शोभाकान्तले लेखा उपसचिव लोक सेवा पठाउन सकेनन्, परराष्ट्रदेखि बबईसम्म जाने उपसचिवको सूची सार्वजनिक

काठमाडौं। महालेखा नियन्त्रक शोभाकान्त पौडेल लोक सेवा आयोगमा लेखा उपसचिव पठाउन असफल भएका छन्। लेखा उपसचिव हिरा न्यौपानेदेखि रेजिना कोइरालासम्म लोक सेवा आयोग जान चर्को लबिइङमा लागेपछि शोभाकान्तले निर्णय गर्न नसकेका हुन्। उनी लोक सेवा आयोगमा उपसचिव पठाउन नसकेर असफल भएको चर्चा सुरू भएको छ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी ‘नाईं मलाई त्यहिँ कर्मचारी’ चाहिन्छ भन्ने शैलीमा उत्रिएपछि शोभाकान्त अनिर्णयको बन्दी बनेका छन्। लोक सेवा आयोगका अध्यक्ष रेग्मीसामु उनी निरीह बनेको चर्चा महालेखा नियन्त्रक कार्यालयमा चल्न थालेको हो।
लोक सेवा आयोगले आफूलाई निष्पक्षता र योग्यता प्रणाली को हिमायति ठान्ने गरेपनि लेखाका उपसचिवको सरूवा प्रसंगमा यसको धज्जी उडाउन थालिएको चर्चा सर्वत्र चल्न थालेको छ। यस अघि स्वास्थ्य लाईभले लोक सेवा आयोगको केन्द्रीय कार्यालय जान लेखाका उपसचिवको मारामार चलिरहेको समाचार प्रकाशित गरेको थियो। ५२ भाईको मुद्दामा सर्वोच्च अदालतले ‘अभय दान दिएपछि’ लोक सेवा आयोगका अध्यक्ष रेग्मीको शैली फेरिएको पाइन्छ। उनको कार्यशैलीका कारण महालेखा नियन्त्रक कार्यालय पीडित बन्न पुगेको चर्चा छ। हाटहुटे शोभाकान्त पनि लुटपुटिन पुगेका छन्।
लेखाका उपसचिवको सरूवामा किन अध्यक्षको हस्तक्षेप?
खासमा लेखा समूहको संचालन, व्यवस्थापन र खटनपटन महालेखा नियन्त्रकको कार्यालयबाट हुने कानूनी व्यवस्था रहेको छ। व्यत्तिको पिआइएस, जेष्ठता, क्षमता र सरूवा निर्देशिका बमोजिम लेखा समूहका कर्मचारीको सरूवा गर्न महालेखा नियन्त्रक कार्यालय स्वतन्त्र छ। तर, पछिल्ला दिनमा कर्मचारी सरूवामा यी संवैधानिक निकायको चासो, चलखेल, भनसुन र दवावले विकृति बढ्न थालेको बताईन्छ। के स्वार्थ पूर्तिका लागि लोक सेवा आयोगका अध्यक्षले मलाई जसरी पनि यहि कर्मचारी चाहियो भनेर पटकपटक दवाव दिईरहेका छन्। यस विषयमा खोजी गर्न जरूरी भएको छ।’, महालेखाका एक उच्च कर्मचारी भन्छन्, ‘केही स्वार्थ नभई मलाई यो कर्मचारी चाहियो वा उनीहरूको एग्रिमो लिनुपर्नै लोकसेवा जस्तो निष्पक्षताको दुहाई दिने संस्थालाई सुहाउने कुरा होइन। हामीले पठाएको कर्मचारीले नियमानुसारका काम नगरे वेग्लैकुरा हो। यदि त्यस्तो भएमा हामी विषयबस्तु बुझेर ती कर्मचारीलाई तुरुन्तै सरूवा गरिदिन्छौं। नत्र यो विसंगति र विकृतिको पराकाष्ठा हो।’,
अहिलेका महालेखा नियन्त्रक कार्यालयका सहमहालेखा नियन्त्रक दीपक लामिछाने लेखा उपसचिव हुँदा लोक सेवामा थिए। उनको २ वर्षे अवधी पूरा भएपछि मलेनिकाले निर्मल न्यौपानेको सरूवा गरेको थियो। तर उनै दीपकको जोडबलले निर्मललाई हाजीर नै नगराए पश्चात उनी मलेनिका फर्कि वाध्य भएका थिए। त्यस पश्चात एकपटक लोक सेवाका अध्यक्षको जानकारीमा ल्याएर सरूवा गर्ने कार्यको शुरुवात भएको महालेखा नियन्त्रक कार्यालयका अधिकारीहरू सुनाउँछन्।
अहिले आएर त पुरै हस्तक्षेप कै अवस्थामा रहेको र मलेनिका र तालुक अर्थ मन्त्रालय निरीह बनेको मलेनिका स्रोत बताउँछ। रोचक कुरा के छ भने उनै निर्मल न्यौपानेकी श्रीमति रेजिना कोईराला अहिले लोक सेवा जाने दौडमा छन्। कर्मचारीको मामलामा परामर्श दिने संस्थाकै प्रमूख सरूवामा हस्तक्षेप गरेर बसेको अवस्थामा सरकारले सुशासन कसरी देला भन्ने अवस्था सिर्जना भएको अर्थ मन्त्रालयका अधिकारीहरू टिप्पणी गर्छन्। लोक सेवाले आफ्ना मान्छे भन्दैन भन्ने कुरा कसरी पत्याउने। हेर्दै जाउँ लोक सेवाको यो रबैयाले लेखा समूहको सरूवामा मलेनिका र त्यसका जल्दावल्दा प्रमुख महालेखा नियन्त्रक शोभाकान्त पौडेलले कतिको विवेकको प्रयोग गर्छन्।
सरूवा पहिल्यै सूची अहिले
महालेखा नियन्त्रक कार्यालयले परराष्ट्र मन्त्रालयदेखि सडक विभागसम्मका लेखा उपसचिवको सरूवा सूची बल्ल सार्वजनिक गरेको छ।
परराष्ट्र मन्त्रालयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलका निजी सचिव मधुसुधन पौडेलको सरूवा भएको महिनौं बितेपछि सरूवा सूची सार्वजनिक भएको हो। उक्त सूची सार्वजनिक हुन मलेनिकाका कर्मचारी प्रशासन शाखा प्रमुख निरज केसीको बबई सिंचाई आयोजना, बर्दिया नै सरूवा हुनुपऱ्यो। परराष्ट्र, सडक, लोक सेवा ताकेका निरज अहिले बबईतिर हानिएका छन्। सडकमा रामचन्द्र शर्मालाई पठाएर विवादित रविन कोइरालालाई महालेखा नियन्त्रक कार्यालय सरूवा गरेको सूची सार्वजनिक गर्न पनि निकै सकस परेको पाइन्छ। दिल्ली दूतावासमा रहेका लेखा उपसचिव यदुनाथ भट्टराई मलेनिकाको पुलमा सरूवा भएका छन्। बबईका बसन्तराज सिग्देल पनि मलेनिकाको पुलमा तनिएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लेखा उपसचिव मुरारी निरौला कान्ती बाल अस्पताल, कोलेनिका अर्घाखाँचीका प्रमुख कोष नियन्त्रक विष्णुप्रसाद भुसाल शिक्षा मन्त्रालय, बाँकेका कोलेनिका प्रमुख मोहनशरण भण्डारी मलेनिका पुल र कोलेनिका पाल्पाका प्रमुख शशिन्द्र खाती अर्घाखाँची पठाइएका छन्। मलेनिकाको पुल दरबन्दीमा रहेका सर्वोदय उपाध्याय कोलेनिका बाँकेको प्रमुख कोष नियन्त्रक बनाएर पठाइएका छन्। त्यस्तै ठूलो संख्यामा लेखाका अधिकृतहरूको पनि सरूवा गरिएको सूची सार्वजनिक भएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस