रामगोविन्दले राजीनामा दिन खोजेको प्रसंग राधिकाले सचिव बैठकमै सुनाएकी थिइन्

काठमाडौं। नेपाल विविध सेवा, राजपत्राङ्कित प्रथम श्रेणी सूचना प्रविधि विज्ञ (सहसचिव) रामगोविन्द अर्याल र रमेश शर्मा पौड्यालले पदबाट राजीनामा दिएको विषय विभिन्न कोणबाट उठिरहेको छ। कतिपयले ‘कुलिङ अफ पिरियड’लाई कारण देखाएर सतही टिप्पणी पनि गरेको पाइन्छ। रामगोविन्दले निजामती कर्मचारीलाई ‘कुलिङ अफ पिरियड’ लाग्ने कानुन आउनुभन्दा धेरै अघि राजीनामा दिने मनस्थिति बनाएका थिए।
२०८२ बैशाखमा नेपाल विविध सेवा, राजपत्राङ्कित प्रथम श्रेणी सूचना प्रविधि विज्ञ (सहसचिव) पदमा आन्तरिक प्रतिस्पर्धाबाट सिफारिस भएका अर्याल सञ्चार तथा सूचना प्रविधि मन्त्रालय वा अन्तर्गत सरूवा भएका थिए। त्यसपछि उनलाई मन्त्रालयले एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी)को प्रमुखमा खटायो। तर, सहसचिव अर्याल स्वास्थ्यको कारण देखाउँदै आईडीएमसीमा हाजिर हुन गएनन्। उनी उल्टै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरूवा मिलाए हाजिर भए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अतिरिक्त समूहमा कर्मचारी नराख्न निर्देशक दिएपछि मात्र अर्याल सञ्चारमा फर्किए। त्यसैबेला सचिव बैठकमा सञ्चार सचिव राधिका अर्यालले आईटीका सहसचिव रामगोविन्द अर्याल राजीनामा दिन खोजेको प्रसंग सुनाएकी थिइन्। त्यसको लामो समयपछि मात्र उनले राजीनामा दिएको समाचार सार्वजनिक भयो। जुन बेला राष्ट्रिय सभाले निजामती कर्मचारीलाई ‘कुलिङ अफ पिरियड’सहितको कानुन पास गऱ्यो। १४ वर्ष जागिर बाँकी छँदै सहसचिव अर्यालले राजीनामा दिएपछि तरंग पैदा भएको छ। आईटीमा सरकारीमाभन्दा निजी क्षेत्रमा राम्रो आम्दानी हुने र भ्रष्टाचारमा समेत नडामिनु पर्ने भएकाले उनले सुरक्षित अवतरण गरेको देखिन्छ।
अर्यालको वैकल्पिकमा सिफारिस भएका रामदत्त भट्ट नेपाल विविध सेवा, राजपत्राङ्कित प्रथम श्रेणी सूचना प्रविधि विज्ञ (सहसचिव) पदमा सिफारिस हुनेछन्। अर्यालले राजीनामा दिएसँगै लोक सेवा आयोगमै कार्यरत भट्टको भाग्य चम्किएको हो।
यसैबीच सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्यालले पनि राजीनामा दिएका छन्। उनको कार्यक्षमतामाथि प्रश्न उठ्दै आएको थियो। कम्प्युटर अधिकृतबाट आएका पौड्याल छ महिने कम्प्युटर तालिम लिएर सहसचिवसम्म भएका उनले आईटीमा स्नातक गरेका छैनन्।
अकबर हुसेनको म्याक्स इन्टरनेसनललाई नागरिक एपको ठेक्काको म्याद थप्न उनीमाथि प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी विज्ञ अस्गर अलीको दबाब रहेका बनाइन्छ। २ वर्ष जागिर छँदै राजीनामा दिएका पौड्याले कुनै संवैधानिक नियुक्ति पाउने सम्भावना छैन। बग्रेल्ती पूर्व सचिवहरू हुँदाहुँदै त्यस्ता नियुक्ति उनका लागि आकाशको फल नै हो भन्दा अतियुक्ति हो भन्दा फरक पर्दैन। पौड्यालको ठाउँमा मनिष भट्टराई सहसचिवमा बढुवा हुनेछन्। उनी सहसचिवमा बढुवा नहुन्जेल आईडीएमसीको निमित्त प्रमुख भएर लामो समय काम गर्ने अवस्था देखिन्छ।
उनीभन्दा आईटी कै सहसचिवबाट अवकाश पाएका कपिलदेव श्रेष्ठ, लक्ष्मीप्रसाद यादव, वीरेन्द्रकुमार मिश्र, दिपकलाल श्रेष्ठ, प्रेमशरण श्रेष्ठले पनि कुनै नियुक्ति पाएका छैनन्। रसिया र थाइल्याण्डमा आईटीमा मास्टर्स पढेर आएका यादवले निजी कलेज पढाउँछन्। निजी कलेज पढाउन अहिले पनि ‘कुलिङ अफ पिरियड’ लाग्दैन। दिपकलाल कहिले काँही लोक सेवा आयोगमा विज्ञका रूपमा जाने गर्छन्। पौड्याल पनि त्यहिँ क्लबमा थपिने मात्र हुन्। ‘कुलिङ अफ पिरियङ’ले त्यो क्लबमा थपिन रोकेको छैन।
पुल्चोकबाट कम्प्युटर इन्जिनियरिङमा मास्टर्स र कोरियाबाट पिएचडी गरेका अर्याल पौड्यालभन्दा धेरै क्षमतावान व्यक्ति मानिन्छन्। उनले भने आईटीका प्रोजेक्टमा सजिलै काम पाउन सक्छन्। निजी क्षेत्रमा गएर काम गर्न ‘कुलिङ अफ पिरियड’ले छेक्दैन। त्यसैले उनको राजीनामालाई ‘कुलिङ अफ पिरियड’सँग जोड्नुको कुनै तुक नरहेको आईटी कै कर्मचारीहरू बताउँछन्।
क्याटेगोरी : समाचारट्याग : #रमेश शर्मा पौड्याल, #राजीनामा, #रामगोविन्द अर्याल, #सूचना प्रविधि विज्ञ
तपाईको प्रतिक्रिया दिनुहोस