महिलामय बनाइँदै सामान्य प्रशासन मन्त्रालय, महिलालाई ३ महाशाखा प्रमुखको जिम्मेवारी

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय महिलामय बनाइँदै छ। मन्त्रालयको नेतृत्व भगवती न्यौपानेले सम्हालेसँगै महाशाखामा रहेका पुरूष कर्मचारी हटाएर महिलालाई जिम्मेवारी दिने क्रम सुरू भएको छ। मन्त्रालयमा रहेका ६ वटा महाशाखामध्ये ३ वटा महिलाको पोल्टामा परेको हो।
मन्त्री न्यौपानेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दुई महिला सहसचिव भित्र्याएर महाशाखा प्रमुख बनाएकी हुन्। निर्वाचन आयोगबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरूवा भएर हाजिर नै नभएकी निता पोखरेल अर्याललाई आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ। उनको सरूवा व्यवस्थापन निजामती सेवा नियमावलीविपरीत देखिन्छ।
निजामती सेवा नियमावली, २०५० को नियम ३९ कुनै पनि निजामती भएको कार्यालयमा रमानापत्रमा तोकिएको समयभित्र हाजिर हुनु जानु पर्नेछ। कुनै पनि निजामती कर्मचारीको सरूवा भएको कार्यालयमा हाजिर नभई अर्को पद वा कार्यालयमा सरूवा गरिने छैन। यसरी निर्धारित समयभित्र हाजिर हुन नजाने निजामती कर्मचारीलाई विभागीय कारबाही हुनेछ भन्ने उल्लेख छ। तर, उक्त नियमावलीविपरीत नितालाई सामान्यले नै विभागीय कारबाही गर्न छाडेर उल्टै पुरस्कृत गरेको हो। यसले भगवती न्यौपानेको सुशासनले पनि हावा खाएको छ।
आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख दिवस आचार्य भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयतिर फड्किएका छन्। महिला सहसचिव ल्याउन कै लागि दिवसलाई स्वास्थ्य पठाएको मन्त्रालय स्रोतको दाबी छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव पार्वती शर्मा काफ्लेलाई दिइएको छ। अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग अन्तर्गत मध्यमस्तरीय करदाता कार्यालयको प्रमुखबाट बागमती प्रदेशमा सरूवा भएकी पार्वती शर्मा काफ्ले पनि हाजिर नै नभइ सामान्यको कर्मचारी प्रशासन महाशाखाको कमाण्ड सम्हाल्न आइपुगेकी हुन्। शर्माले सरूवा गरेका कर्मचारीले पनि उनको सिको गर्दै सरूवा भएको ठाउँमा हाजिर हुन नजाने उच्च खतरा देखिन्छ। सरूवा गरेका कर्मचारीलाई हाजिर गराउन पनि उनीसँग नैतिक बल देखिँदैन।कर्मचारी प्रशासन महाशाखा प्रमुख रहेका सहसचिव श्रमतिर हुँइकिएपछि शर्मालाई उक्त महाशाखा प्रमुखमा ल्याइएको हो।
मन्त्रालयको प्रशासन सुधार महाशाखा सहसचिव मिरा आचार्य छिन्। सामान्य प्रशासनमा मिरा मात्र एक्ली महिला महाशाखा प्रमुख थिइन्। अब भने निता र पार्वती आएर बराबरी पारेका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संघीय मामिला महाशाखा प्रमुखको जिम्मेवारीमा प्रकाश दाहाल रहेका छन्। नाम प्रकाश भएपनि काममा प्रकाश नभएका उनलाई पनि अन्यत्र सरूवा गरेर महिलालाई नै महाशाखा प्रमुख बनाउने सम्भावना उच्च रहेको मन्त्रालय स्रोतले बतायो।
योजना तथा विकास सहायता समन्वय महाशाखा प्रमुखको जिम्मेवारीमा कालीप्रसाद पराजुली रहेका छन्। क्षमता विकास महाशाखा रूद्रसिंह तामाङ रहेका छन्। उनीहरू पनि मन्त्रालयबाट कुनै पनि बेला विस्थापित हुने जोखिम छ।
मन्त्रालयको सचिवमा पनि महिला नै भित्र्याउने चर्चा सुरू भएको छ। अहिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र कोशी प्रदेशमा महिला सचिव रहेका छन्। सञ्चारमा राधिका अर्याल, महिलामा लक्ष्मीकुमारी बस्नेत र कोशी प्रदेशमा चन्द्रकला पौडेल सचिव रहेका छन्। राधिका र चन्द्रकला मध्ये एकजना सचिव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भित्रिने सम्भावना देखिन्छ।
क्याटेगोरी : समाचारट्याग : #निता पोखरेल अर्याल, #पार्वती शर्मा, #मिरा आचार्य
तपाईको प्रतिक्रिया दिनुहोस