आफैंमाथि लागू गर्नुपर्ने खालका बैरागीको फेसबुके सन्देश


समाचार टिप्पणी

काठमाडौं। पूर्व मुख्यसचिव एवं राष्ट्रिय सुरक्षा सल्लाहकार समेत भइसकेका शंकरदास बैरागी खनालले फेसबुक स्टाट्स लेखेका छन्। सुशीला कार्की नेतृत्वको चुनावी सरकारमा परराष्ट्रमन्त्री बन्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी मार्फत लबिइङ गरिरहेका बैरागीले लाजै लजाउने गरी फेसबुक स्टाट्स लेखेका हुन्।

परराष्ट्रमन्त्री बन्न बैरागी रातारात सुशासनको पहरेदार बन्न खोजेको देखिन्छ। उनले आफैले ऐना हेर्नुपर्ने खालको स्टाट्स लेखेर जग हसाँउने काम गरेका छन्।

बैरागीले जेनजी आन्दोलनको सन्देश भनेर ७ बुँदा लेखेका छन्। उनले पहिलो बुँदामा युवा शक्तिको आवाजलाई समय सापेक्ष उचित सम्बोधन गर्नु पर्दछ भन्ने लेखेका छन्। उनलाई परराष्ट्रमन्त्री बनाउने युवा शक्तिले आवाज नै उठाएको छैन। बैरागी परराष्ट्रमन्त्री बन्ने चलखेलमा लागेपछि युवा शक्तिको आवाज समय सापेक्ष रूपमा उचित सम्बोधन हुन्छ त? उनी आफैंले यो बुँदाको समिक्षा गरून्।

बैरागीले बुँदा नम्बर २ मा राजनीति जीवनकाल भरिको लागि पेशा हुन सक्दैन। पुस्तान्तरण हुनुपर्दछ भन्ने कुरा लेखेका छन्। कायममुकायम र कन्फर्म गरी करिब ८ वर्ष परराष्ट्र सचिव भएका बैरागी लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतमा पठाएर मुख्यसचिव बनेका थिए। उनले बीचैमा डा. बैकुण्ठ अर्याललाई मुख्यसचिव छाडेर राष्ट्रिय सुरक्षा सल्लाहकार बनेका थिए। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पालामा राष्ट्रिय सुरक्षा सल्लाहकार बनेका बैरागी केपी शर्मा ओली नेतृत्वको सरकारमा पनि उक्त पदमा निरन्तरता खोजेका थिए। ओलीले ‘घोक्रेठ्याक’ लगाएपछि तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवामार्फत भारतको राजदूत बन्ने कसरतमा लागे। तत्कालीन प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको मुख मिलेपछि शंकरप्रसाद शर्मा राजदूतमा सिफारिस भएर बैरागी हेरेको हेऱ्यै भए। अहिले फेरि परराष्ट्रमन्त्री बनेर निरन्तर सत्तामा ढलीमली गर्न खोजिरहेका बैरागी राजनीति जीवनकाल भरिको लागि पेशा हुन सक्दैन पुस्तान्तरण हुनुपर्छ भनेर आदर्श छाँट्न थालेका छन्।

बैरागीले बुँदा नम्बर ३ मा व्यापार व्यवसायमा हुनेहरूले राजनीतिक शक्तिको आश्रय खोज्नु हुँदैन, अर्थात् राजनीति-विजनेस नेक्सस हानिकारक छ भनेर लेखेका छन्। आईटी माफिया विकल पौडेल र सुनिल पौडेललाई बोकेर हिँडेका, विभिन्न व्यापारीबाट कुस्त लाभ लिएका, एमआरपीदेखि ई-पासपोर्टसम्ममा व्यापारीको पक्षमा काम गरेका बैरागीले जेनजी आन्दोलनको सन्देश भन्दै व्यापार व्यवसायमा हुनेहरूले राजनीतिक शक्तिको आश्रय खोज्नु हुँदैन, अर्थात् राजनीति-विजनेस नेक्सस हानिकारक छ भनेर लेखेका हुन्।

बैरागीले बुँदा नम्बर ४ मा नियुक्तिमा योग्यता प्रणाली लागू हुनैपर्दछ, अन्य चलखेल मान्य छैन भनेर लेखेका छन्। बेरागीले विकल पौडेलको इशारामा बीचैमा मुख्यसचिव पद छाडेर डा. बैकुण्ठ अर्याललाई ‘जस्केला’बाट मुख्यसचिव बनाउन चलखेल गरेका थिए। योग्यता प्रणालीमा गएको भए न बैरागी न त अर्याल मुख्यसचिव हुने थिए। बैरागीले विकल र बैकुण्ठसँग बार्गेनिङ गरेर आफ्नै सालीका छोरा प्रदिप शर्मा पौडेललाई राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक बनाएका थिए। भ्रष्टाचार मुद्दामा डामिएका सुनिल पौडेललाई समेत बैरागीले चलखेल गरेर नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनाएका थिए। उनै बैरागी अहिले नियुक्तिमा योग्यता प्रणाली लागू हुनैपर्दछ, अन्य चलखेल मान्य छैन भनेर लेख्न थालेका छन्। उनको स्टाट्स पढेर बैकुण्ठ, विकल, प्रदिप, सुनिलहरू मरिमरि हाँसिरहेका होलान्।

बैरागीले बुँदा नम्बर ५ मा सबै निकायहरूले संविधानले सुम्पेको जिम्मेवारी सपथ लिए अनुसार विना पक्षपात निष्ठापूर्वक निष्पादन गर्नु पर्दछ भनेर लेखेका छन्। नेपाल टेलिकमको बिलिङ सिस्टमदेखि विकल, सुनिलसँगको संग्दिध कारोबार जोडिएर पनि अख्तियारबाट बालबाल जोगिएका बैरागी सबै निकायहरूले संविधानले सुम्पेको जिम्मेवारी सपथ लिए अनुसार विना पक्षपात निष्ठापूर्वक निष्पादन गर्नुपर्छ भन्न थालेका छन्।

बैरागीले बुँदा नम्बर ६ मा भ्रष्टाचारको समूल उन्मूलन हुनु पर्ने र ७ मा सुशासनको अभावमा विकास र समृद्धि सम्भव छैन भनेर लेखेका छन्। बैरागीले परराष्ट्र सचिव, मुख्यसचिव र राष्ट्रिय सुरक्षा सल्लाहकार हुँदा भ्रष्टाचार उन्मूलनमा के कस्तो भूमिका खेले आम नेपाली र जेन-जी पुस्तालाई जगजाहेर नै छ। राष्ट्रिय सुरक्षा सल्लाहकार बैरागीले कार्यकक्ष बनाउन १० लाख खर्च गरेका बैरागीले कसरी सुशासन कायम गरे भन्ने पर्दैन। अब पनि जेन-जी पुस्ता बैरागीको ‘कम्मल ओढेर घिउ खाने’ आइडियामा भुल्ने पक्षमा देखिँदैनन्। यस्ता लड्डु जेन-जी पुस्तालाई अपच भइसक्यो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ