शिव घिमिरेको कत्था उद्योगद्वारा जनस्वास्थ्यमाथि गम्भीर खेलबाड, केमिकल फ्यालेर वातावरण बनाइयो प्रदूषित

काठमाडौं। शिवप्रसाद घिमिरेको कत्था उद्योगले जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको पाइएको छ। पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको ईनरूवा ईटहरी सडक खण्डमा पर्ने रामधुनी तित्रिवन (झुम्का नजिक) रहेको कत्था उद्योगले जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको हो।
कुनै बेला सुगम ग्यासको फुटरिङ काटेर चर्चामा आएका घिमिरेको उद्योगले फेरि जनस्वास्थ्यका दृष्टिकोणले घातक मानिएको केमिकल जथाभावी मिल्काएर उनी फेरि चर्चामा आएका छन्।
कत्था उद्योगबाट निस्केको प्रदूषित केमिकल (कालो पदार्थले) उद्योग वरपरको वातावरण नै खराब गरिदिएको छ। कत्था उद्योगबाट चुहावट भएको विषाक्त रसायनले मानव स्वास्थ्यमा मात्र होइन, माटो, पानी, जनावरहरूमा समेत असर पुऱ्याएको स्थानीयहरू बताउँछन्। तित्रिवन क्षेत्रमा औद्योगिक प्रदूषणको नमूना घिमिरेको कत्था उद्योग बनेको छ। उक्त कत्था उद्योगमाथि कारबाही हुनुपर्ने स्थानीयहरूको माग छ। कत्था उद्योगबाट निस्किएको विषाक्त रसायन सिधै खेत नालीमा मिसाउँदा त्यसको असर गाईबस्तुलगायतका जनावर, खेतीपाती, मानव स्वास्थ्य र सिंगो वातावरणमा परेको स्थानीयहरूको भनाइ छ। विषाक्त रसायनका कारण हालै लगाएको धानबाली मात्र होइन खेतको माटो नै काम नलाग्ने अवस्थामा पुगेको किसानहरूको गुनासो सुनिन्छ।
नेपाल कत्था उद्योग संघका अध्यक्ष समेत रहिसकेका घिमिरेले भने सुरूमा कत्था उद्योगबाट निस्किएको विषाक्त फोहोर बाहिर नगएको दाबी गरे। स्वास्थ्य लाइभले फोटो र भिडियोसहितका प्रमाण पठाएपछि भने उनी हच्किए। त्यो विषयमा आफूले हेरेर मात्र प्रस्ट भन्न सक्ने घिमिरेको भनाइ छ। नेपाल उद्योग वाणिज्य महासंघमा वातावरण समितिमा समेत बसेर काम गरेका घिमिरेको उद्योगले सुनसरी झुम्काको वातावरण नै प्रदूषित पारिदिएको छ। स्थानीय र पीडित पक्षले क्षतिपूर्तिको समेत माग राखेको छ। तर, घिमिरे शक्ति देखाएर उम्किदै आएका छन्।
वातावरण विभागका सूचना अधिकारी दिपक ज्ञवालीले विभागले उक्त विषयमा अनुगमन गर्ने र कारबाही भने उद्योग विभागले गर्ने बताए। वातावरण संरक्षण ऐनमा जोखिमपूर्ण पदार्थको संकलन, भण्डारण, प्रशोधन, बिक्रीवितरण, विसर्जन वा ओसारपसार गर्दा सम्बन्धित व्यक्ति वा संस्थाले जनस्वास्थ्य र वातावरणमा प्रतिकूल असर नपर्ने गरी उचित व्यवस्थापन गर्नु पर्ने व्यवस्था छ। तर, घिमिरेको कत्था उद्योगले उक्त ऐनविपरीत जनस्वास्थ्य र वातावरणमा प्रतिकूल असर पर्ने गरी जोखिमपूर्ण पदार्थ मिल्काएको पाइन्छ।
घिमिरेको कत्था उद्योगले गरेको बदमासीको विषयमा स्वास्थ्य लाइभले राखेको जिज्ञासामा उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले स्थलगत अध्ययन गरेर आवश्यक कारबाही गरिने प्रतिक्रिया दिए।
घिमिरेको कत्था उद्योगका कारण पूर्वी नेपालमा आतंक मच्चिएको छ। जनस्वास्थ्य र वातावरणमाथि गम्भीर खेलबाड गर्ने उद्योगमाथि अहिलेसम्म कारबाही हुन नसकेको स्थानीयहरूको गुनासो छ।
ट्याग : #कत्था उद्योग तित्रिवन, #शिवप्रसाद घिमिरे
तपाईको प्रतिक्रिया दिनुहोस