केन्द्रीय कारागार सुन्धारामा खानेपानीको व्यवस्थापन, प्रदेश सांसद श्रेष्ठद्वारा एम्बुलेन्स उपलब्ध गराउने प्रतिबद्धता


काठमाडौं। सुन्धारस्थित केन्द्रिय कारागार कार्यालय(भद्रगोल जेल)मा खानेपानीको व्यवस्थापन गरिएको छ। बागमती प्रदेशका प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठको पहलमा केन्द्रीय कारागारमा खानेपानीको व्यवस्थापन गरिएको हो। उक्त खानेपानी ट्याङ्कीको बागमती प्रदेशका पूर्व संस्कृति तथा पर्यटन मन्त्री समेत रहेका श्रेष्ठले उद्घाटन गरेका हुन्।

केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवलका प्रमुख कृष्णबहादुर कटुवालको सक्रियता र प्रदेश सांसद श्रेष्ठको पहलमा बागमती प्रदेश सरकार भौतिक मन्त्रालयबाट ३५ लाख रुपैयाँ बजेट हालेर करिब ४ हजार कैदीबन्दीलाई शुद्ध खानेपानीको व्यवस्थापन गरिएको हो। उक्त बजेटबाट खानेपानीको ट्याङ्की निर्माण गर्नेदेखि शुद्ध खानेपानी नियमित आउने प्रबन्ध मिलाइएको कटुवाललले जानकारी दिए।

केन्द्रीय कारागारमा खानेपानीको व्यवस्थापन गर्न भूमिका खेल्ने प्रदेश सांसद श्रेष्ठ, काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हिरालल तण्डुकार ‘काका’ र वडा सदस्य सरोज मुल्मीलाई कारागार प्रशासनले सम्मान समेत गरेको छ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाल र कारागार व्यवस्थापन विभागका महानिर्देशक लिला प्रसाद शर्माद्वारा उनीहरूको सम्मान गरिएको हो।

सम्मान कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले कारागारलाई सुधार गृहमा परिणत गर्न भूमिका खेल्ने बताए। कैदीबन्दीलाई खानेपानीदेखि अन्य समस्या रहेको बताउँदै उनले उक्त कुराको व्यवस्थापन आफूहरू लागिपर्ने विश्वास दिलाए। कैन्दीबन्दीको सुत्ने, बस्नेदेखि खाने ठाउँको समेत चिन्ता व्यक्त गर्दै सांसद श्रेष्ठले त्यसलाई सुधार गर्न लागिपर्ने बताए।

जेलको छाना चुनेदेखि अन्य समस्या रहेको औल्याउँदै सांसद श्रेष्ठले आवश्यक बजेट व्यवस्थापन जुट्ने आश्वासन दिए। साथै सांसद श्रेष्ठले कारागार अस्पतालदेखि कैदीबन्दीलाई एम्बुलेन्स आवश्यक रहेको भन्दै एम्बुलेन्स उपलब्ध गराउन भूमिका खेल्ने प्रतिबद्धता जनाए।

कारागार व्यवस्थापन विभागका महानिर्देशक लिलाप्रसाद शर्माले केन्द्रीय कारागारमा खानेपानीको व्यवस्थापन गरेको भन्दै प्रदेश सांसद श्रेष्ठदेखि वडाध्यक्ष तण्डुकारसम्मलाई धन्यवाद दिए। सहअस्तित्व, समन्वय र सहकार्यबाट मात्र नेपालको संघीयता अघि बढ्न सक्ने भन्दै उनले कारागारलाई आवश्यक कुरा उपलब्ध गराएकोमा प्रदेश र स्थानीय तहको कदमलाई खुलेर प्रशंशा गरे। कमजोर पूर्वाधारका बाबजुद क्षमताभन्दा बढी कैदीबन्दीको व्यवस्थापन गर्न कारागार प्रशासनहरू सफल रहेको महानिर्देशक शर्माको भनाइ छ। कारागारलाई उचित व्यवस्थापन गर्न आफूहरू लागिरहेको शर्माले बताए।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रिजालले पनि केन्द्रीय कारागारमा खानेपानीको व्यवस्थापन गरेको भन्दै खुसी व्यक्त गरे। सबै मिलेर कारागारको व्यवस्थापनमा जोड दिनुपर्ने उनको भनाइ छ।

काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले कारागारलाई आवश्यक सहयोग गर्न आफूहरु सधै तयार रहेको बताए। उनले आगामी दिनमा पनि थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। केन्द्रीय कारागारका प्रमुख कटुवालले कारागार सुधार र व्यवस्थापनका लागि आफूले गरेको कामको फेहरिस्त प्रस्तुत गरेका थिए।

कार्यक्रममा कारागार अस्पतालकी प्रमुख मनिषा रावल, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज अधिकारी, उपत्यका प्रहरी कार्यालयका एसएसपी लगायतका उच्च पदस्हरूको उपस्थिति रहेको थियो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ