अख्तियार जलाउन पुगेका युवाले सोधेका थिए ‘गोकुल बाँस्कोटालाई किन जोगाइयो’ ठूलो क्षति हुन पाएन


काठमाडौं। राज्यका तीनै अंग कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकामा मंगलबार दिनभर आगो दन्किरह्यो। कतिसम्म भने नेपाली सेनाले आफ्नै परमाधिपति बस्ने (राष्ट्रपति निवास) जलिरहँदा समेत जोगाउन सकेन। इतिहास बोकेको सर्वोच्च अदालतको पुरानो भवन समेत नराम्ररी जल्यो। धेरै प्रमाणहरू नष्ट भए। प्रधानमन्त्रीसहित राज्यका मुख्य व्यक्तिहरू सेनाको हेलिकप्टर चढेर अज्ञात ठाउँमा गुमनाम भए। केपी शर्मा ओलीलाई अकासेर देशलाई यो अवस्थामा पुऱ्याउन भूमिका खेल्नेहरू बुधबार बिहानै ‘आँसु कवि’ बनेर अज्ञात ठाउँबाट आफूहरूले बन्द गराएको समाजिक सञ्जालबाट बर्बराउन थालेका छन्।

‘जेन-जी’ पुस्तालाई सडकमा पुऱ्याउन यस्तो अवस्था ल्याउन बाध्य पार्नेहरू फेरि उठ्ने हुँकार देखाउन तम्सिएका छन्। पहिलो दिनको विरोध प्रदर्शनमा १९ जना ‘जेन-जी’ले ज्यान गुमाउँदा पनि संवेदनशील नदेखिएका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङको बोलीले आगोमा घिउ थप्ने काम गऱ्यो। कांग्रेसका मन्त्रीहरूले राजीनामा दिन थाल्दा ओलीले एमालेका मन्त्रीहरूलाई राजीनामा नदिन ह्विप लगाएको समाचार सार्वजनिक भए। त्यसपछि माहोल भड्कियो। ऊर्जामन्त्री दिपक खड्काको घरबाट फैलिएको आगोले देउवा निवास, हुँदै संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबार सवै सखाप पाऱ्यो। मध्यरातमा स्वास्थ्य मन्त्रालयमा समेत आगो दन्कियो। ‘जेन-जी’बाट हाइज्याक भएको आन्दोलनले सरकारी संरचनामा पुऱ्याएको क्षतिको आँकलन नै गर्न नसकिने अवस्था छ। देशभरका सरकारी र निजी संरचनामा भएको क्षतिको लेखाखोजा हुन सकेको छैन।

यस्तो अवस्थामा पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोग भने ठूलो क्षति हुनबाट बच्यो। अख्तियारको केन्द्रीय कार्यालय जलाउन मंगलबार दिनभर प्रयास गरिरहे पनि त्यहाँ सुरक्षामा खटिएका प्रहरीले अनुनयविनय गरेर जोगाएका थिए। अख्तियारमा आगो झोस्न पुगेकाहरू गोकुल बाँस्कोटालाई किन जोगाएको भन्दै निकै पटक भित्र छिर्न खोजेपनि दिउँसो आगो लगाउन सकेनन्। तर, साँझ परेपछि भाटभटेनी सुपरमार्केट चलाएर फर्किएको एउटा जत्था छिरेर गाडी र प्रशासनमा आगो झोस्यो। अख्तियारले तामेली शाखामा आगोले क्षति पुऱ्याएको बनाइन्छ।

सबैभन्दा बढी भ्रष्टाचारका प्रमाण रहेको अख्तियारमा आगो लागेको भए आज भ्रष्टाचारका सम्भावित अभियुक्तहरूले खुसियालीमा भोज नै दिन्थे होला। तर, अख्तियारको चुस्त संयन्त्रका कारण उनीहरूले त्यस्तो मौका पाएनन्। ७० करोड काण्डका मुख्य पात्र बाँस्कोटालाई जोगाएको भनेर प्रश्न गर्दा जवाफ दिन नसकेपनि उनीहरूले अख्तियारको केन्द्रीय कार्यालयलाई ठूलो क्षति हुनबाट जोगाएका छन्। सिंहदरबार र सर्वोच्च अदालतका भ्रष्टाचारका प्रमाणहरू भने आगलागीबाट नष्ट भएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ