सरकारी कार्यक्रम हेर्ने युएनडिपीका हाइ–प्रोफाइल अधिकारी ‘नक्कली’ सर्टिफिकेटधारी,
"गजानन्द भण्डारीको नियुक्तिपछि स्वास्थ्य मन्त्रालयको भूमिकामाथि प्रश्न"

काठमाडौं। नेपालस्थित संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमअन्तर्गतका एक उच्च अधिकारीको सर्टिफिकेट नै नक्कली पाइएको छ। संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यक्रमअन्तर्गत ग्लोबल फण्ड परियोजनाका प्रोग्राम एण्ड एमएण्डई विशेषज्ञ गजानन्द प्रकाश भण्डारीको आईएस्सीको सर्टिफिकेट नक्कली पाइएको हो। तर, युएनडिपी आफ्नाे गल्ति स्विकार्ने पक्षमा देखिएको छैन।
वि.सं. २०७२ सालमा नक्कली सर्टिफिकेट पेश गरेर एमबीबीएस गरेका डाक्टरहरुमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले अप्रेशन ‘क्वाक’ चलाएर छानबिन गरेको थियो। त्यो बेलामा छानविनमा परेकामध्ये भण्डारी पनि एक थिए। सिआईबीले त्यो बेला उनको शैक्षिक प्रमाणपत्रहरुमाथि गम्भीर छानविन गरेको थियो । सो क्रममा उनले बिहार इन्टरमिडियट एजुकेशन काउन्सिल पटनाबाट लिएको आईएस्सी सर्टिफिकेट नक्कली पाइएको थियो।
सन् १९९१ मा पटनाको विहार इन्टरमिडियट एजुकेशन काउन्सिलले जारी गरेको उनको नामको भनिएको आईएस्सीको रोल नं. १५७ को प्रमाणपत्र भारतका अरविन्द श्रीवास्तवको नाममा रहेको थियो। तर, भण्डारीले त्यसलाई कीर्ते गरेर प्रयोगमा ल्याएकाे र एमबीबीएसलगायततका डिग्री हासिल गरेको सिआईबी स्रोत बताउँछ।
आईएस्सी मुनिकाे मात्र अध्ययन प्रमाणपत्र मान्य भएका भण्डारीले कुन आधारमा माथिकाे प्रमाणपत्र पेश गरेर काम थाले थप अध्ययनकाे विषय बनेको सिआईबी बताउँछ । नैतिक पतन भएको व्यक्तिलाई कसरी र कुन सस्थाले आवद्ध गराएको छ त्यस संस्थामाथि समेत छानबिन आवश्यक देखिएको सरकारी अधिकारीहरुले बताएका छन्।
उनले सोही नक्कली प्रमाणपत्र पेश गरेर रसियाको दागेस्तान स्टेट मेडिकल एकेडेमीबाट एमबीबीएस गरेका थिए भने सन् २००५ मा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कम्युनिटी हेल्थ एण्ड प्रिभेन्टीभ मेडिसिनमा एमडी गरेका थिए। त्यसपछि उनले सन् २००५ देखि सन् २००९ सम्म धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम गरेको उनको लिंक्डइनमा छ। उनले त्यहाँ आफूले तीन वर्ष पाँच महिना एसिस्टेन्ट प्रोफेसरका रुपमा काम गरेको उल्लेख गरेका छन् । यहीबीचमा सन् बेल्जियमबाट पब्लिक हेल्थमा माष्टर्स गरे ।
त्यसपछि सन् २००९ देखि २०११ सम्म उनले अर्को सरकारी निकाय नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)मा सिनियर इपिडिमियोलोजिष्ट रुपमा काम गरे। उनले त्यहाँ दुई वर्ष चार महिना काम गरेका थिए । त्यसपछि भण्डारीले सन् २०११ देखि २०१३ सम्म नेपाल पब्लिक हेल्थ फाउण्डेसनमा कार्यक्रम निर्देशक भएका काम गरेका थिए।
त्यसलगत्तै उनले सन् २०१४ देखि २०१५ सम्म सार्क क्षयरोग केन्द्रमा इपिडिमियोलोजिष्ट भएर काम गरेका थिए। सार्क क्षयरोग केन्द्रपछि उनी युएसएडको चिफ अफ स्टाफका रुपमा परिवार नियोजन संघमा जागिरे भए। त्यही जागिरे रहँदा सन् २०१६ मा सिआईबीले अप्रेशन क्वाक चलाएपछि उनको डाक्टरी उपाधि खोसियो। तर, कीर्तेमा नभएर प्रहरीले ठगीमा मुद्धा चलाएपछि उनको नक्कली प्रमाणपत्रमाथिको छानबिनमा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाए।
भण्डारीले ठगीको केसमा सफाइ पाएपनि उनले आईएस्सीको नक्कली प्रमाणपत्र पेश गरेर एमबीबीएस र एमडीको डिग्री लिएको पुष्टि भएपछि नेपाल मेडिकल काउन्सिलले उनको दर्ता खारेजी गरिदिएको थियो। नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सतिश देवले पनि भण्डारीको डाक्टरी दर्ता खारेज गरिदिएको पुष्टि गरे। ‘सामान्य अवस्थामा डाक्टरी सर्टिफिकेट खारेज गरिदैंन्,’ डा. देव भन्छन्, ‘गम्भीर नैतिक पतन देखिएको खण्डमा मात्रै यो खारेज हुन्छ। नक्कली सर्टिफिकेट देखिएपछि उहाँको पनि दर्ता खारेज गरिएको देखिन्छ।’
स्वास्थ्य लाइभलाई प्राप्त विवरण अनुसार बिहार इन्टरमिडियट एजुकेशन काउन्सिल पटनाबाट रोल नं. १५७ को प्रमाणपत्रअनुसार उनले ९०० को पूर्णांकमा ६८९ नम्बर ल्याएका छन्। जसमा आर.बी.मा ७७ नम्बर, ल्याङ्वेज एण्ड लिटरेचर १४५ नम्बर, फिजिक्स थेउरीमा १२० र प्रायक्टिकलमा ४० नम्बर छ, यसैगरी, केमेष्ट्री थेउरीमा १७० र प्रायाक्टिकलमा ३०, बायोलोजीको थेउरीमा १२० र प्रायाक्टिकल ४० नम्बर देखिन्छ।
‘हाम्रो अनुसन्धानमा उहाँको आईएस्सीको सर्टिफिकेट नक्कली रहेको पुष्टि भएको छ,’ सिआईबी स्रोतले भन्यो, ‘उहाँ (भण्डारी)ले सो काउन्सिलबाट लिएको उक्त रोल नम्बरको सर्टिफिकेट भारतीय नागरिक अरबिन्द श्रीवास्तवका नाममा रहेको छ।’
आईएस्सीको नक्कली प्रमाणपत्र पेश गरेर एमबीबीएस गरेको पाइएपछि नेपाल मेडिकल काउन्सिलले उनको दर्ता खारेजी गरिदियो। तर, भण्डारी त्यसपछि पनि निरन्तर एनजिओ र आईएनजिओलाई ढाँटेर वा सेटिङ्मा उच्च तहका काम गरिरहेका छन्।
अप्रिल २०१९ देखि जनवरी २०२१ सम्म एक वर्ष १० महिना हेल/डिफिडको डाइरेक्टरका रुपमा, फ्रेबुअरी २०२१ देखि सेप्टेम्बर २०२१ सम्म ८ महिना एफएचआई ३६० मा डाइरेक्टरका रुपमा र अक्टोबर २०२१ देखि जनवरी २०२५ सम्म पीक्युएम प्लस/युएसएडको डेपुटी चिफ अफ पार्टीका रुपमा काम गरेको पाइएको छ। फ्रेबुअरी २०२५ देखि मार्च २०२५ सम्म दुई महिना पीक्युएमप्लस/युएसएडको चिफ अफ पार्टीका रुपमा काम गरेको देखिन्छ।
गत जुनदेखि भने भण्डारी संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी)अन्तर्गत ग्लोबल फण्ड परियोजनाको प्रोग्राम एण्ड एमएण्डई विशेषज्ञको नियुक्त पाएका छन्। उक्त नियुक्तपछि उनको नक्कली प्रमाणपत्रबारे थप चर्चा चुलिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयका सूचना अधिकारी मधुप्रसाद घिमिरे कसैले आईएस्सीको प्रमाणपत्र नक्कली पेश गरेर बाँकी डिग्री हासिल गरेको भएमा त्यसको अर्थ नहुने बताउँछन्। ‘कसैले आईएस्सीको नक्कली प्रमाणपत्र पेश गरेर बाँकी डिग्री हासिल गरेको छ भने त्यसको अर्थ रहँदैंन्,’ उनी भन्छन् । उनको नियुक्तिलाई युएनडिपीले स्वास्थ्य मन्त्रालयको क्लोज कन्ट्याक्टमा गरिएको बताएको छ। यसबाट अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्वमाथि पनि प्रश्न उठेकाे छ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार, सुशासनट्याग : ##Global Found, ##UNDP NEPAL
तपाईको प्रतिक्रिया दिनुहोस