लगातार सिडिओ बनेर चौथो जिल्ला ओखलढुङ्गा पुगेका मेखबहादुर मंग्राती

काठमाडौं। मेखबहादुर मंग्राती लगातार ४ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बन्न सफल भएका छन्। पाँचथर, सप्तरी, जाजरकोट हुँदै उनी ओखलढुङ्गाको सिडिओ बन्न पुगेका हुन्। दलित ‘कोटा’मा ‘ह्याट्रिक’ हान्दै सहसचिव बनेका मंग्राती सिडिओमा पनि ‘ह्याट्रिक’ हानेर एक कदम अगाडि बढेका छन्। उनी चौथो जिल्लाको कमाण्ड सम्हाल्न ओखलढुङ्गा पठाइएका हुन्।
नायब सुब्बा, शाखा अधिकृत र सहसचिवमा दलित ‘कोटा’बाट माथि उक्लिएका मंग्राती सिडिओको रूपमा भने राम्रै काम गर्नेमा पर्छन्। २०७८ कात्तिकमा दलित कोटाबाट सहसचिव बनेका मेखबहादुर २०७९ चैत १९ मा पाँचथरको प्रमुख जिल्ला अधिकारी बनेर गएका थिए। पाँचथरको सिडिओ भएर एक वर्ष बढी बसेपछि उनी २०८१ जेठ १८ गते त्यहाँबाट बिदाई भएर सप्तरीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न पुगेका थिए। २०८१ जेठ २४ गते सप्तरीको प्रमुख जिल्ला अधिकारी हाजिर भएका मेखबहादुर करिब ६ महिना बसेपछि जाजरकोट सरूवा भएका थिए। मेखबहादुरको जाजरकोट सरुवासँगै उनी सिडिओमा ‘ह्याट्रिक’ हान्ने सूचीमा दर्ज भइसकेका छन्।
२०८१ कार्तिक २२ गते जाजरकोटको सिडिओमा हाजिर भएका मेखबहादुर मंग्राती ओखलढुंगाको सिडिओ भएर गएका छन्। २०८१ फाल्गुन २५ हाजिर भएका ओखलढुंगाका सिडिओ विजयराज सुवेदी ५ महिनामै सरूवा भएर धादिङको सिडिओमा पुगेका हुन्। सुवेदीलाई धादिङ ल्याएर मंग्रातीलाई ओखलढुङ्गा पठाइएको हो।
२०४३ सालमा सिन्धुलीको कमलमाई नगरपालिका वडा नम्बर ४ मा जन्मिएका मेखबहादुर खरिदारबाट निजामती सेवामा प्रवेश गरेका हुन्। खरिदार सरहको गाउँ विकास समितिको सचिव बनेर निजामती सेवामा प्रवेश गरेका मेखबहादुर २०६६ पुसमा दलित कोटाबाट नायब सुब्बा बने। त्यसपछि ०६७ कार्तिकमा दलित कोटाबाटै शाखा अधिकृत भएका उनी दलित कोटाबाट संसद् सेवाको उपसचिवको लिखितमा नाम निकाले पनि अन्तर्वार्तामा असफल भए। २०६७ कार्तिकमा दलित कोटाबाट शाखा अधिकृत बनेका मेखबहादुर त्यसको ११ वर्षपछि २०७८ साल कार्तिकमा दलित कोटाबाटै नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहको सहसचिव बनेका थिए। यसरी दलित कोटाबाट ‘ह्याट्रिक’ हानेर सहसचिव बनेका मेखबहादुर सिडिओ भएर लगातार पाँचथर, सप्तरी, जाजरकोट हुँदै ओखलढुङ्गा जाने भएका छन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस