कानुनविपरीत अर्याललाई चितवनको सिडिओ पठाइयो, बाबुराम हाजिर नभइ शिवलाललाई भोजपुरको सिडिओमा खटाइयो


काठमाडौं। गृह मन्त्रालयले कानुनविपरीत गणेश अर्याललाई चितवनको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनाएको छ। ‘क’ वर्गको पर्सा जिल्लाको सिडिओबाट गृह मन्त्रालय आएको दुई हप्ता नहुँदै उनलाई ‘क’ वर्ग कै चितवनको सिडिओ बनाएर पठाइएको हो। जसलाई गृह मन्त्रालयले बनाएको कार्यविधिले नै रोक्छ।

प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरूवा गर्ने वा कामकाज गर्न खटाउनेसम्बन्धी कार्यविधि, २०७९ मा ‘क’ वर्ग जिल्लामा बसेको सिडिओलाई ‘क’ वर्ग कै जिल्लामा नखटाउने उल्लेख छ। तर, ‘क’ वर्गको जिल्ला पर्सामा ९ महिना बढी सिडिओ भएर बसेका अर्याललाई ‘क’ वर्गमै पर्ने चितवनको सिडिओ बनाएर खटाइएको हो। यसले गृहमन्त्री रमेश लेखक र सचिव गोकर्णमणि दुवाडी कानुन र सुशासनको धज्जी उडाउन सक्रिय रहेको देखाउँछ।

अर्याल ‘क’ वर्ग कै जिल्ला रूपन्देहीबाट चितवनको सिडिओ बनेर गएका थिए। उनलाई रुपन्देहीबाट पर्सा पठाउने मन्त्री लेखक र सचिव दुवाडी नै हुन्। त्यो बेला गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख छविलाल रिजाल थिए भने अहिले जयनारायण आचार्य रहेका छन्। रुपन्देहीमा उत्कृष्ट सिडिओ भएकाले अर्याललाई पर्साको सिडिओ दिनु स्वभाविक थियो। क ‘वर्ग’को जिल्लामा सिडिओ भएर उत्कृष्ट काम गरेका सिडिओलाई ‘क’ वर्गमा खटाउन कार्यविधिले रोकेको छैन। उनलाई त्यो बेला काठमाडौं कै सिडिओ बनाएको भए पनि आपत्ति हुने थिएन। तर, पर्सामा आएर क्यासिनोदेखि चिकित्सकहरूसँग समेत लफडा गरेर विवादित बनेका सिडिओ अर्याललाई ‘क’ वर्ग कै चितवन जिल्लाको सिडिओ बनाएर पठाउनु गृह मन्त्रालय आफैले बनाएको कार्यविधिको ठाडो उल्लंघन हो। आफै कानुन नमान्ने गृह मन्त्रालयले कानुन कार्यान्वयन गर्ने नैतिक अधिकार राख्दैन। गृहमन्त्री र सचिवले कानुनविपरीतको काम तत्काल सच्चाउनु पर्छ।

यता बाबुराम गौतम भोजपुरको प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा हाजिर नभइ शिवलाल तिवारीलाई भोजपुर सिडिओ खटाइएको छ। निजामती सेवा नियमावली, २०५० को नियम ३९ कुनै पनि निजामती कर्मचारी सरूवा भएको कार्यालयमा रमानापत्रमा तोकिएको समयभित्र हाजिर हुनु जानु पर्नेछ। कुनै पनि निजामती कर्मचारीको सरूवा भएको कार्यालयमा हाजिर नभई अर्को पद वा कार्यालयमा सरूवा गरिने छैन। यसरी निर्धारित समयभित्र हाजिर हुन नजाने निजामती कर्मचारीलाई विभागीय कारबाही हुनेछ भन्ने उल्लेख छ। तर, उक्त नियमावलीविपरीत भोजपुरको सिडिओमा हाजिर नै नभएका बाबुराम गौतमको सरूवा रद्द नगरी किन तिवारीलाई भोजपुरको सिडिओमा खटायो गृह मन्त्रालय जवाफ दिनुपर्छ। नत्र गृह प्रशासनले कानुनी राज्यको दुहाइ नदिए हुन्छ।

नियमावली अनुसार हाजिर हुन नगएका गौतमलाई ‘रेकर्ड’मा जनिने गरी विभागीय कारबाही गरेर मात्र तिवारीलाई भोजपुरको सिडिओ बनाएर पठाउने हो। तर, गृहले गौतमलाई विभागीय कारबाही गरेको जानकारी दिएको छैन। वातावरण विभाग, आन्तरिक राजस्व विभाग जस्ता निकायको महानिर्देशक भइसकेका तिवारी तुलनात्मक रूपमा गौतमभन्दा राम्राे छवि बनाएका सहसचिव हुन्। उनले पनि सिडिओमा हाजिर नभइ गौतम जस्तै विभागीय कारबाहीको भागिदार बन्छन् कि आफ्नो छवि जोगाएर भोजपुरको सिडिओमा हाजिर हुन जान्छन् हेर्न बाँकी छ।

क्याटेगोरी : समाचार
ट्याग : #गणेश अर्याल, #बाबुराम गौतम, #शिवलाल तिवारी सहसचिव

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ