जुन क्रियापुत्री भवनको पहिलो तलाबाट पशुपति क्षेत्र विकास कोषका कर्मचारीले मच्चाइरहेको ‘लुट’

काठमाडौं। पशुपति क्षेत्र विकास कोषका कर्मचारीले क्रियापुत्री भवनको पहिलो तलाबाट लुट मच्चाइरहेको पाइएको छ। कोषका कर्मचारीले पशुपति सेवा उपभोक्ता सहकारी संस्था लिमिटेड खोलेर व्यापार/व्यवसाय सञ्चालन गरी लुट मच्चाइरहेको पाइएको हो। पशुपति क्षेत्र विकास कोष अन्तर्गत कोषमा कार्यरत कर्मचारी, भण्डारी, द्वारपाले, रैरकमी सहकारी सञ्चालक समिति रही राजराजेश्वरीमा उक्त सहकारी १२ वर्षदेखि सञ्चालन गर्दै आएका छन्। उक्त सहकारीले एकाधिकार कायम गरी लुट मच्चाउँदै आएको पाइएको हो।
पशुपति क्षेत्र विकास कोषका कर्मचारीद्वारा सञ्चालित उक्त सहकारीले पशुपति राजराजेश्वरी, शवदाह गृह, आर्यघाटस्थित भष्मेश्वर १० नम्बर चिताको दक्षिण पश्चिमतर्फको भवन, क्रियापुत्री भवन, सुनुवाल, बच्छेलेश्वरीको उत्तरतर्फको पुरानो शव दर्ता गर्ने कार्यालयको भवनलगायत पशुपति क्षेत्रका अन्य स्थानमा व्यपार/व्यवसाय गर्दै आएको छ। कौडीको भाउमा पशुपति क्षेत्र विकास कोषको क्रियापुत्री भवनलगायतका संरचना भाडामा लिएर कोषका कर्मचारीले सञ्चालन गरेको सहकारीले व्यापार गर्दा समेत नियमनकारी निकायहरू वेखबर देखिन्छन्।
२०७८ साल असार मसान्तदेखि नवीकरण नभइ सञ्चालनमा रहेको कोषमा कर्मचारीद्वारा सञ्चालित सहकारीले कालाबजारी गरिरहँदा समेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वाणिज्य विभागदेखि काठमाडौं महानगरपालिका समेत मौन रहेको पाइन्छ। यसले ‘कात्रोमा कमिसन’ खानेलाई प्रोत्साहन मिलिरहेको देखिन्छ।
पशुपति क्षेत्र विकास कोषको क्रियापुत्री भवनमा रहेका ४४ वटा कोठा मध्ये २ वटा हल पशुपति सेवा उपभोक्ता सहकारी लिमिटेडले कौडीको भाउमा कब्जा गरेको पाइन्छ। उक्त क्रियापुत्री भवनको हल रहेको कोठा नम्बर ३४ र ३५ १२ औं र १३ औं दिनको पितृप्रसाद खान तथा मलामी चोख्याउनका लागि प्रयोग हुँदै आएको थियो। उक्त हल समेत पशुपति क्षेत्र विकास कोषका कर्मचारीद्वारा सञ्चालित सहकारीले कौडीको भाउमा कब्जा जमाएपछि सुमार्मी भवनमा गएर मृतकका परिवार लुटिन बाध्य भएका छन्। २०७१ पुसदेखि कोषका कर्मचारीहरू मिलेर खोलेको सहकारीले क्रियापुत्री भवनका दुईवटा हल प्रयोग गरेर व्यापार गर्न थालेका हुन्।
क्रियापुत्रीले उक्त हल प्रयोग गरेबापत प्रतिदिन ९ सय रुपैयाँ दरले कोषले रकम असुल्दै आएको थियो। स्वास्थ्य लाइभलाई प्राप्त पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्को क्रियापुत्री सेवा केन्द्रको भर्पाई नम्बर ४२३२ नम्बरबाट समेत त्यो कुरा प्रस्ट हुन्छ। तर, कोषका कर्मचारीले उक्त हल कौडीको भाउमा लिएर महँगोमा व्यापार र कालाबजारी गर्दै आएको तथ्यले पुष्टि गर्छ।
पशुपति सवा उपभोक्ता सहकारी संस्थाका माध्यमबाट प्रत्येक सदस्य र गरिव जनसमुदायलाई सरल र सहज वातावरणमा दैनिक उपभोग्य वस्तु सस्तो मूल्यमा उपलब्ध गराई समाजमा कृत्रिम अभाव, अनियन्त्रित मूल्य र कम गुणस्तरयुक्त सामानहरूबाट सर्वसाधारण उपभोक्तामा पर्न गएको असरलाई न्यूनीकरण तथा सदस्यहरूबाट उत्पादित वस्तु तथा सेवाको उचित बजार व्यवस्था गर्ने भनिएको छ। तर, प्रस्तावना र उद्देश्यविपरीत उक्त सहकारीले पशुपतिको क्रियापुत्र सेवा केन्द्रमा सदस्य र गरिब जनसमुदायलाई देखाइ एकलौटी ढंगले व्यापार/व्यवसाय गर्दै आएको पाइन्छ।
संस्थाको विनियमको परिच्छेद २ दफा ७ मा उल्लेख भएको उद्देश्य र कार्य अन्तर्गत उद्देश्यमा उत्पादन र उपभोक्ताबीचको मूल्य अन्तरलाई न्यूनीकरण गर्दै सदस्यहरूलाई सुपथ मूल्यमा उपभोग्य सामग्रीहरू उपलब्ध गराउने भन्ने छ। तर, बजारमा उपलब्ध मूल्यको दोब्बर मूल्यमा सहकारीले कारोबार गर्दै आएको छ। पशुपति क्षेत्रभित्र एकाधिकार कायम गरेर उक्त सहकारीले मृतकका आफन्त (क्रियापुत्री)माथि कालोबजारी गरिरहेको खुल्न आएको हो। उक्त सहकारीले मृतकका आफन्तलाई अस्तु लिनका लागि भनेर छुट्टै रकम लिएर पीडितमाथि ठगी गरिरहेको समेत आरोप लागेको छ।
पवित्र पाशुपत क्षेत्रका कर्मचारीद्वारा सञ्चालित सहकारीमाथि लागेका आरोपहरू
अख्तियार दुरूपयोग अनुसन्धान आयोग दर्ता भएको उजुरीमा पशुपति सेवा उपभोक्ता सहकारी संस्था लिमिटेडका विभिन्न अनियमितताहरू उल्लेख गरिएको छ। तर, अख्तियार उक्त अनियमितताका विषयमा कुनै एक्सन लिएको पाइँदैन। अख्तियार यति गम्भीर विषयमा समेत असंवेदनशील देखिनुले पशुपति क्षेत्र विकास कोषभित्र ‘कात्रोमा कमिसन’को खेल मौलाइरहेको छ। तर, जिम्मेवारी पदमा बसेका पदाधिकारी ‘पापी’ बनेर मुकदर्शक बन्दा मृत आत्मले समेत शान्ती पाउन नसक्ने गरी कोषका कर्मचारीद्वारा सञ्चालित सहकारीले लुटिरहेको पाइन्छ। यसले अख्तियारको भूमिकामाथि समेत गम्भीर पश्न खडा भएको छ।
-खरिद बिलमा प्रमाणित गर्ने अधिकार संस्थाका उपाध्यक्षलाई जिम्मेवारी दिइएकोमा बिल प्रमाणितबिना भुक्तानी गर्ने गरेको,
-संस्थाको विनियम २०६९ को दफा ३६ मा लेखा समितिको काम, कर्तव्य र अधिकार संस्थाको आन्तरिक लेखा परीक्षण गर्ने र समितिलाई सुझाव दिने उल्लेख भएपनि अहिलेसम्म समितिलाई त्यस्तो कुनै जिम्मेवारी नदिइएको,
-संस्थाको विनियम २०६९ को परिच्छेदको दफा ४५ को उपदमा ५ मा लेखा परीक्षक नियुक्त गर्दा डिभिजन सहकारी कार्यालय, काठमाडौंमा प्रत्येक आर्थिक वर्षको लागि सूचीकृत भएको रजिष्ट्रर्ड लेखापरीक्षकलाई मात्र गर्नु पर्नेमा उक्त प्रावधानको पालना नभएको,
-संस्थाको आर्थिक क्रियाकलापलाई व्यवस्थित गर्न र आर्थिक सुशासन कायम गर्न आर्थिक प्रशासन उप-विनियम बनाई स्वीकृतिका लागि साधारण सभामा पेस गर्ने र स्वीकृत भए बमोजिम कार्यान्वयनमा ल्याउन विनिमयमा उल्लेख भएतापनि अहिलेसम्म विनियम नबनाएको,
-सहकारीको लागि कोठा भाडामा लिदा प्रक्रिया पुऱ्याई भाडामा लिनुपर्नेमा एक व्यक्तिसँग मात्र कोठा भाडामा लिने गरेका,
– सहकारीको विनियम २०६९ को परिच्छेद १० को दफा ४७ को उपदफा ५ मा कोषको खाता सञ्चालन समितिको अध्यक्ष, प्रबन्धक सञ्चालन वा व्यवस्थापकको संयुक्त दस्तखत हुने भनि उल्लेख भएतापनि प्रबन्धक सञ्चालक र व्यवस्थापकको व्यवस्था नगरी अध्यक्ष, सचिव र कोषाध्यक्षको दरखास्तबाट खाता सञ्चालन गरिएको,
-दफा ४३ मा सञ्चालक समिति र लेखा समितिको निर्वाचन उपदफा ८ मा एकाघर परिवारका एकभन्दा बढी व्यक्ति एकै अवधिमा सञ्चालकको पदमा बहाल रहन पाउने छैनन् भनि व्यवस्था रहेकोमा उक्त प्रावधानको पूर्ण रुपमा पालना नभएको,
यस्ता विभिन्न प्रकारका अनियमित कार्यहरू पशुपति सेवा उपभोक्ता सहकारी संस्था लिमिटेडले गर्ने गरेको र सहकारी संस्थाका सञ्चालक समितिले साधारण सेयर सदस्यहरूलाई भ्रममा पारी वर्षभरि गरिएका अनियमित गतिविधिहरूलाई नियमित गराउने उद्देश्यले गर्न लागिएको साधारण सभा समेत स्थगित गराइएको विषयको उजुरी समेत अख्तियारलगायत विभिन्न निकायमा पुगेको पाइन्छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग, काठमाडौं महानगरपालिकालगायत विभिन्न ठाउँमा उक्त सहकारीको अनियमितको विषयमा गुनासो पुगेपनि अहिलेसम्म कुनै एक्सन लिएको पाइँदैन। यसले सहकारीको मनोमानीलाई अझै बढवा दिने काम गरेको पाइन्छ। यो विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरूरी छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस