टोखाका वडाध्यक्ष रानाले हडपेको सरकारी जग्गा प्राधिकरणको समितिले गऱ्यो अनुगमन


काठमाडौं। काठमाडौं उपत्यका विकास प्राधिकरण सञ्चालक समितिको टोलीले टोखा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष नरोत्तम रानाले हडपेको सरकारी जग्गाको अनुगमन गरेको छ। प्राधिकरण सञ्चालक समितिले बनाएको अनुगमन समितिले धापासीमा वडाध्यक्ष रानाले हडपेको सरकारी जग्गा अनुगमन गरेको हो।

साबिक धापासी वडा नम्बर ७ हालको टोखा नगरपालिका वडा नम्बर ७ बसुन्धरा चोकबाट भित्र पासी जाने बाटो दाहाल गौंडामुनी रहेको कित्ता नम्बर ६५ को ४ रोपनीभन्दा बढी जग्गामा वडाध्यक्ष रानाले ३/४ वटा टहरा खडा गरी सटर भाडामा लगाएका छन्। सरकारी जग्गामा बनाइएको उक्त टहरामा वडाध्यक्ष रानासहितले प्रति सटर २०/२२ हजार मासिक भाडा असुल्ने गरेको आरोप लागेको छ। तर, शक्तिशाली वडाध्यक्षका अगाडि प्राधिकरण निरीह बन्दै आएको थियो।

स्वास्थ्य लाइभले उक्त विषयमा समाचार सम्प्रेषण गरेपछि काठमाडौं उपत्यका विकास प्राधिकरण सञ्चालक समितिको अनुगमन टोली धापासी पुगेको हो।

अनुगमन समितिमा रहेका प्राधिकरण सञ्चालक समिति विज्ञ सदस्य ज्वाला नेपाल, कृष्ण घिमिरे र निशेष शाक्य फिल्डमा गएर वडाध्यक्ष रानाले हडपेको सरकारी जग्गाको अवलोकन गरेका छन्। सरकारी जग्गा हडपेर संरचना खडा गरी वडाध्यक्ष रानाले भाडा खाइरहेको अनुगमन समितिका सदस्यहरूले प्रत्यक्ष हेरेका हुन्।

मंगलबार उक्त टोली धापासीमा पुग्दा वडाध्यक्ष रानाले हडपेको ४ रोपनी सरकारी जग्गा र वरिपरीको गरी कम्तिमा १० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा भएको दाबी गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगदेखि जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई समेत अटेर गरिरहेका वडाध्यक्ष रानाले प्राधिकरणको निर्देशन समेत नमान्ने सम्भावना छ। यो विषयमा प्राधिकरणले आफ्नो कानुन प्रयोग गरेर थप एक्सन लिनुपर्नेमा अनुगमनमा गएका सदस्यहरूले जोड दिएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ