जेन-जी कर्मचारीले बर्खास्त गर्न माग राखेपछि मुख्यसचिवले गुहारे दलीय ट्रेड युनियन

काठमाडौं। सार्वजनिक प्रशासन रूपान्तरण अभियानका नाममा जेन-जी कर्मचारीहरू सरकार समक्ष बर्खास्त गर्न माग राखेपछि मुख्यसचिव एकनारायण अर्यालले दलीय ट्रेड युनियनलाई गुहारेका छन्। जेन-जीहरूले मुख्यसचिव अर्याललाई बर्खास्त गर्न सरकार समक्ष माग राखेका थिए। उक्त मागलाई निस्तेज पार्न मुख्यसचिव अर्यालले दलीय ट्रेड गुहारेका हुन्।
जेन-जी अभियानले राजनीतिक तथा प्रशासनिक नेतृत्वको अक्षमता, अकर्मण्यता, अदूरदर्शिता र गैरजिम्मेवारपनका कारण हालको परिस्थिति उत्पन्न भएको पुष्टि भइ तत्कालीन राजनीतिक नेतृत्वको बहिर्गमन भइसकेको सन्दर्भमा सोही राजनीतिक नेतृत्वको मतियारको रूपमा रहेका हालको प्रशासनिक नेतृत्वबाट रूपान्तरण सम्भव नहुने ठहर गर्दै नेपाल सरकारका मुख्यसचिव, संघीय संसद्का महासचिव, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार र गृह सचिवलगायत जिम्मेवार पदाधिकारी एवं कर्मचारीहरूलाई तत्काल बर्खास्त गर्न नेपाल सरकार समक्ष जोडदार राखेको छ। मुख्यसचिव अर्याल जेन-जी आन्दोलन दबाउन भूमिका खेल्ने निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली र सचिव दुवाडी निवर्तमान गृहमन्त्री रमेश लेखकको मतियार रहेको आरोप लाग्दै आएको छ। सार्वजनिक प्रशासन रूपान्तरण अभियानले पनि उनीहरूलाई मतियार रहेको ठहर गर्दै बर्खास्त गर्न सरकारसमक्ष माग राख्दै आएको छ। जेन-जी कर्मचारीहरू आन्दोलित भएपछि दलिय ट्रेड युनियनलाई अघि सारिएको आरोप लागेको छ।
सार्वजनिक प्रशासनमा कर्मचारी सरुवा, बढुवा लगायतका वृत्ति प्रणाली र सार्वजनिक सेवा प्रवाहको विकृति र विसङ्गतिको जडकोरूपमा रहेको विद्यमान दलीय ट्रेड युनियनहरु तत्काल खारेज गर्न जेन-जी अभियानले प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएको छ। दलिय ट्रेड युनियनहरू भने जेन-जी अभियानलाई काउण्टर दिने गरी अघि सरेका छन्।
सार्वजनिक प्रशासन रुपान्तरणको नाममा कुनै व्यक्ति वा पद विशेषको बर्खास्ती वा राजीनामा माग्ने,निजामती प्रशासनलाई बिथोल्न खोज्ने प्रवृति तत्काल रोक्न भन्दै दलिय ट्रेड युनियनलाई अघि सारिएको छ। दलीय ट्रेड युनियन र मुख्यसचिवको स्वार्थ मिलेपछि उनीहरूलाई प्रयोग गरिएको जेन-जी अभियानको आरोप छ। जेन-जी अभियानले उच्च पदस्थ कर्मचारी र दलीय ट्रेड युनियन खारेज नभए आन्दोलनलाई चर्काउने तयारी गरेका छन्। जेन-जी अभियानमा हजारौं कर्मचारी जोडिसकेका छन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस