठमाडौं । न्याय सेवा आयोगको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारसहित विशिष्ट श्रेणीमा सिफारिस गरेको छ। न्याय सेवाका कानुन, न्याय र सरकारी वकिल तीन वटै समूहमा विशिष्टहरू रिक्त छन्। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा सोमबार बसेको न्याय सेवा आयोगको बैठकले रिक्त रहेको ठाउँमा मुख्य रजिष्ट्रार, रजिष्ट्रार, सचिव र नायब महान्यायाधिवक्ता सिफारिस गरेको हो।
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देबेन्द्रराज ढकाल ५८ वर्ष लागेर अनिवार्य अवकाशमा गएसँगै उक्त पद रिक्त थियो। न्याय सेवा आयोगले रिक्त मुख्य रजिष्ट्रारका लागि सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेलको नाम सिफारिस गरेको छ।

कानुन समूहका सचिव उदयराज सापकोटा र आलोकचन्द्र श्रेष्ठ सेवानिवृत्त भएपछि दुई पद रिक्त थियो। उदयको ठाउँमा कायममुकायम सचिव निर्मला अधिकारी भट्टराई र आलोकको ठाउँमा इन्दिरा दाहाल भट्टराई सिफारिस भएकी छिन्। निर्मला सत्य निरुपण तथा मेलमिलाप आयोग कायममुकायम सचिव र इन्दिरा निर्वाचन आयोगमा सहसचिव थिइन्। निर्मलालाई सत्य निरुपण तथा मेलमिलाप आयोग र इन्दिरा र नेपाल कानुन आयोगको सचिवमा पदस्थापन गर्ने आयोगको प्रस्ताव छ।
नायब महान्यायाधिवक्तामा सूर्यराज दाहाल सिफारिस भएका छन्।डा. टेकबहादुर घिमिरे सेवा निवृत्तभएसँगै सरकारी वकिल समूहको नायब महान्यायाधिवक्ता (सचिव) पनि रिक्त थियो। उक्त ठाउँमा दाहाल सिफारिस भएका हुन्। दाहाललाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिवमा पदस्थापन गर्न पनि न्याय सेवा आयोगले सिफारिस गरेको छ। आयोगका सचिव नायब महान्यायाधिवक्ता खेमराज ज्ञवालीको महान्यायाधिवक्ता कार्यालयमा सरुवाका लागि सिफारिस गरिको हो।
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल सिफारिस भएपछि उक्त ठाउँमा मानबहादुर कार्की सिफारिस भएका छन्। कार्की न्याय समूहका वरिष्ठ सहसचिव हुन्। उनी सर्वोच्च अदालतमै सहरजिष्ट्रारको भूमिकामा थिए। कार्की सर्वोच्च अदालतको रजिष्ट्रारमा उक्लिएका छन्।
क्याटेगोरी : समाचारट्याग : #इन्दिरा दाहाल, #खेमराज ज्ञवाली, #निर्मला अधिकारी भट्टराई, #मानबहादुर कार्की, #विमल पौडेल, #सूर्यराज दाहाल
तपाईको प्रतिक्रिया दिनुहोस