जेन-जी कर्मचारी अभियानले फेरी भन्यो ‘दलीय ट्रेड युनियन खारेज हुनैपर्छ’

काठमाडौं। जेन-जी कर्मचारी अभियानले दलीय ट्रेड युनियन खारेज हुनै पर्ने दोहोऱ्याएको छ। जेन-जी कर्मचारीहरूको सार्वजनिक प्रशासन रूपान्तरण अभियानले आफूहरू छुट्टै ट्रेड युनियन बन्न नखोजेको जनाउँदै दलीय ट्रेड युनियन खारेज गर्नु पर्ने दोहोऱ्याएको हो। सार्वजनिक प्रशासन रुपान्तरणका बाधक विद्यमान दलीय ट्रेड युनियन रहेकाले अभियानले खारेजीको माग अघि सारेको छ।
दलीय ट्रेड युनियनको नाममा सीमित व्यक्तिहरूले अनुचित फाइदा लिएको, सरुवा, बढुवा लगायत कर्मचारीको वृत्ति प्रणाली र सेवा प्रवाहमा विकृति ल्याएको, सार्वजनिक प्रशासनमा राजनीतिक हस्तक्षेप निम्त्याएकोले दलीय ट्रेड युनियन खारेज गर्नुपर्ने अभियानको माग अघि सारेको हो। हाल विभिन्न दलीय ट्रेड युनियनमा आबद्ध रहेका देशभक्त र रूपान्तरणप्रेमी कर्मचारीलाई समेत अभियानमा गोलबद्ध हुन अपिल पनि अभियानको माग छ ।
सार्वजनिक प्रशासनमा विद्यमान विकृति, विसंगति, असमानता, विभेद र भ्रष्टाचारको अन्त्य गरी सेवाग्राहीमैत्री र व्यावसायिक सार्वजनिक प्रशासन निर्माणका लागि देशभक्त र परिवर्तन पक्षधर युवापुस्ताका कर्मचारीबाट यो अभियान शुरूआत गरिएको जेन-जी कर्मचारीको जिकिर छ ।
‘यस अभियानको उद्देश्य कुनै व्यक्ति, कर्मचारी, सार्वजनिक संस्थाको विरुद्ध नभई, आग्रह पूर्वाग्रह नराखी नवयुवा पुस्ता (Gen-Z) आन्दोलनको मर्म तथा जनभावना अनुसार कर्मचारीतन्त्रको आमूल रूपान्तरण गरी नेपालको सार्वजनिक प्रशासनलाई जनमुखी, पारदर्शी, जवाफदेही र प्रविधिमैत्री बनाई सार्वजनिक सेवामा आम नागरिकको सहज र सुलभ पहुँचको सुनिश्चतता गरी सुशासनको बहाली गर्ने रहेको कुरा थप स्पष्ट गर्न चाहान्छौं’, अभियानले जारी गरेको विज्ञप्तिमा भनिएको छ । जेन-जी आन्दोलनलाई असफल पार्न गम्भीर चलखेल एवं षडयन्त्र भएको अभियानको बुझाइ छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस