सिंहदरबार जलिरहँदा सचिव सिग्देलको अर्कै चाल, सरकारी जग्गा संरक्षणमा लागेका आयुक्त नै सरूवा गरिदिए!

काठमाडौं। ‘जेन-जी’ आन्दोलनमा सिंहदरबार चलिरहँदा सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल सरूवा धन्दामा लागेको पाइएको छ। काठमाडौं उपत्यका विकास प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त सुभाष बस्नेतको सरूवा गरेका छन्। मन्त्रालय स्रोतका अनुसार अवैध प्लटिङवाला र प्राधिकरणकी विकास आयुक्त जानुका ढकालको डिजाइनमा सचिव सिग्देलले बस्नेतको सरूवा गरिएको हो। ‘ब्याक डेटमा’ बस्नेतलाई प्राधिकरणको जिल्ला आयुक्तबाट सरूवा गरेर उनको ठाउँमा सुनिता श्रेष्ठ सापकोटालाई ल्याइएको स्रोतले बतायो। यद्यपि अहिलेसम्म सरुवा गरिएको पत्र भने सार्वजनिक गरिएको छैन।
काठमाडौंमा सरकारी/सार्वजनिक जग्गा मिचेर खानेको विवरण सार्वजनिक गरेपछि सचिव सिग्देल आयुक्त बस्नेतसँग रूष्ट बनेको मन्त्रालय स्रोतको दाबी छ। सरकारी जग्गा अतिक्रमण गरेर निर्माण गरिएको चावहिलको ओम अस्पताल र कपनको लोयल्टी स्कुलको अवैध संरचना डोजर लगाएपछि सचिव सिग्देलले बस्नेतलाई हटाइदिएका हुन्।
काठमाडौंका अतिक्रमित सरकारी जग्गा संरक्षण र अवैध संरचना भत्काउने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको अभियानलाई निरन्तरता दिन बस्नेत सक्रिय भएका थिए। प्राधिकरणको ऐन कार्यान्वयन गरेर काठमाडौंका अवैध प्लटिङलाई कानुनी दायरामा ल्याउन उनी लागिपरेका थिए। तर, उक्त अभियानलाई असफल पार्न सचिव सिग्देल र विकास आयुक्त ढकाल एकजुट भएका छन्। कानुनले तोकेको जिम्मेवारी पूरा नगर्न ढकालले सचिव सिग्देललाई उक्साएर बस्नेतलाई सरूवा गर्न लगाएको स्रोतले बतायो। ढकालले कानुन अधिकृत घनश्याम पौडेललाई पनि अवैध प्लटिङ रोक्न सक्रिय भएको भन्दै सरूवा गरिदिएकी थिइन्।
सरकारी जग्गा संरक्षण गर्न र अवैध संरचना हटाउन खोज्नेलाई हटाउन कदम चाल्ने सचिव सिग्देलको विषयमा पनि नयाँ सरकारले विशेष निर्णय लिन आवश्यक देखिन्छ। बालेनको अभियानमा सचिव सिग्देलले अवरोध खडा गर्ने सम्भावना भएकाले उनको निरन्तरतामा पनि ध्यान दिन जरुरी छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस