आँगनमै पाल टाँगेर सेवा सुरु गर्नुपर्ने बेलामा भवनको खोजीमा रुमलियो स्वास्थ्य मन्त्रालय, तुरुन्तै सिंहदरबारभित्र सार्न कर्मचारीको माग

काठमाडौं । भदौ २४ गतेको जेनजी आन्दोलनको बेलामा भएको आगलागीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पूर्णरूपले ध्वस्त भएको छ । त्यस दिन आन्दोलनकारीले सिंहदरबार परिसरभित्र प्रवेश गरी तोडफोड र आगजनी गरेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पनि क्षतिग्रस्त बनायो। हाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मात्रै सिंहदरबारभन्दा बाहिर छ।
एसियाकै नमूना भनिएको पिलरविहीन भवन अहिले खण्डहर बनेको छ । भित्ताहरु सबै चर्किएको अवस्थामा छन्। रेट्रोफिटिङ गरेर प्रयोग गर्न सक्ने अवस्था छैन भन्ने अहिले स्वास्थ्य मन्त्रालय ‘एक्लो टुहुरो’ जस्तै बनेर नयाँ ठाउँ खोज्दै हिँड्न बाध्य भएको छ । रानो बिनाको मौरी जस्तै बनेको छ स्वास्थ्य ।
अदालतदेखि अन्य मन्त्रालयले खुलेआम पाल टाँगेर नागरिकलाई सेवा दिन थालेको अवस्थामा स्वास्थ्य मन्त्रालय भने अझै भवनको खोजीमै रुमलिएको छ । तर, कर्मचारी र अधिकारीहरू भन्छन्—“पाल टाँगेर भएपनि तुरुन्तै सेवा सुरु गर्नुपर्छ, भवन खोजेर बस्ने समय अहिले होइन।” नेपाल स्वास्थ्य अनुसन्धान परिषद (NHRC) को भवनबाट अस्थायी रूपमा कार्यालय सञ्चालन गर्ने मनसाय सचिवहरूको छ। कर्मचारीहरूले पनि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट क्षतिको विवरण संकलन थालेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय भित्र नेतृत्वको कमी स्पष्टै देखिएकाे छ । प्रशासन र प्राविधिक गरी दुई सचिव भए पनि संकटको बेला कर्मचारीहरुले आदेश र निर्देशन नपाएर दिनभर आँगनमै सचिवबाट जारी हुने आदेशको प्रतीक्षा गरेका छन् । एक अर्कासँग ‘केही आदेश आएको छ कि ?’ भनेर सोधपुछ गरे पनि कसैले जवाफ दिन सकेनन् । अहिले कर्मचारीहरू आफ्ना–आफ्ना शाखामा भएको क्षतिको एकिन विवरण संकलनमै व्यस्त छन् ।
जेनजी आन्दोलनको दिन भएको आगलागीपछि मन्त्रालय भित्रको सारा अभिलेख, फर्निचर, झ्यालढोका र कार्यालयका सम्पूर्ण संरचना जल्न पुगे । अन्य मन्त्रालयमा पनि क्षति भए तर, स्वास्थ्य मन्त्रालयको अवस्था झन् दयनीय बनेको छ । अहिलेको भवनलाई हेर्दा ‘एका देशको कथा’ भन्दा फरक छैन।
स्वास्थ्य अधिकारीहरू र कर्मचारीहरूको माग भने स्पष्ट छ—अब यो मन्त्रालयलाई कुनै बिचौलियाको हातमा पार्ने गरी सिंहदरबार बाहिर राख्न हुँदैन, तुरुन्तै सिंहदरबारभित्र लैजानुपर्छ । उनीहरूको भनाइमा, तत्काल पाल टाँगेर भए पनि सिंहदरबारभित्रै सेवा दिने व्यवस्था मिलाउनुपर्छ । दीर्घकालीन रूपमा भने नयाँ पुनर्निर्माण सम्पन्न भएपछि स्थायी रूपमा भित्रैको कुनै भवनमा बस्ने गरी निर्णय गर्नुपर्नेमा जोड दिइएको छ ।
क्याटेगोरी : समाचारट्याग : ##mohp nepal
तपाईको प्रतिक्रिया दिनुहोस