श्रमिक रून्छन् विदेशी जेलमा, श्रम मन्त्रालयको समीक्षा आलिसान होटलमा


काठमाडौं। विदेशी जेलमा वैदेशिक रोजगारमा गएका श्रमिकहरूको रोदन सुनिन्छ। ‘ब्लड मनी’ बुझाउन नसकेका र उचित कानुनी सहायता नपाउँदा वैदेशिक रोजगारमा गएका श्रमिकहरू विदेशी जेलमै अपलपत्र अवस्था छन्। वैदेशिक रोजगार बोर्डले कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीका अनुसार अझै ७० शव विदेशमै अलपत्र रहेको बताउँछन्।

खाडी मुलुकमा गएका घरेलु कामदारको रोदन पनि उस्तै सुनिन्छ। श्रम स्वीकृतिको झन्झट अहिले पनि उस्तै देखिन्छ। संविधानमा रोजगारीको हक भएपनि बेरोजगार युवाको संख्या दिन-प्रतिदिन बढ्दै गइरहेको छ। यस्तो अवस्थामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यक्रम भने आलिसान होटलमा गरिएको छ।

साउन १३ र १४ गते श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्गतका निकायहरूको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समीक्षा कार्यक्रम नागर्जुन रिसोर्टमा राखिएको थियो। ओशो तपोवन नजिकै रहेको होटल मोनालिसाका नामले समेत प्रख्यात उक्त रिसोर्टमा मन्त्रालयले २ दिन कार्यक्रम गरेको हो। मदिरा पार्टीसहित चलेको उक्त कार्यक्रम श्रम मन्त्रालयको सभाकक्षमै चलाउन मिल्ने खालको थियो। तर, आलिसान होटलमा लगेर श्रम मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रम गरेको पाइन्छ।

६० साले लेखा अधिकृतहरूले रातभर मदिरा पार्टी गरेर निकै चर्चामा आएको उक्त मोनालिसा होटलमा श्रम मन्त्रालयको समीक्षा कार्यक्रमले १३ गते राती राम्रैसँग रंगिएको थियो। प्रशासन तथा योजना महाशाखा प्रमुख (सहसचिव) निश्चलराज पाण्डेले मन्त्रालयले नै होटलमा वार्षिक समीक्षा कार्यक्रम राखेको बताए। उक्त कार्यक्रम मन्त्रालय कै हलमा गर्न मिल्दैन थियो र भन्ने प्रश्नमा त्यो विषयमा प्रवक्तालाई सोध्न आग्रह गरे।

श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले ९८५१३२००९२ नम्बरको सरकारी मोबाइल बोक्छन्। तर, उनको उक्त नम्बरमा फोन नै लाग्दैन। मन्त्रालयको वेबसाइटमा लाग्दै नलाग्ने फोन नम्बर राखेका घिमिरे प्रवक्ता भएपनि त्यसको कुनै अर्थ छैन।

आलिसान रिसोर्टमा राखिएको श्रम मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रममा मन्त्री शरदसिंह भण्डारी, सचिव कृष्णहरि पुष्कर कर्णसहित मन्त्रालय र अन्तर्गतका निकायहरू उच्च अधिकारीसहित अधिकांश कर्मचारीको सहभागिता रहेको पाइन्छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ