गृह सचिवमा दंगाल आए, दुवाडी योजना आयोगमा फ्यालिए


काठमाडौं। गृह सचिवमा रामेश्वर दंगाल आएका छन्। गृह मन्त्रालयमा रहेका विवादित सचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा फ्यालेर दंगाललाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको हो।

रक्षा सचिवको भूमिकामा रहेका दंगाल कडा स्वभावका सचिव मानिन्छन्। उनी अर्थ र गृह मन्त्रालयमा बसेर काम गरेका व्यक्ति हुन्। भूकम्पका बेला गृहको विपद्मा बसेर काम गरेका उनी आपत्तको बेला गृह सचिव बनेर आएका हुन्।

धनकुटा र सल्यानको प्रमुख जिल्ला अधिकारी भएका काम गरेका दंगाल राजस्व सचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिव हुँदै रक्षा पुगेका थिए। २०८१ साउनमा अख्तियारबाट रक्षा पुगेका दंगाल १ वर्ष बढी त्यहाँ बसेर गृहमा सरूवा भएका हुन्। २०७८ माघमा सचिवमा बढुवा भएका दंगालको १६ महिना जागिर बाँकी छ।

दंगाल भन्सार विभागको महानिर्देशक समेत भइसकेका व्यक्ति हुन्।
गृह सचिवबाट राष्ट्रिय योजना आयोगमा पुगेका दुवाडी भिजिट भिसादेखि जेन-जी आन्दोलन दबाउन भूमिका खेलेको भनेर विवादित बनेका थिए। उनलाई बर्खास्त गर्न जेन-जी कर्मचारीले नै माग राखिरहेका छन्। तत्कालीन गृहमन्त्री रमेश लेखकसहित दुवाडीमाथि छानबिन तथा कारबाहीका माग उठिरहेका बेला उनी योजना आयोगमा सुरक्षित अवतरण गरेका छन्।
रक्षा सचिवमा भने राष्ट्रिय योजना आयोगबाट सुमनराज अर्याल  गएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ