अवकाशमा गए सचिव डा. सुवेदी, विशिष्ट श्रेणीमा ३ पद खाली


काठमाडौं। गण्डकी प्रदेशका प्रमुख सचिव डा. खगेन्द्रप्रसाद सुवेदी ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाशमा गएका छन्। सचिवमा बढुवा भएकाे डेढ महिनामै डा. सुवेदी अनिवार्य अवकाशमा गएका हुन्। सुवेदी अवकाशमा गएसँगै निजामती सेवाको विशिष्ट श्रेणीमा तीन पद रिक्त भएको छ। प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव भरतमणि सुवेदीले राजीनामा दिएपछि उक्त पद खाली भएको थियो। आइतबारदेखि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्य पनि ५८ वर्ष पुगेर अनिवार्य अवकाशमा गएका छन्। आजबाट सुवेदीले पनि ठाउँ खाली गरिदिएका हुन्।

प्रशासनको सचिवमा बढुवाका लागि सहसचिवहरू डण्डुराज घिमिरे, कृष्णप्रसाद काप्री र बैकुण्ठप्रसाद अर्याल प्रतिस्पर्धामा छन्। इन्जिनियरिङ तर्फको सचिव बढुवाका लागि सहसचिवहरू चिरञ्जीवी चटौत, जगदिश्वर कर्माचार्य र नवीनराज सिंह प्रतिस्पर्धा छन्। प्रशासनको सचिवमा घिमिरे र काप्री तथा इन्जिनियरिङ तर्फको सचिवमा चटौतले बाजी मार्ने देखिन्छ।

अवकाशप्राप्त डा. खगेन्द्रप्रसाद सुवेदी २०२४ साल भदौ १८ गते जन्मिएका हुन्। दुई नम्बरमा सिफारिस भएका डा. सुवेदी सचिवमा बढुवा हुँदा एक नम्बरका डण्डुराज घिमिरे सचिव हुनबाट बञ्चित भएका थिए। यसपटक दुई पद खाली भएकाले उनी जसरी पनि सचिव हुन्छन्।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद अध्यक्षमा बसेको बढुवा समितिको बैठक सचिवमा बढुवाका लागि सहसचिवत्रय डण्डुराज घिमिरे, खगेन्द्रप्रसाद सुवेदी र कृष्णप्रसाद काप्रीको नाम सिफारिस गरेको थियो। पहिलो नम्बरमा घिमिरे, दोस्रो नम्बरमा सुदेवी र तेस्रो नम्बरमा काप्रीको नाम सिफारिस भएको थियो। पहिलो नम्बरमा सिफारिस भएका घिमिरेलाई पछि पार्दै दोस्रो नम्बरका डा. सुवेदीले सचिव बढुवामा बाजी मारेका थिए। उनी डेढ महिनामै घर गएका छन्।

महालेखा नियन्त्रक रघुराम विष्टले अनिवार्य अवकाश पाएपछि उक्त रिक्त स्थानमा डा. सुवेदी सचिवमा बढुवा भएका थिए। सचिव भएपछि कोशीमा सुवेदी गण्डकी पुगेका थिए। अवकाशपछि गण्डकीबाट कोशीतिरै पुगेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत सहसचिव डण्डुराज घिमिरे र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्री सचिव खान मुख मिठ्याएर बसेका छन्। अब उनीहरू नै सचिव हुनेहुन्।

क्याटेगोरी : समाचार
ट्याग : #डा. खगेन्द्रप्रसाद सुवेदी

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ