मंगलबार स्वर्गद्वारी महाप्रभुको जन्मजयन्ती भव्यतापूर्वक मनाइँदै

काठमाडौं। स्वर्गद्वारी आश्रमहरूमा अनन्तश्रीविभूषित स्वर्गद्वारी महाप्रभुको १६७ औं जन्मजयन्ती (आविभार्व दिवस) मनाउने तयारी भइरहेको छ। आगमी साउन २० गते मंगलबार स्वर्गद्वारी महाप्रभुको जन्मोत्सव (आविर्भाव दिवस) भव्यतापूर्व मनाउने तयारी भइरहेको हो।

प्युठान, दाङ, म्याग्दी, काठमाडौंलगायतका ठाउँमा रहेका स्वर्गद्वारी आश्रममा उनको जन्मजयन्ती (जन्म दिवस) भव्यतापूर्वक मनाउने तयारी भइरहेको आश्रमका व्यवस्थाहरूले जनाए। प्युठानको स्वर्गद्वारी मन्दिर र काठमाडौंको पशुपति क्षेत्र (राम मन्दिर) नजिकै रहेको स्वर्गद्वारी आश्रमलगायतमा महाप्रभुको जन्म दिनलाई विशेष अवसरका रूपमा मनाउन लागिएको छ। स्वर्गद्वारी महाप्रभुप्रति आस्था राख्नेहरू त्यहाँ गएर आशीर्वाद लिन सक्ने आश्रमले जनाएको छ।
को हुन् श्रीस्वर्गद्वारी महाप्रभु?
स्वर्गद्वारी आश्रमका संस्थापक श्री महाप्रभु नेपालको तत्कालीन राप्ती अञ्चल, हालको रोल्पा जिल्लाको रुम्टी गाउँमा वि.सं. १९१६ श्रावण शुक्ल एकादशी जेष्ठा नक्षत्र गुरुवारका दिन जन्मिएका हुन्। उनका पिताको नाम अनिरुद्ध गौतम र माताको नाम श्वेताकुमारी थियो नक्षत्र अनुसार पुरोहितले उनको नाम नाम नारायण राखेको थिए। उनी जन्मिएको राति पानीको साथमा त्यहाँ पुष्पवृष्टि पनि भएको र बिहानै भिक्षाको निहुँ पारी अनेक सिद्धले सद्योजात शिशु (पछि महाप्रभु)को दर्शन गरेका थिए भन्ने भनाई पनि छ। ४ वर्षको उमेरदेखि नै एकान्त ठाउँमा बसी उनी एक्लै माटाढुंगाका देवप्रतिमा बनाएर तिनकै पूजामा घन्टौँ व्यस्त रहन्थे। महाप्रभु आफ्नो ५ वर्षको उमेरदेखि नै तपस्वी भएकाले उनलाई बालतपस्वी भनिन्छ।
१३ देखि २५ वर्षको उमेरसम्म जनसम्पर्कबाट अलग भई स्वर्गद्वारी महाप्रभुले पूरा १२ वर्ष तपस्या गरेका थिए। त्यसपछि उनलाई संन्यास लिने इच्छा भयो र वाराणसीमा योग साधना गरी बस्ने र समय समयमा नेपालका विभिन्न तिर्थस्थलमा आइरहने सिद्ध सन्त स्वामी सच्चिदानन्द गिरीबाट संन्यास दीक्षा लिएका थिए। गुरुले उनको नाम हंसानन्द गिरि राखिदिए। उनले केही समयसम्म गुरुसेवा गर्दै ज्ञानयोग, कर्मयोग र अष्टाङ्ग योगको समेत ज्ञान बढाएका थिए। जन्मस्थानमा विभिन्न यज्ञहरू गर्दै विश्वकल्याणार्थ अखण्ड महायज्ञ गर्ने पावन् उद्देश्यले महाप्रभु वि.सं. १९५१ मा पवित्र भूमि स्वर्गद्वारीको शैलशिखरमा पदार्पण गरे र यस दिव्यभूमिलाई यज्ञभूमिको रूपमा परिणत समेत गरे। उनका अनुसार स्वर्गद्वारी पौराणिक कालमा पनि यज्ञभूमि नै थियो । वैदिक सनातन धर्मको आधार स्तम्भ स्वर्गद्वारी आश्रमका संस्थापक त्रिकालदर्शी श्रीस्वर्गद्वारी महाप्रभु वि.सं.१९९७ को मार्ग शुक्ल पक्षको चतुर्थी तिथिमा पाञ्चभौतिक शरीर त्यागी ब्रह्मलीन भएका थिए। उनै शिद्ध पुरुषको जन्मजयन्ती मनाउन लागिएको हो।
क्याटेगोरी : विविध
तपाईको प्रतिक्रिया दिनुहोस