सियरा लियोनको घटनाको झल्को दिने गरी पशुपतिमा शवबाट हड्डी निकालियो

काठमाडौं। पश्चिम अफ्रिकी मुलुक सियरा लियोनमा शवबाट हड्डी निकाल्ने घटना बढेपछि राष्ट्रपतिले संकटकाल नै घोषणा गर्नु परेको थियो। मानव हड्डीबाट तयार हुने साइकोएक्टिभ औषधि (जोम्बी ड्रग्स र कुश भनिने लागूऔषध (नशा)का लागि प्रयोग हुने) बनाउन भटाभट चिहानहरू खनेर हड्डी निकाल्न क्रमले व्यापक रूप लियो। मानव हड्डी जोम्बी ड्रग्सका लागि चिहान खन्न प्रतिस्पर्धा चलेपछि पुलिस अधिकारीहरूले फ्रीटाउनमा चिहानहरूको सुरक्षा गर्नु परेको थियो।
लागुऔषध प्रयोगकर्तालाई महँगो मूल्योमा बिक्री गर्नका लागि जोम्बी ड्रग्स व्यापारीहरू हजारौं चिहानहरू तोडेर र कंकालहरू चोरेर चिहान लुटेरामा परिणत भएपछि सियरा लियोनका राष्ट्रपति जुलियस माडा बायोले देशमा संकटकाल नै घोषणा गरेका थिए।
राष्ट्रपनि बायोले देशमा लागूपदार्थको दुरुपयोग बढेको भन्दै विशेष लागूऔषध उन्मूलन गर्न कार्यदल बनाएको थियो। चिहान खनेर शवको हड्डी निकाल्ने आतंक रोक्न सुरक्षाकर्मी परिचालन गरेको घटनाको झल्को दिने गरी पशुपति आर्यघाटमा त्यस्तै प्रकृतिको घटना भएको छ। आर्यघाटमा जलिरहेको शवको हड्डी र मासु बिक्री गरेको आरोपमा शव जलाउन खटिएका कर्मचारी (घाटे) गणेश ढकाल पक्राउ परेका छन्। गौशाला प्रहरीले ढकालका एक सहयोगीलाई समेत नियन्त्रणमा लिएको हो।
शुक्रबार काभ्रेका मृतक रामबहादुर शाहीको जलिरहेको शवबाट हड्डी र मासु निकालेर कार्टुनमा प्याक गर्दै गरेको अवस्थामा आफन्तले समातेर प्रहरीलाई जिम्मा लगाएका थिए। प्रहरीले पाँच सय रुपैयाँमा शवबाट हड्डी र मासु निकालेर बेचिएको दाबी गरेको छ। ढकालले चार सय रुपैयाँ र उनका सहयोगीले एक सय रुपैयाँ लिएर जलिरहेको शवको मासु र हड्डी निकालेर दिएको प्रहरीको भनाइ छ। उक्त विषयमा प्रहरीले प्रारम्भिक अनुसन्धान गरिरहेकाले थप कुरा खुलेको छैन। एक वर्ष अगाडि सियरा लियोनमा लागुऔषध दुर्व्यसनका लागि चिहानबाट हड्डी निकाल्ने घटना जस्तै नेपालमा पनि शवबाट हड्डी र मासु निकाल्ने घटना देखा परेको हो।
शवको हड्डीबाट सियरा लियोनमा जस्तै नेपालमा पनि लागुऔषध बनाउने काम त भएको छैन यो पनि खोजीको विषय बनेको छ। पशुपतिको आर्यघाट क्षेत्रमा लागुऔषध दुर्व्यसनीमा संलग्न युवाको जमात ठूलो देखिन्छ। उक्त क्षेत्र लागुऔष प्रयोगकर्ताका लागि सुरक्षित बन्दै गएको छ। तर, सुरक्षा निकायको ध्यान पुग्न सकेको छैन। शबबाट हड्डी र मासु नै निकालेर बेच्न थालेपछि बाध्य भएर प्रहरीले हस्तक्षेप गरेको छ। तर यतिले मात्र आर्यघाटमा भएको घटना रोक्नका लागि पर्याप्त कदम देखिँदैन। उक्त क्षेत्रमा भइरहेका विकृति र विसङ्गतिप्रति प्रहरीले विशेष निगरानी नबढाए यस्ता घटना दोहोरिरहन्छ।
पशुपतिमा भेटी चोरीदेखि शवबाट हड्डी चोरीसम्मका घटना
पशुपतिनाथ मन्दिरमा भेटी चोरीको घटना सेलाउन नपाउँदै शवबाट मासु र हड्डी चोरीको घटना बाहिरिएको छ। गत जेठमा पशुपतिमा भेटी चोरी गरेको देखिएपछि प्रहरीले काठमाडौं जिल्ला अदालतमा डाँका चोरी मुद्दा नै दर्ता गरेको थियो। पशुपति क्षेत्र विकास कोषमा कार्यरत नायब सुब्बा नवराज ढोडारी, कोषका ब्राह्मण नवराज घिमिरे, बाजा बजाउने कर्मचारी अनिल परियार, कुमार दमाईं परियार, सञ्जय कपाली त्यस्तै सत्यनारायण जोशीलाई भेटी चोरीको अभियोगमा प्रहरीले डाँका चोरी मुद्दा लगाएको थियो। उनीहरूमध्येका केहीले कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको निर्देशनमा उक्त काम गरिएको समेत प्रारम्भिक बयानमा भनेका थिए। तर, प्रहरीले कोषाध्यक्षलाई उन्मुक्ति दिएर अन्यलाई मात्र डाँका चोरी मुद्दा लगायो। उक्त घटना घटेको एक वर्षपछि फेरि पशुपतिमा शवबाट हड्डी र मासु चोरेको तथ्य सार्वजनिक भएको छ। यो विषयले पशुपति क्षेत्रमा कस्तो-कस्तो बदमासी हुन्छ भन्ने तथ्यलाई उजागर गरेको छ। प्रहरीले भेटी चोरीको जस्तो कमजोर अनुसन्धान शवको हड्डी र मासु चोरीमा गरेर फितलो मुद्दा दायर गर्नु हुँदैन भन्ने आवाज उठ्न थालेको छ। यो विषयमा कोष कै उपल्लो तहका जिम्मेवार पदाधिकारी जोडिएपनि अनुसन्धानको दायरामा ल्याएर यस्ता घटना दोहोरिन नदिन प्रहरीले विशेष भूमिका खेल्न जरूरी देखिन्छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस