मुख्यसचिवसहित १ दर्जन उच्च पदस्थहरूको जागिर लम्ब्याउने खेलले खायो फेल

काठमाडौं। मुख्यसचिव एकनारायण अर्यालसहित उच्च पदस्थको एक वर्ष जागिर लम्बाउने गरी राष्ट्रिय सभामा भइरहेको चलखेलले फेल खाएको छ। राष्ट्रिय सभाको राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले सङ्घीय निजामती सेवा विधेयक, २०८० मा छलफलमा रहेको विधेयकमा चालू आर्थिक वर्षदेखि ५९ वर्ष उमेर हद पुऱ्याउने गरी प्रस्ताव आएको थियो। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले चालू आर्थिक वर्षमै एक वर्ष उमेर हद बढ्ने गरी ६० वर्षे अवकाशको प्रावधान कार्यान्वयन गर्न प्रस्ताव गरेकी थिइन्। त्यहिँ कारण समितिको बैठक निष्कर्षविहीन हुँदै आएको थियो। मंगलबार भने मन्त्री न्यौपाने आफ्नो अडानबाट पछि हटेपछि मुख्यसचिवसहित १ दर्जन उच्च पदस्थहरूको जागिर लम्ब्याउन खेलले फेल खाएको हो। चालू आर्थिक वर्षमा ५८ वर्षमै अवकाश हुने गरी सहमतिमा पुगेको छ।
प्रतिनिधि सभाले चालू आर्थिक वर्षमा ५८ वर्षमै अवकाश हुने गरी कानुन पास गरेर राष्ट्रिय सभा पठाएको छ। त्यसमा समेत आफ्नो स्वार्थमा एक वर्ष जागिर मुख्यसचिवसहित १ दर्जन उच्च पदस्थहरूको राष्ट्रिय सभामा फेरि चलखेल गर्दै आएका थिए। उनीहरूलाई मन्त्रीले नै साथ दिएकी थिइन्। मन्त्री नै ब्याक भएपछि हजारौं कर्मचारीको वृतिविकास चौपट हुनबाट जोगिएको छ।
५८ वर्ष उमेर हदका कारण ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका ऊर्जा हेर्ने सचिव सुरेश आचार्यले अनिवार्य अवकाश गएका छन्। मंगलबार काम गरेर गण्डकी प्रदेशका प्रमुख सचिव डा. खगेन्द्रप्रसाद सुवेदी पनि घर जाँदैछन्। सचिव सुवेदी ५८ वर्ष लागेर घर जाने तयारीमा छन्। उनको हकमा पनि मुख्यसचिवसहितका उच्च पदस्थको चलखेलको कुनै अर्थ थिएन। अब भने उनलाई पनि न्याय मिल्ने भएको छ।
सरकारले चालू आर्थिक वर्षमा अवकाशमा जान लागेका सहसचिवहरूलाई वरिष्ठता मिच्दै भटाभट सचिवमा बढुवा गरिरहेको छ। फेरि एक वर्ष उनीहरू कै जागिर लम्ब्याएर सरकारले वरिष्ठ सहसचिवहरूमाथि दोहोर अन्याय गर्न खोजिरहेको थियो। राष्ट्रिय सभाले उक्त खेललाई ‘ब्रेक’ लगाइदिएको हो।
तपाईको प्रतिक्रिया दिनुहोस