परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६६औँ वार्षिकोत्सव: ५०० शैय्यामा विस्तार गर्ने मन्त्री पौडेलको घोषणा

काठमाडौँ । नेपालको मातृशिशु स्वास्थ्य सेवामा अग्रणी भूमिका निर्वाह गर्दै आएको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आफ्नो ६६औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ।
शनिबार काठमाडौँमा आयोजित विशेष समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालको सेवालाई थप सुदृढ बनाउन ११ शैय्या थप गर्ने घाेषणा गरे । हाल अस्पताल ४८९ शैय्या संचालनमा छ ।
अस्पतालले काठमाडौँका दुई नगरपालिकामा २५/२५ शैय्याको स्याटेलाइट प्रसूति अस्पताल स्थापना गर्ने सम्झौता भएको जनाएको छ । यो योजनाले उपत्यकाको बढ्दो स्वास्थ्य सेवा मागलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ।
वार्षिकोत्सव समारोहमा अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले गत आर्थिक वर्षमा २१ हजारभन्दा बढी प्रसूति गराइएको र २ लाख ३३ हजारभन्दा बढी बिरामीले बहिरंग सेवाबाट लाभ लिएको तथ्याङ्क प्रस्तुत गरे। उनले अस्पतालले पछिल्लो समय दुरबिन प्रविधिबाट हुने स्त्रीरोग शल्यक्रिया, गर्भवतीका लागि मानसिक स्वास्थ्य ओपिडी र फेटल तथा मेटर्नल इको सेवा जस्ता नवीन सेवाहरू विस्तार गरेको बताए। यी सेवाले रिफरल दर घटाउन उल्लेखनीय योगदान पुर्याएको उनको भनाइ थियो।
हालै पुनः सञ्चालनमा आएको आईभीएफ सेवाले निःसन्तान दम्पतीका लागि ठूलो आशा जगाएको र नियोनेटल स्क्रिनिङ तथा ह्युमन मिल्क बैंक जस्ता कार्यक्रमले नवजात शिशुको मृत्युदर घटाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत लैंगिक हिंसापीडितका लागि एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी), दुर्गम क्षेत्रका महिलाका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हवाई उद्धारपछिको उपचार र गरिब तथा विपन्नका लागि सामाजिक सुरक्षा इकाइमार्फत निःशुल्क उपचार प्रदान गर्दै आएको छ।
वार्षिकोत्सवले अस्पतालको विगतका उपलब्धिलाई सम्मान गर्नुका साथै भविष्यमा मातृशिशु स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धतालाई उजागर गरेको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस