‘लक्जरियर्स’ होटलबाट चलिरहेको श्रम मन्त्रालय, होटलमा कार्यक्रम गरेर रमाउँदै


काठमाडौं। देशमा बेरोजगारको संख्या दिनप्रतिदिन बढिरहेको अवस्थामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय भने ‘लक्जरियर्स’ होटलबाट चलिरहेको पाइन्छ। श्रम मन्त्रालयको सचिवको भूमिकामा कृष्णहरि पुष्कर कर्ण आएपछि श्रम मन्त्रालय र अन्तर्गतका निकायहरूका अधिकांश कार्यक्रम ‘लक्जरियर्स’ होटलमा हुन थालेका छन्। श्रम मन्त्रालयको गतिविधि हेर्दा लाग्छ देशमा कोही पनि बेरोजगार छैन। तर, यथार्थमा चाहीँ देशमा रोजगारी नपाएका युवाहरू दिनप्रतिदिन खाडीमा भासिरहेका छन्। श्रम मन्त्रालयका अधिकारी भने आलिसान होटलमा कार्यक्रम राखेर मोज गरिरहेका छन्।

साउन १३ र १४ गते श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्गतका निकायहरूको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समीक्षा कार्यक्रम नागर्जुन रिसोर्टमा राखिएको थियो। ओशो तपोवन नजिकै रहेको होटल मोनालिसाका नामले समेत प्रख्यात उक्त रिसोर्टमा मन्त्रालयले २ दिन कार्यक्रम गरेको हो। नाचगान र मदिरा पार्टीसहित चलेको उक्त कार्यक्रम श्रम मन्त्रालयको सभाकक्षमै चलाउन मिल्ने खालको थियो। तर, आलिसान होटलमा लगेर श्रम मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रम राख्यो।

आलिसान रिसोर्टमा राखिएको श्रम मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रममा मन्त्री शरदसिंह भण्डारी, सचिव कृष्णहरि पुष्कर कर्णसहित मन्त्रालय र अन्तर्गतका निकायहरू उच्च अधिकारीसहित अधिकांश कर्मचारीको सहभागिता रहेको पाइन्छ। श्रम मन्त्रालयको प्रशासन तथा योजना महाशाखाको व्यवस्थापन उक्त वार्षिक समीक्षा कार्यक्रम होटलमा राखिएको उक्त शाखाका कर्मचारीहरू बताउँछन्। श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेको ‘मोबाइल’ पनि वैदेशिक रोजगारमा गएजस्तै छ। किनकि श्रम मन्त्रालयका कार्यक्रम र गतिविधिका विषयमा बुझ्न खोज्दा उनको फोन लाग्दैन। नलाग्ने बनाएका छन्।

सामी र ऱ्यामीको पैसामा श्रम मन्त्रालयका अधिकारीहरूलाई मदिरा पार्टी गराउँदै आएको छ। मन्त्रालय कै उच्च अधिकारीलाई ‘गलफ्रेन्ड’सहित विदेश घुमाएको विषय पनि वैदेशिक रोजगार बोर्डको सचिवालयको पत्रकार सम्मेलनमा पत्रकारले उठाएका थिए। तर, त्यसको जवाफ कसैले पनि दिएनन्।

असार २९ गते मात्र श्रम मन्त्रालय अन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यक्रम गोकर्ण फरेष्ट रिसोर्टमा राखिएको थियो। श्रम सचिव कर्णको निर्देशन अनुसार प्रतिष्ठानको कार्यक्रम गोकर्ण रिसोर्टमा राखिएकाे स्रोतले बतायो। प्रतिष्ठान कै हलमा प्रस्तुतीकरण र छलफल गर्न सकिने पाठ्यक्रमको मस्यौदा पनि रिसोर्टमा लगेर छलफल गरिएको हो। श्रम मन्त्रालय र अन्तर्गतका निकायले सरकारी पैसा रिसोर्टमा लगेर उडाउने गरिरहेको पाइन्छ।

वैदेशिक रोजगार विभागले पनि केही समय अघि बुढानिलकण्ठको ‘लेमन्ट्री’ होटलमा मुख्यसचिवसहितलाई बोलाएर कार्यक्रम गरेको थियो। विभागले वैदेशिक रोजगार कसूर सम्बन्धी अनुसन्धान, अभियोजन, न्याय सम्पादन तथा सहजीकरण विषायक अन्तरक्रिया कार्यक्रम ‘लक्जरियर्स’ होटल लेमेन्ट्रीमा राखिएको थियो। सचिव कर्णको निर्देशन र महानिर्देशक कमलप्रसाद भट्टराई व्यवस्थापनमा होटलमा छलफल कार्यक्रम राखिएको विभाग स्रोतले बतायो।

मन्त्रालय अन्तर्गतका निकायहरू पनि ‘लक्जरियर्स’ होटलमा कार्यक्रम गरेर रमाइरहेका छन्। फजुल खर्च गर्नेमा श्रम मन्त्रालय निकै अगाडि देखिन्छ। सरकारी खर्च मितव्ययिताको नीतिलाई श्रम मन्त्रालय र अन्तर्गतका निकायहरूले धुलिसात बनाइदिएका छन्। प्रचारमा रमाउने र ‘मिडिया म्यानेजमेन्ट’मा खप्पिस सचिव कर्णले श्रम मन्त्रालय नै होटलबाट चलाउन उत्प्रेरित गरिरहेको आरोप लाग्न थालेको छ। पछिल्ला कार्यक्रम हेर्दा त्यो कुरालाई पुष्टि गर्छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ