नेपालमा पहिलोपटक सुरु भएको नवजात शिशु स्क्रिनिङबाट १,८०० शिशु लाभान्वित

काठमाडौं । नेपालमा पहिलोपटक सुरु गरिएको नवजात शिशु स्क्रिनिङ सेवाबाट एक वर्षमा १,८०० शिशुले प्रत्यक्ष लाभ लिएका छन्।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले देशमै पहिलोपटक नवजात शिशुहरूमा जन्मजात रोग र विकलाङ्गता समयमै पहिचान गरी उपचार सम्भव बनाउन यो सेवा सुरु गरेको हो। अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीको अग्रसरतामा सुरु भएको नियोनेटल स्क्रिनिङले नेपालको स्वास्थ्य क्षेत्रमा नयाँ सम्भावना उजागर गरेको छ।
यसअघि यस्तो परीक्षणका लागि महँगो खर्च गरेर नमुना भारत पठाउनुपर्ने बाध्यता थियो। तर, सेवा सुरु भए पनि धेरै बिरामी र उनीहरूका आफन्तलाई यसको जानकारी छैन। जानकारी भएका केही अस्पतालहरूले समेत नेपालमै सस्तो मूल्यमा परीक्षण हुने सुविधा उपलब्ध हुँदाहुँदै महँगो शुल्क लिएर भारत पठाउने प्रवृत्ति अझै जारी छ।
डा. अधिकारीका अनुसार वंशानुगत रोग पहिचानका लागि हाल सातवटा रोगको परीक्षण हुँदै आएको छ। यसका लागि ४,५०० रुपैयाँ खर्च लाग्छ, जबकि भारतमा यही परीक्षणको लागत करिब ७,००० रुपैयाँ पर्छ।
अस्पतालका अनुसार, नवजात शिशुको स्वास्थ्य परीक्षणबाट शिशु मृत्युदर घटाउन महत्वपूर्ण योगदान पुगेको छ। सरकारी स्वास्थ्य सेवामा यो कार्यक्रम एक महत्वपूर्ण माइलस्टोन सावित भएको छ। जन्मजात रोग र विकलाङ्गता समयमै पहिचान गरी उपचार सम्भव बनाउने यो पहलले शिशुहरूको स्वस्थ भविष्य सुनिश्चित गर्न सहयोग पुर्याएको छ।
अस्पतालको प्याथोलोजी विभागले अत्याधुनिक प्रविधिमार्फत हर्मोन टेस्ट, बायोप्सी, पाठेघरको मुखको क्यान्सर पहिचानका लागि एलबीसी (Liquid Based Cytology) र एचपीभी स्क्रिनिङजस्ता सेवा पनि प्रदान गर्दै आएको छ। यी सबै न्यून शुल्कमा उपलब्ध छन्, जसले सर्वसाधारणलाई गम्भीर रोगको समयमै पहिचान र उपचारमा सहजता दिएको छ।
त्यसैगरी म्यामोग्राम, अल्ट्रासाउन्ड, एनोमली स्क्यान, मेटरनल र फेटल इको, तथा सीटी स्क्यानजस्ता सेवा उपलब्ध भएसँगै अस्पतालको डायग्नोस्टिक क्षमता अझ सुदृढ भएको छ।
वि.सं. २०१६ मा ४० शैय्याबाट सुरु भएको यो अस्पताल हाल ४१५ स्वीकृत र ४८९ सञ्चालित शैय्यासहित नेपालको केन्द्रीय रिफरल अस्पतालको रूपमा स्थापित छ। हाल कुपण्डोलस्थित नयाँ भवनबाट सुरक्षित गर्भपतन, परिवार नियोजन, आईभीएफ (IVF), आईयूआई (IUI), रेडियोलोजी, फार्मेसी तथा तालिम सेवासहित मानसिक स्वास्थ्य ओपीडी, २० शैय्याको एनआईसियु (NICU), अब्स्टेट्रिक फिस्टुला उपचार, सिमुलेशन ल्याब, र बर्थिङ सुइट्स (Birthing Suites) सञ्चालनमा छन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस