‘जेन-जी’ आन्दोलनको बाध्यात्मक पृष्ठभूमि तयार पार्नेहरू


समाचार टिप्पणी

काठमाडौं। भदौं २३ र २४ गते देशभर चलेको ‘जेन-जी’ आन्दोलनले बालुवाटारमा शानका साथ बसिरहेका प्रधानमन्त्री केपी शर्मा ओली नेपालीको सेनाको हेलिकप्टरमा चढेर अज्ञात ठाउँमा भाग्नु पऱ्यो। सेनाको हेलिकप्टर चढेर भाग्दै गरेका प्रधानमन्त्री ओलीको सार्वजनिक भएको भिडिओ हेर्दा उनी दुई मिनेट मात्र हेलिकप्टर चढ्न ढिला गरेको भए देउवा दम्पती जस्तै आन्दोलनकारी नियन्त्रणमा पुगिसकेका हुने थिए। प्रधानमन्त्री ओली आफू मात्र भाग्नु पर्ने स्थित आएन सारथिहरूलाई समेत भाग्न बाध्य भए। यो अवस्था निम्त्याउन ओली कै विशेष भूमिका देखिन्छ।

सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, युट्युब, एक्सलगायत बन्द गराउने मुख्य पात्र उनै ओली हुन्। सामाजिक सञ्जाल बन्द गराउने निर्णय गरेसँगै ‘जेन-जी’ पुस्ता सरकारसँग निकै आक्रोशित बन्यो। प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णुप्रसाद रिमाल र उनका विश्वासपात्र अस्गर अलीको डिजाइनमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल बन्द गराउने निर्णय गरेका थिए। उक्त निर्णय कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङ डटेर लागिपरेका थिए। प्रधानमन्त्री ओली र सञ्चारमन्त्री गुरूङले ‘जेन-जी’ पुस्ताले गर्ने भनेको आन्दोलनमाथि आगोमा घिउ थप्ने काम गरे। ‘जेन-जी’ पुस्ताले गर्ने भनेको आन्दोलनमाथि होच्याउने र हियाउने शब्द प्रयोग गरेर प्रधानमन्त्री ओली र सञ्चारमन्त्री गुरूङले आक्रोशित बनाएका थिए। ‘जेन-जी’ पुस्ताले २३ गते गरेको आन्दोलनमा राज्य पक्षबाट १९ जनाको नरसंहार भएपछि २४ गते आन्दोलनले उग्र रूप लियो। आन्दोलनका नाममा घुसपैठ हुँदा राष्ट्रपति कार्यालय, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका संसद् रहेका भवन एकसाथ खरानी बने। आपराधिक मनोवृत्तिका तत्त्वहरू छिरेर सरकारी र निजी सम्पत्तिमाथि ठूलो क्षति पुऱ्याए।

यी घटना हुनुभन्दा पहिला पृष्ठभूमि तयार पार्ने प्रधानमन्त्री ओली शिवपुरीमा रहेको दाबी गरिएको छ। बालकोटको बार्दलीबाट बालुवाटार पुगेका ओली ‘जेन-जी’को आन्दोलनबाट ज्यान जोगाउन बालुवाटार छाडेर सेनाको शरणमा लापत्ता भएका छन्। निहत्था ‘जेन-जी’हरूको हत्या हुँदा पनि संवेदना समेत प्रकट नगरेका प्रधानमन्त्री ओली भोलिपल्टै प्रधानमन्त्रीको कुर्सीबाट राजीनामा दिन बाध्य भए। तर, उनले अहिलेसम्म उक्त परिस्थिति आउनुमा आफ्नो मुख्य दोष रहेको कुरा स्वीकार गरेर माफी समेत मागेका छैनन्। यस्तो अवस्था निम्त्याउन भूमिका खेल्ने ओलीसहित गुरूङ, रिमाल र अली भूमिगत अवस्थामा छन्।

स्रोतका अनुसार अलीको मेटाको लोकल एजेन्ट बनेर डेटा हत्याउने महत्त्वाकांक्षाले यस्तो अवस्था आएको हो। मेटालाई सूचीकरणमा ल्याएर आफ्नो टिमलाई लोकल एजेन्ट बनाउने र डेटा तथा ‘कन्टेन्ट फिल्टरिङ’मा कब्जा जगाउने रणनीतिका साथ रचिएको ग्रान्ड डिजाइनमा उनीहरू आफैं फसे। त्यसै कारण सरकार समेत छाडेर भाग्नु पर्ने अवस्था आयो।

नेपाली जनता राजनीतिक दल र तिनका नेताहरू गरेको भ्रष्टाचारले आजित भइसकेका थिए। उनीहरूप्रति सामाजिक सञ्जालबाटै युवाहरूले असन्तुष्टि व्यक्त गर्दै आएका थिए। रोष प्रकट गर्ने ‘प्लेटफर्म’ नै बन्द गरिदिएपछि उनीहरू सडकमा आउन बाध्य भए। त्यसपछि सत्ता नै उलटपुलट भयो। यो उथलपुथल ल्याउने वातावरण तयार पार्ने रिमाल, अलीहरू अहिले कुन ठाउँमा लुकेर बसेका छन् अत्तोपत्तो छैन। यो विध्वंसको मुख्य कारक उनीहरू नै हुनभन्दा फरक पर्दैन।

क्याटेगोरी : समाचार
ट्याग : #अस्गर अली, #बिष्णु प्रसाद रिमाल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ