सुगम ग्यासको फुटरिङ काट्ने शिव घिमिरेको कत्था उद्योगले सुनसरीमा मच्चाएको आतंक


काठमाडौं। सुगम ग्यासको फुटरिङ काटेर चर्चामा आएका शिवप्रसाद घिमिरे सुनसरीमा एकपटक फेरि विवादमा तानिएका छन्। घिमिरेको कत्था उद्योगले हानिकारक रसायन (केमिकल) जथाभावी फ्यालेर आतंक मच्चाएपछि स्थानीयहरू विरोधमा उत्रिन बाध्य भएका छन्।

सुनसरीका तत्कालीन प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा (भ्रष्टाचारमा डामिएका)सँग सेटिङ मिलाएर घिमिरेले सुगम ग्यासको फुटरिङ काटेर उपभोक्तामाथि आतंक मच्चाएका थिए। सुगम ग्यासको सिलिन्डरका कारण भान्सा-भान्सामा सिलिन्डर बम रहेको भनेर उपभोक्ताहरू आतंकित भएका थिए। अहिले फेरि कत्था उद्योगको हानिकारक तरल पदार्थ वातावरणमा मिसाएर घिमिरेले सुनसरी रामधुनीबासीलाई आतंकित बनाएका छन्। तर, वातावरण प्रदूषित पार्ने घिमिरेलाई राज्यका जिम्मेवार निकायले अहिलेसम्म कुनै कारबाही गर्न सकेका छैनन्।

घिमिरेको कत्था उद्योगले वातावरण प्रदूषण मात्र होइन जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको भन्दै कानुनी उपचार र समस्याको दीर्घकालीन समाधानकाे माग राखेर आन्दोलनमा उत्रिएका हुन्। तर, सरोकारवाला निकाय उद्योग विभाग, वातावरणलगायतका निकाय मौन छन्। घिमिरेको कत्था उद्योगको ज्यादतीका कारण पीडित बनेका स्थानीयको रोदन सुन्ने ति निकायलाई फुर्सद देखिदैन्।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको ईनरूवा ईटहरी सडक खण्डमा पर्ने सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर २ मा तित्रीवनमा रहेको कत्था उद्योग (फ्याक्ट्री) र कामाख्या (सुगम) ग्यास उद्योगबाट हानिकार पदार्थ पानीमा मिसाउने गरेको भन्दै स्थानीयहरू उद्योग घेर्न पुगेका छन्। पटकपटक आग्रह गर्दा पनि उद्योगले ज्यादती गरेको आरोप लगाउँदै स्थानीयहरू विरोधमा उत्रिएका छन्। अनुगमन, नियमन र कारबाही गर्नु पर्ने निकायहरू कानमा तेल हालेर बसेका छन्। यसले स्थानीयहरू घिमिरे र राज्यका जिम्मेवार निकायसँग आतंकित र आक्रोशित बनेकाे पाइन्छ।

हानिकारक तरल पदार्थ नालीबाट आफूहरूको खेत-खेतमा पठाइएको आरोप लगाउँदै आन्दोलित स्थानीयहरू भन्छन्, ‘खेतमा विषाक्त पदार्थ हालेर बाली नष्ट गरेको, वातावरण प्रदूषित बनाएको र गाईबस्तुले खादा पनि असर गरेको छ’, ‘ कत्था उद्योगले लापरबाही गरेर दुर्गन्धित पदार्थ जथाभावी फ्याल्दा बाटाे हिँड्दा समेत नाक छाेपेर हिँड्नु पर्ने बाध्यता आइपरेको छ।’, घिमिरेको उद्योगमाथि हदैसम्मको कारबाही गर्न स्थानीयहरूले माग राखेर आन्दोलन गरेपनि जिल्ला प्रशासन कार्यालय सुनसरी वेखबर देखिन्छ।

घिमिरेको कत्था उद्योगबाट निस्किएको हानिकारक रासायनिक पदार्थका कारण करिब ३ सय घरधुरी प्रभावित भएको आन्दोलनरत पक्षको भनाइ छ। पैसाका बलमा कत्था र ग्यास उद्योगले सिंगो समाज र बस्तीमाथि अत्याचार गरेको भन्दै आन्दोलनरत स्थानीयहरू आक्रोशित भएका छन्। नेपाल उद्योग वाणिज्य महासंघमा वातावरण समितिले संयोजक समेत रहेर काम गरिसकेका घिमिरेको कत्था उद्योगले सुनसरी रामधुनी ( झुक्का-तित्रिवन) क्षेत्रको वातावरण नै धुलिसात बनाइदिएको छ। घिमिरेको कत्था उद्योगको केमिकल लापरबाही प्रकरणले राज्यको हैसियतको असलियत समेत सर्वाङ्ग बनाइदिएको हो। प्रशासन र राज्य संयन्त्र पुरै ‘फेलियर’ भएको भान हुने गरी घिमिरेको कत्था र ग्यास उद्योगले सुनसरीमा आतंक मच्चाइरहेको पाइन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ