बालाजुस्थित प्राचीन गुरू नानक मठको पहिचान मेट्ने प्रयास

काठमाडौं । काठमाडौँको बालाजुमा रहेको प्राचीन गुरू नानक मठको पहिचान मेट्ने निरन्तर प्रयास भइरहेको छ। प्राचीन गुरू नानक मठलाई पछिल्लो समय सिद्धाश्रम उदासीन मठका रूपमा चिनाउने प्रयास भइरहेको छ। पछिल्लो समय उक्त मठलाई सिद्धबाबा (कृष्ण दास गिरी)को नामले सिद्धाश्रम उदासीन मठमा रूपान्तरण गर्ने निरन्तर प्रयास भइरहेको पाइएको हो। उक्त ठाउँमा प्राचीन गुरू नानक मठ लेखिएको पुरानो बोर्ड हटाइनु, सिद्धबाबाका नामले परिचित कृष्ण दास गिरीको आश्रयस्थल बनाइनु र फाटफुट रूपमा सिद्धाश्रम उदासीन मठका रूपमा बजारमा नाम आउनुले त्यो कुराको पुष्टि गर्छ। चतराका सिद्धबाबा निकट नोबेल किशोर दास उक्त मठको महन्त हुनुले पनि त्यो कुरामा बल पुगेको हो।
दासले भने आफ्नो नियत त्यस्तो नभएको र मिडियाले गलत लेखिदिएको दाबी गरे। प्राचीन गुरू नानक मठको पहिचान मेट्न आफू सक्रिय नरहेको उनको स्पष्टोक्ति रहेको छ।
नोबेलकिशोर उदासीन सम्प्रदायबाट दीक्षित व्यक्ति हुन् कि होइनन् भन्नेमा पनि विवाद देखिन्छ। स्वास्थ्य लाइभसँगको कुराकानीमा उनले नेममुनी उदासीनबाट आफू दीक्षित भएको बताए। श्री पञ्चायती अखडा बडा उदासीन मुख्य कार्यालय इलाहाबादबाट पञ्च गुरूको सम्मुखमा दिक्षा दिने परम्परा छ। त्यो प्रक्रिया पूरा भए/नभएको पनि खोजीको विषय हो। सिद्धाश्रम उदासीन मठका रूपमा उक्त मठलाई रूपान्तरण गर्न नोबेलेकिशोरको भूमिका रहेको आरोप लाग्दै आएको छ। तर, उनले त्यो आरोपलाई अस्वीकार गरेका छन्।
उक्त मठमा आज भन्दा ४१८ वर्ष अगाडि विक्रम सम्वत् १६६४ मा तीन जना महायोगीले जीवित भू-समाधि लिएको ईतिहास छ। एकै दिन तीनजना योगीले समाधि लिएको दुर्लभ संयोग सोही स्थानमा भएकोले पनि उक्त मठको महत्त्व बढेको छ। त्योभन्दा पहिला गुरू नानक देव आएर बसेकाको उक्त मठको नाम प्राचीन गुरू नानक मठ रहेको हो। उक्त ठाउँमा राखिएको पुरानो बोर्ड हट्नु र सिद्धबाबाको दबदबा बढ्नुले प्राचीन गुरू नानक मठको पहिचान मेटिने खतरा बढेको छ। प्राचीन गुरू नानक मठको अस्तित्व जोगाउन गुठी संस्थानले विशेष भूमिका खेल्नुपर्ने देखिन्छ। नत्र प्राचीन गुरू नानक मठ रातारात सिद्धाश्रम उदासीन मठ नहोला भन्न सकिन्न।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस