स्वर्गद्वारी आश्रमको जग्गा हडप्न भूमाफियाको चलखेल, भूमि मन्त्रालयको भूमिका शंकास्पद


काठमाडौं। स्वर्गद्वारी महाप्रभुले दाङका विभिन्न ठाउँमा खरिद गरेका जग्गा हडप्न भूमाफियाले चलखेल गरिरहेका छन्। गणपति हार्डवेयरका मालिकदेखि नेपाल प्रहरीका पूर्व अधिकारी समेत स्वर्गद्वारी आश्रमको जग्गा हडपेर घर बनाइ बसिरहेका छन्। उनीहरूलाई उल्टै राज्य संयन्त्रले संरक्षण गरिरहेको भान हुन्छ।

स्वर्गद्वारी आश्रमको दाङमा २ सय बिगाहाभन्दा बढी जग्गा भूमाफियाहरूले हडपेका छन्। उक्त जग्गा फिर्ता ल्याउन राज्य संयन्त्रले कुनै सहयोग र चासो राखेको पाईँदैन। उल्टै भूमि मन्त्रालयमा पुगेर ती अतिक्रमणकारी भूमाफियाले चलखेल गरिरहेको पाइन्छ। भूमाफियाको पक्षमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी नै रहेको बताइन्छ। पोखराको लिचीघारी बगैंचाको जग्गाको दोस्रो भाग स्वर्गद्वारी आश्रमको जग्गा बन्न सक्ने खतरा छ।

स्वर्गद्वारी आश्रमको नाममा रहेको घोराहीको झिगौंरामा २६ बिगाहा १८ कठ्ठा ५ धुर जग्गा भूमाफियाहरूले कब्जा गरेको पाइन्छ। त्यस्तै घोराही कै रामपुरमा २४ बिगाहा १९ कठ्ठा १२ धुर स्वर्गद्वारी आश्रमको जग्गा भूमाफियाले हडपेका छन्। स्वर्गद्वारी आश्रमको जग्गा हडपेर भूमाफियाहरूले अलिसान भवन खडा गरेका हुन्।

लमहीको अर्नहवामा ४१ बिगाहा १२ कठ्ठा १६ धुर जग्गा भूमाफियाले अतिक्रमण गरेका हुन्। लमहीको मुख्य बजारमा ऐतिहासिक र पवित्र स्वर्गद्वारी आश्रमको नाममा रहेको जग्गा भूमाफियाले अतिक्रमण गर्दा स्थानीय प्रशासन मौन रहेको छ। राजनीतिक दलका नेताहरूले उल्टै भूमाफियालाई संरक्षण गरेकाे पाइन्छ। भूमाफियाहरूले चलाएका भनिएका भूमिमन्त्रीले पनि भूमाफियाको पक्षमा चलखेल गरिरहेको आरोप लागेको छ।

दाङको उचानिब्बुमा स्वर्गद्वारी आश्रमको नाममा रहेको झन्डै २६ बिगाहा जग्गा भूमाफियाले खाएका छन्। लमहीको चैलाहीमा १० बिगाहाभन्दा बढी स्वर्गद्वारी आश्रमको नाममा जग्गा भूमाफियाले अतिक्रमण गरेका छन्।  त्यस्तै स्वर्गद्वारी आश्रमको नाममा बनगाउँमा भन्डै १० बिगाहा जग्गा भूमाफियाले अतिक्रमण गरेकाे पाइन्छ। मजगाउँमा रहेको स्वर्गद्वारी आश्रमको ४१ बिगाहा १२ कठ्ठा १३ धुर जग्गा भूमाफियाले हडपेका छन्।

स्वर्गद्वारी महाप्रभुको निर्देशनमा किनेको दाङको ढोडेनीमा रहेको २ बिगाहा २ कठ्ठा २ धुर नैनवरमा करिब १६ बिगाहा ३ कठ्ठा जग्गा भूमाफियाले खाएका छन्। दाङ कै टरीगाउँमा स्वर्गद्वारी आश्रमको नाममा रहेको करिब ५ बिगाहा भूमाफियाको कब्जामा परेको छ। स्वर्गद्वारी आश्रमको जग्गामा मोही र भूमाफिया गरी दुई किसिमको लफडा रहेको पाइन्छ। मोहीलाई व्यवस्थापन गर्न खोज्दा स्वर्गद्वारी आश्रमको जग्गा हडप्ने भूमाफियाहरू सल्बलाउन थालेको भूमि मन्त्रालयका अधिकारीहरू बताउँछन्।

क्याटेगोरी : समाचार
ट्याग : #रामपुर दाङ, #स्वर्गद्वारी आश्रम, #स्वर्गद्वारी महाप्रभु

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ