१३६ वर्षको वीरता : एक अस्पताल, लाखौं पीडाको उपचार

काठमाडौँ । देशको मुटुमा बसेको एक अस्पताल-जहाँ अक्सिजनभन्दा बढी सेवा पाइन्छ, औषधिभन्दा बढी माया र चिकित्सकभन्दा अघि निस्कन्छन् समर्पणशील हातहरू।
१३६ वर्षअघि वि.सं. १९४७ साउन अर्थात आजको दिन (सन् १८८९) मा श्री ३ वीर शम्शेर जंग बहादुर राणाद्वारा वीर अस्पतालकाे स्थापना गरिएको थियो। जुन हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को मातहतमा सञ्चालन हुँदै आएको छ।
यो मात्र ईँटाको संरचना होइन। यो आँसु पुछ्ने थलो हो, दुखका दिनमा सहारा दिने भरोसा हो, र वर्षौंदेखि निःस्वार्थ सेवा गर्ने नेपाली स्वास्थ्य सेवा प्रणालीको गौरवशाली प्रतीक हो।
अस्पताल परिसरमै अवस्थित बिरेश्वर महादेव मन्दिर वीर अस्पतालको भौतिक–आध्यात्मिक समन्वयको प्रतीक हो। हालै न्याम्स उपकुलपति प्रा. डा. भूपेन्द्रकुमार बस्नेत लगायत वरिष्ठ चिकित्सक, नर्स र कर्मचारीहरूले उक्त मन्दिरमा पूजा गर्दै अस्पतालप्रति श्रद्धा प्रकट गरे।
इतिहासको छायाँमा सेवा र समर्पण शुरुवातमा अंग्रेज सर्जनहरूको सहयोगमा सुरु भएको यो अस्पताल आज करोडौं नेपालीका लागि आशाको दियो बनेको छ। यहाँ धनी–गरिबको भेद हुँदैन, ठूला र साना सँगै बस्छन्, एउटै डाक्टरको हातबाट उपचार पाउँछन्।
वीर अस्पताल भुईं मान्छेहरूको लागि हो भन्ने अवधारणासँगै त्यतिबेला सुरु गरिएको यो संस्थाले देशमा स्वास्थ्य पहुँचको आधारशिला राख्यो। विना पर्खाल पनि यहाँ मानवता बाँचेको छ।
संघर्षको कथामा लुकेको जनताको अस्पताल
यी १३६ वर्षको यात्रामा यो अस्पतालले अनेकौं चुनौतीहरू पार गरेको छ । संसाधनको अभाव, संरचनागत समस्या, व्यवस्थापनका संकट। तर पनि, यो कहिल्यै ढलेन। किनभने यहाँ काम गर्ने हरेक व्यक्तिले यो संस्थालाई आफ्नो सपना माने।
नर्सहरू, जसले परिवार छाडेर परायाको सेवा गरे,
डाक्टरहरू, जसले आफ्नो निद्रा छाडेर अरूको जीवन बचाए । सफाइ गर्ने कर्मचारीहरू, जसले नछुने घाउसमेत पुछे, यी सबै यो गौरवको अभिन्न हिस्सा हुन्।
आजको नेतृत्व, भविष्यप्रति प्रतिबद्धता
आजको दिन सकारात्मक ऊर्जा दिने हो। हालका निर्देशक, प्राध्यापक र प्रशासनिक टिमको प्रतिबद्धता प्रशंसायोग्य छ। न्याम्सका डीन, रजिस्ट्रार शिक्षाध्यक्ष र सबै जिम्मेवार पदाधिकारी कर्मचारीहरु सबैको साझा प्रयत्नले अस्पतालले अझै पनि राष्ट्रको विश्वास जित्न सकेको छ।
अब यो अस्पताल केवल उपचार केन्द्र होइन — यो शिक्षा, अनुसन्धान र नवीन प्रयोगहरूको थलो बन्दैछ, बन्नुपर्छ। अब सधैं व्यस्त भिडमा यो अस्पताल रहने होइन। भिडभन्दा निकै टाढा भक्तपुरको दुवाकोटमा रहेको विस्तारित वीर अस्पताललाई स्तरउन्नति र निर्माण गरी एकेडेमिक क्षेत्रका रुपमा विकास गर्नुपर्छ।
वीरको सपना: भोलिका निमुखा भुइँमान्छेहरूको लागि
आजको यो उत्सव केवल इतिहास सम्झिने दिन होइन — भविष्य बनाउने संकल्पको दिन हो। जसले वीरलाई कल्पना गरे ।
हाम्रो वीर अस्पताल: सबका लागि, सधैँका लागि
१३६ वर्ष पुरानो इतिहास बोकेको यो अस्पताल अझै पनि नयाँ लाग्छ । किनभने यहाँ हरेक दिन नयाँ जीवन सुरु हुन्छ, नयाँ आशा पलाउँछ, र पुरानो पीडा मेटिन्छ। यो हाम्रो साझा गौरव हो। वीर अस्पताल, केवल नाम होइन — नेपाली जनताको जीवन र साससँग गाँसिएको धरोहर हो।
न्याम्सका उपकुलपति प्राध्यापक डा. भूपेन्द्रकुमार बस्नेतका अनुसार, वीर अस्पतालले हालैको वर्षमा सेवा पुर्याएको आयाम आफैंमा एक गौरवमय कथा हो।
बहिरंग सेवा (ओपिडी) मा ६ लाख ४७ हजार २१५ जनाले सेवा लिए। आकस्मिक सेवाबाट ३५ हजार १४१ जना लाभान्वित भए। घनिष्ठ सेवा (आईसीयू, एनआईसीयू लगायत) २१ हजार २२४ जनालाई प्रदान गरियो।
शल्यक्रिया (सर्जरी) २६ हजार ४६४ वटा भए — जसमा १६ हजार २२० वटा आपतकालीन र १० हजार २२० अन्तरङ्ग थिए।
प्रयोगशाला परीक्षण १२ लाख ७१ हजार १ सय ९८ वटा गरियो।
CT Scan सेवा १६ हजार ९९९ पटक, MRI सेवा ८ हजार २० पटक, र अल्ट्रासाउण्ड सेवा ६१ हजार ८२५ पटक प्रयोगमा आए।
तपाईको प्रतिक्रिया दिनुहोस