सिंहदरबार सरसफाइ गर्न कर्मचारीहरूलाई आह्वान

काठमाडौं। ‘जेन-जी’ आन्दोलनका क्रममा भग्नावशेष भएको सिंहदरबार सरसफाइ गर्न निजामती कर्मचारीलाई आह्वान गरिएको छ। सामाजिक सञ्जाल फेसबुकमा खोलिएको ‘सार्वजनिक नीति संवाद’ मार्फत अत्रि अविरलले सिंहदरबार भित्रका सबै कर्मचारीहरू सम्भव भएसम्म आ-आफ्नो मन्त्रालय, निकायमा उपस्थित भएर आजैबाट सफाइको काममा खटिन अपिल गरेका छन्। निर्वाचित सरकार निस्क्रिय भएपनि स्थायी सरकारका प्रतिनिधिहरूले आफूले सक्ने जिम्मेवारी पूरा गर्न लाग्नुपर्ने उनको अपिल छ।
जेन्जीहरूको आक्रोस कुशासन र अकर्मन्यता विरुद्ध पनि रहेको भन्दै त्यसलाई आजैबाट फाल्ने र इमानदारी पूर्वक जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता गर्न अपिल गरिएको हो। अत्यावश्यक सेवालाई सम्भव भएसम्म नियमित र सुचारू गर्ने गराउने पहल गर्न समेत आग्रह गरिएको छ।
सिंहदरबार चलेर खरानी बन्दा पनि स्थायी सरकार भनिने कर्मचारी प्रशासन चकमन्न बनेर बसेको भनेर आलोचना हुँदै आएको थियो। त्यसलाई मध्यनजर गर्दै कर्मचारीहरूलाई सिंहदरबार सरसफाइमा जुट्न अपिल गरिएको हो।
यस्तो छ सम्पूर्ण कर्मचारीहरूमा सार्वजनिक अपील:-
सिंहदरबार भित्रका सबै कर्मचारीहरू सम्भव भएसम्म आ-आफ्नो मन्त्रालय, निकायमा उपस्थित भएर आजैबाट सफाइको काममा खटौँ।
सिंहदरबारबाहिर निकायका कर्मचारीहरूले पनि परिस्थितिको मूल्याङकन गरेर फाइल, अभिलेख तथा कागजातहरूको सुरक्षा, संरक्षण गर्ने तथा आ-आफ्नो कार्यालय सरसफाइमा आजैबाट खटौँ।
निर्वाचित सरकार निस्कृय भए पनि हामी स्थायी सरकारका प्रतिनिधिहरूले आफूले सक्ने जिम्मेवारी पूरा गर्न लागौँ। स्वस्फूर्तरूपमा आफैँ कर्तव्यबोध गरौँ।
अत्यावश्यक सेवालाई सम्भव भएसम्म नियमित र सुचारू गर्ने गराउने पहल गरौँ।
जेन्जीहरूको आक्रोस कुशासन र अकर्मन्यता विरुद्ध पनि हो। त्यसलाई आजैबाट फाल्ने र इमानदारी पूर्वक जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता गरौँ।
कार्यालयसम्म आउँदा सम्भव हुनेहरूले पैदलै आऊँ। सरकारी सवारी साधनको प्रयोग नगरौँ। जोखिम हुनसक्छ, तोकिएको पोसाक भने नलगाऊ। तर आ-आफ्नो कार्यालय जाऊँ र स्वस्फूर्तरूपमा खटिऊँ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस