“युएनडिपीको पारदर्शिता अभियान कि किर्तेवालाको सुरक्षाको पर्दा”
दोषी चोख्याउन गल्ती अस्वीकार

काठमाडौँ । संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी) ग्लोबल फन्ड परियोजनामा आवद्ध “किर्ते प्रमाणपत्रधारी”लाई चोख्याउन तल्लिन भएको देखिन्छ। आइएसीको किर्ते प्रमाणपत्र पेश गरेका व्यक्ति गजानन्द प्रकाश भण्डारी अहिले ग्लोबल फन्डको परियोजना हेर्न युएनडिपीले हालै नियुक्त गरेको छ।
भण्डारीले किर्ते आइएसी प्रमाणपत्र प्रयोग गरेर चिकित्सकीय शिक्षा हासिल गरेका छन्। यो न केवल शैक्षिक अपराध हो, यो राज्यप्रति ठगी, नैतिक पतन र संस्थागत विश्वासमाथिको आघात समेत हो।
युएनडिपीले ग्लोबल फन्ड परियोजना हेर्न नियुक्त गरेका व्यक्तिहरू नैतिक रूपमा कमजोर र सम्बन्धित विषयमा आवश्यक ज्ञान नभएका छन् भन्ने विषयमा स्वास्थ्य लाइभले नियमित रूपमा समाचार प्रकाशन गर्दै आएको छ।
युएनडिपी नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले समाचारको खण्डन गर्दै प्रकाशित सामग्री असत्य भएको बताएकी छन्। उनले भनेकी छन्, “युएनडिपीले सन् २०२५ फेब्रुअरीदेखि सह–प्रमुख प्राप्तकर्ताको जिम्मेवारी सम्हालेको हो र हालसम्म सबै उपप्राप्तकर्ताहरू नियुक्त भइसकेका छन्।”
कार्यक्रम कार्यान्वयनको प्रारम्भिक चरणमा केही चुनौतीहरू देखिएको स्वीकार गरिए पनि, कर्मचारीको नियुक्ति प्रक्रियामा कसैको योग्यतामा प्रश्न उठाउनु “गलत र आधारहीन” भएको दाबी गरिएको छ। उनले थपेकी छन्, “जाँचबुझबिना गरिएको आरोपले विकास क्षेत्रमा काम गरिरहेका इमानदार व्यक्तिहरूको प्रतिष्ठा र मनोबलमा नकारात्मक असर पर्न सक्छ।”
युएनडिपी नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले गरेको खण्डनले विवादित व्यक्तिको नियुक्तिमा उनकै संलग्नता रहेको अनुमान गर्न सकिन्छ। उनको विषयमा समेत स्वास्थ्य लाइभले सूक्ष्म अनुसन्धान गर्नुपर्ने देखिएको छ।
हो, गजानन्द भण्डारी ठगी मुद्दामा सफाइ पाएका हुन्। तर उनको अहिलेको मुद्दा ठगी होइन, आइएसीको प्रमाणपत्र किर्ते प्रकरण हो। सीआईबीको हातमा भण्डारीको किर्ते सर्टिफिकेट रहेको पुष्टि भइसकेको छ। सोमबार सीआईबीले स्वास्थ्य लाइभलाई दिएको प्रमाणपत्रको विषय अर्को अंकमा प्रकाशित गर्नेछौं।
तर सीआईबी र सम्बन्धित कलेजबाट प्रमाणित किर्ते सर्टिफिकेट प्रकरणलाई असत्य ठहर गर्दै मिडियामाथि दोष थोपरेर आफ्नो जागिर सुरक्षित गर्ने बाटो युएनडिपी नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले खोजेकी छन्।
“प्रमाणपत्र फर्जी हो भन्ने प्रमाण, नाम फेरेर ल्याइएको विवरण, सम्बन्धित विश्वविद्यालयको रेकर्ड हामीसँग छन्। यस्तो अवस्थामा आरोप लागेका व्यक्तिमाथि छानबिन गर्नुको सट्टा मिडियालाई दोष देखाउने जबर्जस्ती प्रयास गर्नु पक्कै पनि युएनडिपी र युएनडिपी नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकाको शंकास्पद नैतिकता हो।”
यथार्थ प्रमाणको आधारमा समाचार प्रकाशित हुँदा त्यसलाई असत्य भन्नु पत्रकारितामाथि होइन, नैतिकता र पारदर्शितामाथि हमला हो। यदि युएनडिपी जस्तो संस्थाले प्रमाणलाई हेर्नुको सट्टा आफ्ना गल्ती छोप्ने रणनीति लिन्छ भने, त्यसको संस्थागत विश्वसनीयता अन्तर्राष्ट्रिय क्षेत्रमै चुनौतीमा पर्न सक्छ।
क्याटेगोरी : समाचार, सुशासनट्याग : ##Global Found, ##UNDP NEPAL
तपाईको प्रतिक्रिया दिनुहोस