प्रशासनिक बेथितिलाई साक्षी राखेर प्रधानमन्त्री कार्कीले सम्हालिन् पदभार

काठमाडौं। राजनीति तथा प्रशासनिक बेथितिविरूद्ध जागेको जेन-जी आन्दोलनको बलमा सुशिला कार्की नेपालमा महिलाबाट पहिलो प्रधानमन्त्री बन्न सफल भइन्। राजनीतिक बेथितिका नाइके केपी शर्मा ओलीलाई जेन-जी आन्दोलनले अपदस्थ गरेपछि उनी प्रधानमन्त्री बनेकी हुन्। तर, प्रधानमन्त्री कार्कीले आईतबार सिंहदरबारमा पदभार सम्हाल्दा जेन-जी पुस्ताले खल्लो मानेका छन्। किनकि प्रशासनिक बेथितिका मुख्य पात्र मुख्यसचिव एकनारायण अर्याललाई साक्षी राखेर उनले प्रधानमन्त्रीको पदभार सम्हालिन्।
‘कुलिङ अफ पिरियड’मा देउसीभैलो खेलेर कर्मचारी प्रशासनको बद्नाम गराएका मुख्यसचिव अर्याल प्रशासनिक बेथितिका प्रमुख पात्र हुन्। जसरी जेन-जी आन्दोलनले तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक नेतृत्व अस्वीकार गऱ्यो त्यसैगरी प्रशासनिक नेतृत्व पनि अस्वीकार गर्नुपर्ने माग सुरू भएको छ।
जीवन परियार नेतृत्वको ‘संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ कुलिङ अफ पिरियड’ छेडखानी मुख्यसचिव अर्याललाई जिम्मेवार ठहर गरेको छ। उक्त समितिले जिम्मेवार ठऱ्याएका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएर समिति छाडेर हिँडिसकेका छन्।

समितिले पदीय आचरण अनुकूल व्यवहार नगरेको ठहर गरेका प्रशासनिक बेथितिका नेतृत्वकर्ता अर्याललाई सुशासन कायम गर्न सिंहदरबार छिरेकी कार्कीले साक्षी राखेर पदभार सम्हाल्नु परेको दृश्य देखिएको हो। प्रधानमन्त्री कार्कीले पदीय आचरण अनुकूल व्यवहार नदेखाएका अर्याललाई मार्ग प्रशस्त गर्न निर्देशन दिनुपर्ने आवाज उठेको छ। प्रशासनिक बेथितिका मुख्य जिम्मेवार अर्याल साथमा लिएर मुलुकमा सुशासन कायम नहुने जेन-जी पुस्ताको टिप्पणी सुनिन्छ।
ओलीको आडमा लुकाइएको उक्त प्रतिवेदन कार्यान्वयनमा ल्याएर उनलाई बहिर्गमन गर्न सक्ने बलियो आधार प्रधानमन्त्री कार्कीसँग सुरक्षित देखिन्छ। कार्कीले उनलाई साथमा लिएर अघि बढ्नु भनेको जेन-जी आन्दोलनको मर्म र भावनाविपरीत रहेको उक्त अभियानमा होमिएकाहरूको बुझाई छ।
अधिकांश कर्मचारीहरू पनि मुख्यसचिव अर्यालको नेतृत्व मान्न अनइच्छुक रहेको पाइन्छ। यो विषयलाई पनि जेन-जीहरूले ‘डिस्कर्ड’ प्रवेश गराउन ढिला भइसकेको छ। राजनीति बेथितिभन्दा जरा गाडेर बसेको प्रशासनिक बेथितिलाई जरैदेखि उखेलेर फ्याल्न जेन-जीले ‘डिस्कर्ड’मार्फत बहस छेड्न जरूरी अत्यावश्यक छ।
सामाजिक सञ्जाल ‘एक्स’मा पूर्व एआईजी ईश्वरबाबु कार्की लेख्छन्, ‘सबै राजनैतिक दलका नेता फेर्नुपर्ने कुरो मात्र गर्छन्।कुलिङ पिरियडमा देउसीभैलो खेल्दै किर्ते गर्नेसम्मको ब्यूरोक्रेसीका नेता चै स्विकार्य हो!’,
पत्रकार रमेश कुमारले लेखेका छन् ‘अन्तरिम सरकारको अजेण्डामा नपर्ला, तर ब्यूरोक्रेसीको उथलपुथल नगरी कसै गरे पनि सुधार हुँदैन। सोच्नेले सोच्लान् !’,
अन्य धेरैले प्रशासनिक सुधारमा आवाज उठाएका छन्। राजनीति बेथितिका प्रमुख पात्र केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाललाई विस्थापित गर्नु पर्ने आवाज उठिरहँदा र सरकारको नेतृत्वबाट ओलीलाई पदच्यूत गर्दा प्रशासनिक बेथितिका नेतृत्वमा अर्याल पदमै विराजमान छन्। यो बेथितिमा जेन-जीको ध्यान पुग्न सकिरहेको छैन। आफ्नो मात्र स्वार्थ पूरा गर्न लागिपरेका मुख्यसचिव अर्यालबाट राष्ट्रिय स्वार्थ पूरा नहुने प्रस्टै छ।
तपाईको प्रतिक्रिया दिनुहोस