GIZ को गाडी व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको भन्ने समाचारप्रति भिम प्रसाद सापकोटाको खण्डन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समन्वय महाशाखा प्रमुख भिम प्रसाद सापकोटाले जर्मन सरकारको सहयोग निकाय जीआईजेड (GIZ) को निलो नम्बरप्लेट भएको गाडी व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको भन्ने समाचारप्रति खण्डन गरेका छन्।
हालै सार्वजनिक भएको समाचारमा सापकोटाले सो गाडी (नम्बर १८–०–६८२) आफ्नै घरमा राखेर भेटघाट तथा निजी कार्यमा प्रयोग गर्दै आएको दाबी गरिएको थियो। सो विषयमा स्पष्ट पार्दै सापकोटाले भनेका छन्, “केही समय प्राविधिक कारणले गाडी प्रयोग भएको सत्य हो तर अहिले सम्बन्धित टिम लिडर आइसकेपछि गाडी फिर्ता भइसकेको छ। यसलाई व्यक्तिगत दुरुपयोगका रूपमा प्रस्तुत गर्नु भ्रामक व्याख्या हो।”
उनले मन्त्रालयभित्र गाडीको संख्या अपुग रहेको प्रसङ्ग उठाउँदै, दातृ निकायसँगको सहकार्य भने सधैं आधिकारिक कार्य, समन्वय र परियोजना कार्यान्वयनसम्म सीमित रहने स्पष्ट पारेका छन्।
सापकोटाले भ्रामक समाचारले आफ्नो र मन्त्रालयको छविमा आँच पुर्याउने भन्दै तथ्य पुष्टि नगरी प्रकाशित समाचारप्रति असन्तोष जनाएका छन्। उनले पारदर्शिता र सुशासनप्रति आफू प्रतिबद्ध रहेको भन्दै यथार्थमा आधारित पत्रकारितामात्र गर्न आग्रह गरेका छन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस