पशुपति क्षेत्र विकास कोषका कर्मचारीले सहकारी खोलेर गरिरहेको व्यापार


काठमाडौं। सरकारी कर्मचारी वा सार्वजनिक संस्थानमा काम गर्ने कर्मचारीले व्यक्तिगत रूपमा वा समूहसँग मिलेर प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै पनि व्यापार व्यवसाय गर्न मिल्दैन, पाइँदैन। तर, पशुपति क्षेत्र विकास कोषका कर्मचारीले संगठित रूपमा सहकारी खोलेर व्यापार, व्यवसाय गरिरहेको पाइएको छ। पशुपति सेवा उपभोक्ता सहकारी संस्था लिमिटेड खोलेर पशुपति क्षेत्र विकास कोषका कर्मचारीले १२ वर्षदेखि पाशुपत क्षेत्रमा व्यपार/व्यवसाय गर्दै आएको पाइएको हो।

पशुपति क्षेत्र विकास कोषका कर्मचारी मिलेर २०६९ पौषमा खोलिएको पशुपति सेवा उपभोक्ता सहकारी संस्था लिमिटेडले घाट, विद्युतीय शवदाह गृह र क्रियापुत्री सेवा केन्द्रमा सहकारी पसल सञ्चालन गरेर व्यापार गर्दै आएको पाइएको हो। उक्त सहकारी ४ वर्षदेखि नवीकरण नै नभइ चलिरहेको पाइन्छ। पशुपति क्षेत्र विकास कोषका कर्मचारीले खोलेको सहकारी नवीकरण नगरी पाशुपत क्षेत्रभित्र व्यापार गरिहँदा पनि काठमाडौं महानगरपालिकाको सहकारी विभाग मुकदर्शक बनेर बसेको देखिन्छ। अवैध रूपमा चलेको उक्त सहकारीलाई अनुगमन र कारवाही गर्ने हिम्मत काठमाडौं महानगरपालिकाको सहकारी विभागले गर्न सकेको छैन।

विद्युतीय शवदाह उपकरण खरिद भ्रष्टाचारमा परेर निलिम्बनमा परेका रेवतीरमण अधिकारी समेत उक्त सहकारीको अध्यक्ष भएर काम गरिरहेको तथ्य फेला परेको छ।

कोषका कर्मचारी मिलेर सहकारीको नाममा पाशुपत क्षेत्रभित्र व्यापार गरिरहँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्रदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोग समेत मौन देखिन्छन्। कतै उनीहरूसँग कै सेटिङमा पशुपति क्षेत्र विकास कोष कर्मचारीले पवित्र पाशुपत क्षेत्रमा व्यापार गरिरहेका त हैनन् भन्ने गम्भीर प्रश्न उठेको छ।

पशुपति क्षेत्र विकास कोषले क्रियापुत्री भवनको एउटा तला नै कौडीको भाउमा कर्मचारीले खोलेको सहकारीलाई व्यापार गर्न उपलब्ध गराएको छ। कोष कै कर्मचारीले खोलेको सहकारीबाट मात्र सामान किन्न बाध्य बनाएर कालाबजारी र एकाधिकार कायम हुँदा पनि वाणिज्य विभाग जस्ता निकायहरू अनदेखा गरिरहेका छन्।

पशुपति क्षेत्र विकास कोषका कर्मचारी मिलेर खोलेको पशुपति सेवा उपभोक्ता सहकारी संस्था लिमिटेडले अनियमित तरिकाले व्यपार गर्दा प्रधानमन्त्रीको अध्यक्षतामा रहेको सुशासन आयोग पनि चकमन्न छ। उक्त सहकारीमाथि आवश्यक छानबिन गरी व्यापार गर्ने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन आवश्यक देखिन्छ।

पशुपति सेवा उपभोक्ता सहकारी संस्था लिमिटेडका अध्यक्ष विजयमान राजभण्डारी अहिले नेपालमा नरहेको पाइन्छ। नवीकरण नै नगरी व्यापार गर्ने उक्त सहकारीका उपाध्यक्ष पूर्ण डंगोललाई कार्यवाहक अध्यक्ष तोकिएको छ। कोषाध्यक्ष ईश्वरबहादुर दवाडीले सहकारी मार्फत व्यापार गर्न सक्रियता देखाएका छन्। यो विषयमा बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ