मेडिकल क्षेत्रमा विदेशी विद्यार्थीको आकर्षण बढाउनुपर्नेमा जोड

काठमाडौं । नेपालमा मेडिकल क्षेत्रमा विदेशी विद्यार्थीको आकर्षण बढाउने वातावरण निर्माण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको ‘नेपाल चिकित्सा शिक्षाः अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले नेपाललाई मेडिकल शिक्षा केन्द्रको रूपमा स्थापित गर्न सकिने सम्भावना औंल्याउँदै विदेशी विद्यार्थीलाई लक्षित नीतिगत तयारी आवश्यक भएको बताए। साथै, सरकारले छात्रवृत्तिमा गरेको ठूलो लगानी ‘बालुवामा पानी’ जस्तै बर्बाद भइरहेको र यो प्रवृत्ति रोक्नुपर्ने धारणा पनि राखियो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जनशक्ति र गुणस्तरीय शिक्षालाई मध्यनजर गर्दै चिकित्सा शिक्षा आयोगलाई पुनरावलोकन गर्ने तयारी भइरहेको जानकारी दिए। उनले नेपाल मेडिकल काउन्सिलको लाइसेन्समा असफल भएका विद्यार्थीलाई पनि पढेको आधारमा काम गर्न दिनुपर्ने प्रस्ताव गरे।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमरबहादुर थापाले नर्सिङ कलेजलाई स्वीकृति दिँदै सञ्चालन बढाउनुपर्ने र सरकारी मेडिकल कलेज नाफारहित, निजी मेडिकल कलेज नाफामुखी हुनुपर्नेमा जोड दिए। उनले सरकारी मेडिकल कलेजलाई सम्बन्धन मात्र दिने तर अनुगमन नगर्ने परिपाटी परिवर्तन गर्नुपर्ने बताए।
प्रतिनिधि सभा सदस्य लिलादेवी लिम्बुले विकृति सुधार गरी गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने धारणा राखिन्। प्रा.डा. चन्दा कार्कीले क्षेत्रीय समानताका आधारमा मेडिकल कलेज खोल्नुपर्ने र निजी तथा सरकारी दुवैलाई नियमन गर्नुपर्ने सुझाव दिइन्।
प्रतिनिधि सभा सदस्य ईश्वरी घर्तिले सरकारी लगानीको प्रभावकारिता मूल्यांकन गर्नुपर्ने बताए। उनका अनुसार निजी मेडिकल कलेजले पनि चिकित्सक उत्पादनमा महत्वपूर्ण योगदान दिएका छन्।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भूसालले आयोगलाई पुनःसंरचना गर्दै नेपाललाई चिकित्सा शिक्षा ‘हब’ बनाउनुपर्नेमा जोड दिए। उनले छात्रवृत्तिमा दुई वर्ष सेवा गर्न पठाइएका चिकित्सकहरू कहाँ गएका छन् भन्ने खोजी गर्नुपर्ने र चिकित्सकको पलायन रोक्न उचित अवसर र पारिश्रमिकको व्यवस्था आवश्यक भएको बताए।
काठमाडौँ विश्वविद्यालयका प्रा.डा. मनोज हुमागाईंले सिट संख्या र शुल्क निर्धारणको आधार स्पष्ट हुनुपर्ने र विश्वविद्यालयलाई प्रवेश परीक्षा सञ्चालन अधिकार पुनः दिनुपर्ने धारणा राखे।
चिकित्सा शिक्षा आयोगका निर्देशक प्रा.डा. सुजनबाबु मरहठ्ठाले गुणस्तर र आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन आयोगको उद्देश्य भएको उल्लेख गर्दै, नयाँ पाठ्यक्रम, मापदण्ड र परीक्षा प्रणाली व्यवस्थित गर्न तयारी भइरहेको जानकारी दिए।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष सुवोधकुमार शर्माले लाइसेन्स परीक्षामा नतिजा खस्कनु चिन्ताजनक भएको भन्दै गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताए।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा. भूपेन्द्र बस्नेतले जनशक्ति पर्याप्त भइसकेकाले अब गुणस्तरमा ध्यान दिनुपर्ने र विदेशी बजारलाई लक्षित गर्नुपर्नेमा जोड दिए।
निजी मेडिकल तथा डेन्टल कलेज एसोसिएसनका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले संकाय अभाव रहेको भन्दै आयोग र मन्त्रालयबीच तालमेल हुनुपर्ने बताए। उनले पाँच हजार भारतीय विद्यार्थी ल्याएर नेपालमा चिकित्सा पर्यटन फस्टाउन सकिने र करोडौं रुपैयाँ आम्दानी गर्न सकिने दाबी गरे।
एसोसिएसनका उपाध्यक्ष डा. बुद्धिमान श्रेष्ठले निजी क्षेत्र सेवामुखी भावनाका साथ लगानी गरिरहेको बताए। कोषाध्यक्ष शान्तराज बतासले भारतको प्रणालीअनुसार पास भएका विद्यार्थी नेपाल ल्याएर आन्तरिक आम्दानी र पर्यटन वृद्धि गर्न सकिने र वार्षिक एक खर्ब रुपैयाँसम्म भित्र्याउन सकिने दाबी गरे।
क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस