भिजिबिलिटी नपुगेका गृहमन्त्री रमेश लेखकले पद समेत गुमाए


समाचार टिप्पणी

काठमाडौं। गत असोजमा आएको बाढीले ललितपुरमै भिजिबिलिटी नपुगेर बगेका व्यक्तिको उद्धार गर्न नसकिएको गैरजिम्मेवार अभिव्यक्ति दिएका गृहमन्त्री रमेश लेखकले एक वर्षपछि सत्ता कै भिजिबिलिटी गुमाएका छन्। भिजिट भिसा प्रकरण होस् वा तिनकुनेमा भएको राजावादी आन्दोलनमा बर्बरतापूर्वक दमन गरेर पनि सत्तामा टिकिरहेका लेखकको ‘जेन-जी’ पुस्ताको आन्दोलनमा भिजिबिलिटी नपुग्दा गृहमन्त्रीको पद नै गुमाउनु परेको छ। डेढ दर्जन बढी निहत्था ‘जेन-जी’को ज्यान लिएपछि नैतिकताको ‘फुर्को’ जोडेर राजीनामा दिएका लेखकमाथि हत्याराको ‘ट्याग’ लाग्न थालेको हो। यो हत्याबाट उनले उन्मुक्ति पाउन नहुने आवाज उठ्न थालेको छ।

गृह मन्त्रालयलाई श्रम र यातायात क्लब जस्तो बनाएको आरोप खेपिरहेका लेखक पछिल्लो समय मनपरी ढंगले प्रमुख जिल्ला अधिकारी (सिडिओ) खटाउन सक्रिय थिए। श्रम र यातायातमा बसेर आएका र अनुभव नै नभएकालाई उनले छानीछानी सिडिओ बनाएका छन्। आर्थिक लाभ बिना गृहमा सरूवा नै नहुने गम्भीर आरोप लाग्दै आएको छ। गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखादेखि सिडिओ खटाउँदा समेत लेखक र गृहसचिव गोकर्णमणि दुवाडीले गम्भीर लापरबाही गरेका थिए।

प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरूवा गर्ने वा कामकाज गर्न खटाउनेसम्बन्धी कार्यविधिविपरीत लेखकले सिडिओ पठाउँदै आएका थिए। पछिल्लो समय चितवनको सिडिओ खटाउँदा होस् वा भक्तपुर र रुपन्देहीको सिडिओ पठाउँदा लेखकले गृहका ‘क्याडर’भन्दा बाहिरका व्यक्ति रोजे। लामो समय राजस्वमा खेलेका व्यक्तिलाई छोटो समय एउटा जिल्ला चलाएकै भरमा शान्ति सुरक्षा जस्तो महत्त्वपूर्ण महाशाखा सुम्पिए। त्यसले ‘चेन अफ कमाण्ड’मा मात्र होइन समन्वयमा समेत कमजोरी देखियो।

तिनकुनेमा गोली चलाउँदा जोगिएको गृह प्रशासनले ‘जेन-जी’को भ्रष्टाचार विरोधी र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धविरूद्ध पनि उस्तै रबैया प्रस्तुत गऱ्यो। डेढ दर्जन बढी निहित्था ‘जेन-जी’को हत्या भएपछि वेबसाइटबाट फोटो हटाउन लगाएर मोबाइल अफ गरेर काठमाडौंका सिडिओ लापत्ता भए। यसैबीच गृहमन्त्री राजीनामा दिएर हिँडे। प्रधानमन्त्री र सञ्चारमन्त्री ‘जेन-जी’को हत्यामाथि पटक्कै संवेदनशील देखिएनन्।

मनपरी ढंगले चलेको गृह प्रशासनलाई माथ खुवाउने गरी प्रधानमन्त्री र सञ्चारमन्त्री प्रस्तुत भइरहेका छन्। गृह मन्त्रालयका महाशाखा प्रमुख नक्कली प्रमाणपत्रधारीदेखि राजस्वधारी र तिनकुनेमा गोली काण्डधारीसम्मले भरिएका छन्। उनीहरूको भिजिटबिलिटी गुम्दा बानेश्वरमा ‘जेन-जी’को रगतको खोलो नै बग्यो।

बद्री तिवारीले कमाण्ड गरेको गृहमन्त्री लेखकको सचिवालय सबैभन्दा दिवादित बन्यो। त्यसमा भिजिट भिसाको मुद्दा खेपेका विमल पौडेल समेत थपिएपछि लेखकको भिजिबिलिटी माइनस हुने नै भयो। बानेश्वरमा ‘जेन-जी’माथि जुन किसिमको बर्बरतापूर्वक गोली चलाइयो। त्यसले लेखकको राजनीतिक भिजिबिलिटी समेत गुमेको छ। प्रधानमन्त्री र सञ्चारमन्त्रीको राजनीतिक भिजिबिलिटी पनि ‘जेन-जी’ले गुमाइदिने अवस्था आएको देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ