श्रम मन्त्रालय मातहतका निकायबीच पत्रकार सम्मेलनको होडबाजी


काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतका निकायबीच पत्रकार सम्मेलनको होडबाजी देखिन्छ। काम र नतिजामा भन्दा पनि श्रम मन्त्रालय अन्तर्गतका निकायहरू प्रचारप्रसारमा केन्द्रित देखिन्छन्।

श्रम मन्त्रालय अन्तर्गतका श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग,  वैदेशिक रोजगार विभाग, सामाजिक सुरक्षा कोष, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले पत्रकार सम्मेलन गरेर आफूले गरेका काम कारवाहीको जानकारी गराइसकेका छन्। बिहीबार (आज) १ बजे वैदेशिक रोजगार बोर्डको सचिवालयले पनि पत्रकार भेटघाट कार्यक्रम राखेको छ।

असार २७ गते नै श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले पत्रकार सम्मेलन गरेर उपलब्धि सार्वजनिक गरेको थियो। त्यसपछि साउन लागेपछि श्रम मन्त्रालय मातहतका निकायहरू पत्रकार सम्मेलनको प्रतिस्पर्धामा उत्रिएका छन्।

आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न गरेका कार्यक्रमहरूको उपलब्धि साथै आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न गरिने कार्यक्रममा जानकारी दिने उद्देश्यले पत्रकार भेटघाट कार्यक्रम राखिएको बोर्डको सचिवालयले जनाएको छ।

महालेखापरीक्षकको कार्यालयको बासठ्ठिऔं वार्षिक प्रतिवेदन अनुसार सबैभन्दा बढी अनियमितता वैदेशिक रोजगार बोर्डको सचिवालयमा रहेको पाइन्छ। उक्त बोर्डले पत्रकार सम्मेलन गरेर आफ्नो उपलब्धि सार्वजनिक गर्न लागेको हो।

वैदेशिक रोजगार विभागले साउन २ गते पत्रकार सम्मेलन गरेको थियो। श्रम विभागबाट सुरू भएको पत्रकार सम्मेलन बोर्डसम्म आइपुगेको छ।

त्यस्तै सामाजिक सुरक्षा कोषले साउन ७ गते पत्रकार सम्मेलन गरेको थियो। कोषले पनि गरेका काम कारवाही र आगामी काम कारवाहीहरूका विषयमा जानकारी दिने भन्दै उक्त पत्रकार भेटघाट कार्यक्रम राखिएको थियो।

कोषको पत्रकार भेटघाट कार्यक्रमको २ दिनपछि साउन ९ गते राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले पत्रकार भेटघाट राख्यो। प्रतिष्ठानपछि पत्रकार भेटघाट कार्यक्रम बोर्डमा पुगेको छ। यो होडबाजीमा श्रम मन्त्रालयका निकायहरूबीच कडा प्रतिस्पर्धा देखिन्छ।

श्रम मन्त्रालय स्रोतका अनुसार श्रम सचिव कृष्णहरि पुष्कर कर्णले मातहतका निकायलाई पत्रकार सम्मेलन गर्न निर्देशन दिएका छन्। उनकै निर्देशन अनुसार श्रम मन्त्रालय अन्तर्गतका निकायहरू पत्रकार सम्मेलनको होडबाजीमा उत्रिएका हुन्। ‘मिडिया म्यानेजमेन्ट’ खप्पिस मानिएका सचिव कर्णको निर्देशन अनुसार अन्य निकायहरूले पनि पत्रकार सम्मेलन गर्ने तयारी गरिरहेको मन्त्रालय स्रोतले बतायो। श्रम मन्त्रालय अन्तर्गत निकायहरू पछिल्लो समय काममा भन्दा प्रचारमा रमाइरहेको छ। प्रचारलाई नै उनीहरूले मुख्य उपलब्धि मानिरहेका छन्।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ