सडकबाट रविन ‘आउट’ भए, परराष्ट्र ताकेका रामचन्द्र सडक पुगे


काठमाडौं। लेखा उपसचिवका लागि सबैभन्दा आकर्षक अड्डा मानिने सडक विभागबाट रविन कोइराला आउट भएका छन्। २०८० पुसमा सडक विभाग पुगेका रविन डेढ वर्ष पुगेपछि सडकबाट आउट भएका हुन्। रविनको ठाउँमा सडक महालेखा नियन्त्रक कार्यालयबाट उपसचिव रामचन्द्र शर्मा सडक पुगेका छन्। परराष्ट्र मन्त्रालय पुग्न महालेखामा गौंडा ढुकेर बसेका रामचन्द्रलाई मधुसुधन पौडेल ‘दोमासे’ले छिर्के लगाएपछि उनी सडक पुगेका हुन्। ‘घिऊ कहाँ पोखियो दालमा’ भनेजस्तै परराष्ट्र ताकेर बसेका रामचन्द्र सडक पुगेका छन्। रामचन्द्र सडक पुग्दा रविनपछि सडक जान ठिक्क परेका निरज केसी हेरेको हेऱ्यै भएका छन्।

सामान्यतयाः लेखाका उपसचिवहरूको दुई वर्षमा सरूवा हुने गरेको छ। सडकमा पुगेका लेखा उपसचिवको दुई वर्ष नभइ हतपती सरूवा हुँदैन। तर, ‘कवि’ हृदयका रविनको डेढ वर्षमै सरूवा भएको छ। महालेखा नियन्त्रक कार्यालय (मलेनिका) स्रोतका अनुसार रविनको मलेनिकामै सरूवा भएको छ। रविन, निरज, ज्ञानेन्द्र ओझालगायत साट्ठी साले लेखा अधिकृतहरू फेरि मलेनिकामा भेला हुन थालेका छन्। सडकमा मलेनिकाका कोष व्यवस्थापन तथा प्रणाली विकास शाखा प्रमुख रहेका उपसचिव रामचन्द्र शर्मा पुगेपछि रविनका लागि सिट खाली भएको हो। उनी मलेनिकामै सेटल हुन्छन् कि अर्को आकर्षक कार्यालय जान्छन् त्यो भने महालेखा नियन्त्रक शोभाकान्त पौडेलको हातमा छ।

रविनले सडकमा फायल अड्काएर हैरान पारेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयदेखि महालेखा नियन्त्रक कार्यालयसम्म गुनासो पुगेको थियो। मातहतका निकायमा आँप आतंक मच्चाउनेदेखि तोरी तेल मगाउँदै घरघर पुऱ्याएको चर्चा समेत सडकतिर सुनिन्छ। फायल रोकेर कायल पारेपछि उनलाई सडकमा त्यति रूचाइएको थिएन। रविन महालेखा नियन्त्रकको कार्यालयमा ‘सेफ ल्याङ्डिङ’ भएका छन्।

सडकमा हिसाबकिताब मिलाउन बाँकी नै रहेकाले रविनले दसैँसम्म सडकमै बस्ने गरी रामचन्द्रको सरूवा भएको समेत मलेनिकामा चर्चा छ। सरूवा भएपनि रविनले सडक छाड्न मानिरहेका छैनन्। सडकतिरका उच्च अधिकारीहरू भने उनी तत्काल रमाना लिएर जाउन भन्ने पक्षमा देखिन्छन्।

मलेनिकाको सरूवा गुपचुप

महालेखा नियन्त्रक कार्यालयको पछिल्लो सरूवाहरू निकै गुपचुप हुन थालेका छन्। विनोदप्रकाश सिंह महालेखा नियन्त्रक हुँदा सरूवालाई पारदर्शी गर्न थालेका थिए। सिंहले सरूवाको सूची वेबसाइटमा नै हाल्न लगाउने गरेका थिए। केही अपवादबाहेक उनको पालामा भएका सरूवा त्यति विवादित भएनन्। गणेशप्रसाद पाण्डे गएपछि भने महालेखाको सरूवा निकै विवादित र अपारदर्शी बन्न थाल्यो। शोभाकान्त पौडेल सरूवा भएर गएपछि पनि त्यसले निरन्तरता पाएको छ।

पाण्डेको पालामा सरूवा निर्देशिकाविपरीत उपसचिव लावण्य दाहाललाई एक वर्षमै ४ ठाउँमा सरूवा गरिएको थियो। एक वर्षमै दाहाल मेलम्ची खानेपानी आयोजना, राष्ट्रिय सतर्कता केन्द्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय हुँदै कुमारीचोक पुगेका छन्। कानुनको धज्जी उडाउँदै उनलाई लगातार ४ ठाउँमा सरूवा गरिएको हो। भूमिमा लेखा अधिकृत टिपी भण्डारीसँग लफडा परेपछि उनी कुमारीचोकको प्रमुख बन्न गएका हुन्। लेखा उपसचिव हेमराज पौडेलले सिंचाइ विभागबाट कुमारीचोक आएको छोटो समयमै आन्तरिक राजश्व विभागमा फड्को मारे। अवधिभन्दा बढी सिंचाइ विभाग बसेका पौडेल कुमारीचोक हुँदै आन्तरिक राजस्व विभाग पुगेका थिए। उक्त बेथिति रोक्न शोभाकान्त कतिको सफल हुन्छन् हेर्न बाँकी छ।

परराष्ट्रमा गरेको मधुसुधनको सरूवालाई निकै गोप्य राखेको महालेखा नियन्त्रक कार्यालयले बीचबीचमा गरेका सरूवा पनि बाहिर ल्याएको छैन। पाण्डेको गुपचुप सरूवाले शोभाकान्तको पालामा पनि निरन्तरता पाउने खतरा बढेको छ। निरज केसीहरूका कारण सरूवा गोप्य राख्न थालिएको महालेखामा चर्चा छ। अहिले पनि केही थप लेखा उपसचिवहरूको सरूवा भएको बताइन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #निरज केसी, #मधुसुधन पौडेल, #रविन कोइराला, #रामचन्द्र शर्मा

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ